
केलियन एम्बाप्पे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का सर्वाधिक गोलकर्ता बनेका छन् । एम्बाप्पेले शनिबार घरेलु मैदानमा नान्टेससँगको प्रतिस्पर्धामा यो कीर्तिमान राखेका हुन् । पिएसजीले नान्टेसविरुद्ध ४–२ को रोमाञ्चक जित निकाल्दा एम्बाप्पे, लियोनल मेसी र डानिलो पेरेइराले एक–एक गोल गरेका थिए ।
खेलको अन्तिम इन्जुरी समयमा एम्बाप्पेले गोल गरेका थिए । यस गोलसँगै उनी पिएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । उनले पिएसजीका लागि गोल संख्या दुई सय एक पुर्याएका छन् । यसअघि पिएसजीका लागि एडिन्सन काभानीले सर्वाधिक गोलको रेकर्ड राखेका थिए । सन् २०१७ मा मोनाकोबाट विश्व कीर्तिमानी रकममा एम्बाप्पे पिएसजीमा आबद्ध भएका थिए ।
यसक्रममा उनले चारवटा फ्रेन्च लिग वानको उपाधि जितिसकेका छन् । यस सिजनमा उनले ३० गोलसँगै आठ असिस्ट गरेका छन् । पिएसजीबाट उनले दुई सय ४७ खेल खेलेका छन् । एम्बाप्पेले फुटबल करिअरमा इतिहास लेख्ने क्रम जारी रहेको बताएका छन् । कीर्तिमान रचेपछि एम्बाप्पेले एजेन्सीहरूलाई दिएको अन्तर्वार्तामा पिएसजीसँग अनुबन्धित हुँदा धेरै सिक्ने अवसर पाएको बताएका छन् ।
‘पिएसजीमा आबद्ध हुँदा म युवा थिएँ, यो अवधिमा मैले धेरै सिक्ने अवसर पाएँ,’ उनले भने, ‘म इतिहास लेख्ने क्रममा छु ।’ एम्बाप्पेले पेरिसमै इतिहास रच्न पाउँदा खुसी लागेको बताए । ‘फ्रान्सको राजधानी पेरिस सहरमा थप इतिहास बनाउन चाहन्छु,’ उनले शनिबार राति प्राप्त गरेको उपलब्धि एकल प्रयासले सम्भव नभएको जनाए । ‘यो मेरो एकल प्रयासले हात पारेको कीर्तिमान हैन, म सामूहिक सहयोगका कारण भएको भन्न चाहन्छु,’ उनले भने, ‘पिएसजीका लागि मैले धेरै योगदान दिएको छु,’ उनले भने ।
शीर्ष स्थानमा ११ अंकको अग्रता
जितका साथ शीर्ष स्थानमा रहेको पिएसजीको २६ खेलबाट ६३ अंक जोडेको छ । पिएसजीले दोस्रो स्थानको मार्सेलाई ११ अंकले पछि पारेको छ । पिएसजीसँग पराजित नान्टेस २८ अंक जोडेर १३औँ स्थानमा झरेको छ । पार्क डेस प्रिन्सेसमा भएको खेलको १२औँ मिनेटमा मेसीले पिएसजीलाई अग्रता दिलाएका थिए । खेलको १७औँ मिनेटमा जाओविन हड्जामले आत्मघाती गोलसँगै पिएसजी २–० ले अगाडि बढ्यो । खेलको ३१औँ मिनेटमा लुडोभिक ब्लास्टले खेललाई २–१ को स्थितिमा ल्याए । खेलको ३८औँ मिनेटमा गनागोले गोल गर्दै टोलीलाई २–२ गोलको बराबरीमा ल्याए । खेलको ६०औँ मिनेटमा डानिलोले गोल गर्दा पिएसजी ३–२ को स्थितिमा पुग्यो ।