
पछिल्लो समय सहरी क्षेत्रमा घर, अफिस र रेस्टुराँका भित्तालाई ‘वालपेपर’ ले सजाउने चलन बढेको छ । रङभन्दा वालपेपर केही सस्तो हुने भएकाले पनि धेरैको रुचि यसतर्फ बढेको हो ।
जुनसुकै कोठाको भित्तालाई पनि वालपेपरले सजाउन सकिन्छ । धेरैले बैठक कोठामा वालपेपर टाँस्ने गरेका छन् । सुत्ने कोठमा पनि भित्ता सजाउने चलन बढ्दै गएको छ । त्यसैगरी, दराज, र्याकलगायतका फर्निचर र सिलिङमा पनि वालपेपर टाँस्ने गरिन्छ ।
आफ्नो इच्छाअनुसार ‘वालपेपर’मा बुट्टा भर्न सकिन्छ । अहिले फोटो प्रिन्ट गरेर राख्ने चलन पनि बढेको छ । वालपेपरमा थरीथरीका रङ र बुट्टाको विविधता पाइन्छ । जस्तो, बालबालिकाको कोठामा कार्टुन प्रिन्ट भएका ‘वालपेपर’ टाँस्न सकिन्छ । अध्ययन कक्षमा ग्रामीण समाज र संस्कृति वा कुनै सहर झल्कने गरी पेन्ट गर्दा पनि हुन्छ ।
आफ्नो मुड र कोठाको हिसाबले जुनसुकै डिजाइन रोज्न सकिन्छ । तर, घरको लोकेसन र लाइटअनुसार ‘वालपेपर’को छनोट जरुरी हुन्छ । कोठालाई क्लासिकल लुक्स दिने हो भने दमास्क वा फ्लोरल प्याटर्नका वालपेपरले सजाउँदा हुन्छ ।