मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २१ आइतबार २०:४२:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

महिला चेम्बरद्वारा विभिन्न विधाका महिला उद्यमीहरूलाई सम्मान, महिला दिवसमा विभिन्न कार्यक्रम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २१ आइतबार २०:४२:००

नेपाल महिला चेम्बरले महिला उद्यमीहरूलाई सम्मान गरेको छ । ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला चेम्बरले विभिन्न विधाअन्तर्गत महिला उद्यमीहरूलाई सम्मान गरेको हो । 

सम्मानित हुनेमा उद्योगतर्फ सुभद्रा अधिकारी ढकाल, निर्याततर्फ पार्वता खरेल विमली, आइटीतर्फ न्हसला जोशी, कृषितर्फ सरिता भट्टराई श्रेष्ठ र स्वास्थ्यतर्फ स्वरूपा श्रेष्ठ छन् । 

नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्व तथा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना गरिएको कार्यक्रममा सुशीला आर्टस् एकेडेमीका कलाकारहरूले रिदम र सोल थिममा आधारित सांगीतिक प्रस्तुति पनि दिएका थिए । 

महिला  चेम्बरले संयुक्त राष्ट्र संघले २०२३ को नारी दिवसका लागि तय गरेको ‘डिजिटल इनोभेसन एन्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य खतिवडाले नेपाल सामाजिक संरचनामा विविधतापूर्ण रहे पनि महिलाहरू हिंसामा प्रभावित भएको घटना बढ्दै गएको बताएकी थिइन् । महिलाहरू युगौँदेखि उत्पीडनमा पर्दै आएको चर्चा गर्दै उनले आधुनिक विश्वमा अगाडि बढ्न सहज देखिए तापनि घरपरिवारकै साथ नपाउँदा महिलाहरूले हरेक क्षेत्रमा चुनौती सामना गरिरहनुपरेको बताइन् । 

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले ५० प्रतिशत हिस्सा ओगटेका महिलाहरू पछाडि पारिएको भन्दै विभेद अन्त्य हुनुपर्ने धारणा राखे । उनले पुरुषका तुलनामा महिलाहरूलाई कम ज्याला दिने गरिएको भन्दै महिलालाई ज्यालामा समेत समान व्यवहार नभएकोमा दुःख व्यक्त गरे । 

महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिलाहरूलाई अघि बढाउन हौसला मिल्ने भएकाले हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गर्ने गरिएको बताइन् । 

‘विश्वभरमा अधिकांश महिलाहरू विभिन्न प्रकारका विभेद र उत्पीडनमा पिल्सिरहन बाध्य छन्,’ उनले भनिन्, ‘महिलाहरूलाई अगाडि बढाउन महिला स्वयंको भूमिका, सहभागिता एवं प्रतिनिधित्व अत्यावश्यक छ ।’

महिला चेम्बरकी महासचिव लिमा अधिकारीले धन्यवाद ज्ञापन गर्दै देशको अर्थतन्त्र खस्केको चित्रणसहित उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने धारणा राखेकी थिइन् ।