मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ फाल्गुण २३ मंगलबार ०७:५१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जुम्लाको पोखरी गाउँ बन्यो उज्यालो

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण २३ मंगलबार ०७:५१:००

जुम्लाको पोखरी गाउँ बिस्तारै विकसित हुँदै गएको छ । गाउँसम्म कच्ची मोटरबाटो ट्र्याक खोलिएको छ भने प्रत्येक गाउँमा खानेपानीका धारा पुगेका छन् । पछिल्लो समय तीन करोड बढी लागतमा सौर्य ऊर्जाबाट विद्युत् सेवा सञ्चालनमा आएपछि पोखरी गाउँलाई उज्यालो गाउँ घोषणा गरिएको छ ।कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक तथा मामिला कानुनमन्त्री नरेश भण्डारीले सो गाउँलाई ‘उज्यालो पोखरी गाउँ’ घोषणा गरेका हुन् । 

‘विद्युत् सेवाबाट वञ्चित भएका गाउँमा सहज रूपमा बिजुली उत्पादन भएको छ,’ उनले भने, ‘यसलाई दीर्घकालीन रूपमा सदुपयोग गर्ने स्थानीय सरकारले विशेष गरी ध्यान दिन आवश्यक छ । अब प्रत्येकका घरमा दाउराबाट होइन, विद्युतीय चुलोबाट खाना पकाउन चाहिने स्रोत–साधनको व्यवस्थापन गर्न स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्छ ।’

स्थानीय सरकारको समन्वय र पूर्वकानुनमन्त्री भण्डारीको पहलमा ५० किलोवाट क्षमताको पोखरी गाउँमा सौर्य ऊर्जा जडान भएको हो । गाउँपालिकाको ३० लाखसहित तीन करोड एक लाख ८८ हजार रुपैयाँमा सौर्य ऊर्जा जडान भएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए । 

विद्युत् सेवा नहुँदा सल्लाको दियालोका भरमा अन्धकारमा बस्न बाध्य भएका स्थानीयवासी अब बिजुली आएपछि सबै खुसी भएको पोखरी सौर्य ऊर्जा उपझोक्ता समितिका सचिव गोविन्द रोकायाले बताए । ‘सौर्य ऊर्जाले गाउँ नै झिलिमिली बनाएपछि बिजुली बाल्ने धोको पूरा भएको छ,’ उनले भने । 

पोखरी र गोठी गरी एक सय २० घरधुरीमा बिजुली बालिएको छ । ५० किलोवाट क्षमताको सौर्य ऊर्जाले प्रत्येक घरमा ६ बल्ब राखिएको छ भने गाउँमा पोलपोलमा बिजुली बालिएको छ । जतिसुकै वेला पनि मोबाइल चार्ज गर्न, टिभी र वाइफाई चलाउनसमेत सजिलो भएको पोखरी गाउँका स्थानीय बताउँछन् । यस्तै, उत्पादन भएको बिजुलीबाट गाउँमा कुटानी, पिसानी र काठ चिरानी मेसिन पनि सञ्चालनमा आउन सहज हुने भएको छ ।