मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ फाल्गुण २० शनिबार १७:३१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कालिञ्चोकमा जुम्लाको स्याउ खेती गरिँदै

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण २० शनिबार १७:३१:००

दोलखाको कालिञ्चोक गाउँपालिका– १ साबिक कालिञ्चोक गाउँका किसानलाई जुम्लाको स्याउको विरुवा वितरण गरिएको छ । भौगोलिक हिसाबले उपयुक्त हावापानी भएकाले स्याउ उत्पादन हुने सम्भावना देखिएपछि गाउँपालिकाले स्याउको विरुवा वितरण गरेको हो ।

कृषकको आयआर्जनमा वृद्धि गराउन र नगदेबालीतर्फ आकर्षित गर्न स्याउको विरुवा वितरण गरिएको गाउँपालिकाका कृषि प्राविधिक अर्जुन पुनमगरले बताए। गाउँपालिकाले स्वीकृत कार्यक्रमअनुसार भूगोलअनुसारको नगदेबाली प्रवर्द्धन अभियान सुरु गरेको हो ।

कृषि प्राविधिक मगरका अनुसार कालिञ्चोक–१ तारेभिर र माथिल्लो खर्कमा रेड डेलिसस जातको स्याउको सम्भावना देखिएको छ । यो जातको स्याउ समुन्द्री सतहबाट २५ सय मिटरमाथि सामान्यतः तुसारो नपर्ने जमिनमा हुन्छ । आवश्यक मलजल पाए रोपेको तीन वर्षमा उत्पादन दिने प्राविधिक मगरको भनाइ छ ।

गाउँपालिकाले कालिञ्चोक– १ का दुईवटा क्षेत्रमा ६ सय स्याउका विरुवा वितरण गरेको छ । नमुनाका रूपमा कृषि फार्ममार्फत सुरु गरिएको भए पनि त्यसलाई क्रमशः विस्तार गर्दै लगिने वडा नं १ का अध्यक्ष पदम थामीले बताए। गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले परम्परागत कृषि प्रणालीलाई क्रमशः सुधार गर्दै लैजाने र किसानलाई नगदेबालीमार्फत आय आयआर्जनमा वृद्धि गराउँदै लैजाने योजना रहेको बताए ।

गाउँपालिकाले चालू आर्थिक वर्ष नगदेबाली र हिउँदेबाली प्रवर्द्धनका लागि पाँच लाख बजेट विनियोजन गरेको छ। अन्य वडामा पनि भूगोलअनुसार चाइनिज नास्पाती र दाँतेओखर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । नमुनाका रूपमा लगाइएका नगदेबाली क्रमशः सबै क्षेत्रमा प्रवर्द्धन गर्दै लैजाने गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीले जानकारी दिए ।