मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ फाल्गुण २१ आइतबार १५:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘रिट दर्ता गर्ने आदेश संक्रमणकालीन न्यायको मान्यताविपरीत’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ फाल्गुण २१ आइतबार १५:१८:००

माओवादी केन्द्रले १० वर्षे जनयुद्धका क्रममा भएका घटनाबारे सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोगले काम गरिरहेको उल्लेख गर्दै आयोगको क्षेत्राधिकारभित्रका विषयलाई असर पर्ने गरी कुनै पनि निर्णय नगर्न आग्रह गरेको छ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आज प्रेस विज्ञप्तिमार्फत प्रतिगामी तत्व सलबलाइरहेकाे अवस्थामा अग्रगामी परिवर्तनका पक्षधर राजनीतिक शक्ति तथा पार्टी एकजुट हुनुपर्ने उल्लेख गरेका हुन्।  

माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही वर्ष पहिले दिएको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतले रिट दर्ता गर्न दिएको आदेशप्रति आपत्ति जनाएको छ।

सो विज्ञप्तिमा भनिएको छ, ‘ज्ञानेन्द्रराज आरणले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालउपर दायर गरेको रिट निवेदन सर्वोच्चका रजिस्ट्रारले दर्ता गर्न नमिल्ने भनेकामा त्यसलाई बदर गरी रिट दर्ता गर्नु भनी यही फागुन १९ गते आएको अर्को आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको छ।’

संविधानसभाबाट जारी भएको नेपालको संविधान र संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व र लोकतान्त्रिक गणतन्त्रका आधारभूत संरचनासहितका उपलब्धिविरुद्ध हुने कुनै पनि गतिविधिलाई माओवादी केन्द्रले अस्वीकार गरेको पनि सो विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्ष दाहालले संविधानप्रदत्त वाक स्वतन्त्रताको उपभोग गरी अमुक सार्वजनिक कार्यक्रममा व्यक्त विचारलाई अतिशयोक्तिपूर्ण ढंगले व्याख्या र तर्क गरी ती अभिव्यक्तिलाई कारबाहीको विषय बनाइनुपर्छ भनी पूर्वाग्रही भावनाले दायर भएको रिट निवेदन न्यायिक पुनरावलोकनको सामान्य सिद्धान्त तथा नेपालको संविधानले प्रदान गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताविपरीत भएको सम्बद्ध निकायलाई अवगत गराउन चाहन्छौँ।’

संक्रमणकालीन न्यायको मूल्य तथा मान्यताविपरीत हुने कार्य र गतिविधिले मुलुकमा स्थापित शान्ति प्रक्रियामा गम्भीर चुनौती सिर्जना हुने उल्लेख गर्दै माओवादी केन्द्रले आर्थिक समृद्धिसहितको थप राजनीतिक उपलब्धि संस्थागत गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।