मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश सुवेदी काठमाडौं
२०७९ फाल्गुण १८ बिहीबार ०७:००:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कार्यसमितिका ११ सदस्यले एन्फा बैठक छाडे

महासचिव र कोषाध्यक्षको राजीनामा एजेन्डामा समावेश नभएपछि कार्यसमितिको बैठकबाट ११ सदस्य बाहिरिए

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
२०७९ फाल्गुण १८ बिहीबार ०७:००:००

अखिल नेपाल फुटबल संघ (एन्फा)को बुधबार कार्यसमितिको बैठक बस्यो । तर, एन्फा नेतृत्व तानाशाही भएको बन्दै तीन उपाध्यक्षसहित ११ कार्यसमिति सदस्यले बैठक छाडेका छन् । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले तानाशाही र बलपूर्वक विधानसम्मत बैठक नगरेको जनाउँदै २१ मध्ये ११ पदाधिकारीले बैठक छाडेका हुन् ।

कार्यसमितिका एक सदस्य नेपालबाहिर छन् । ‘अध्यक्षले तानाशाही प्रवृत्ति देखाउनुभयो, हामीलाई पेलेरै बैठक गर्ने निर्णय गरेपछि बैठकमा बस्नु उपयुक्त ठानेनौँ,’ बैठक अवरुद्ध गरेका उपाध्यक्ष दीपक खतिवडाले नयाँ पत्रिकालाई भने । 

उपाध्यक्षमा खतिवडा, विराटजंग शाही र दीर्घबहादुर केसी छन् । सदस्यहरू रुपेश अधिकारी, महेन्द्र क्षेत्री, पेमा लामा, रविन्द्रबहादुर चन्द, भरतबहादुर बुढ थापा, रमेश ब्यञ्जनकार, भोजराज शाही र टीका लामाले बैठक छाडेका हुन् । बैकठ छाडेपछि भएको पत्रकार सम्मेलनमा अस्वस्थताका कारण शाही र टीका लामा उपस्थित भएनन् । तीन उपाध्यक्ष खतिवडा, विराटजंग शाही र केसीसहित अधिकारी, क्षेत्री, पेमा, चन्द, थापा र ब्यञ्जनकार पत्रकार सम्मेलनमा उपस्थित भए । 

‘फुटबलको विकास गर्नभन्दा पनि एन्फालाई एक भर्तीकेन्द्रका रूपमा स्थापित गर्न नेतृत्वकर्ताले ध्यान दिन थाल्यो, विदेश पठाउने नाममा जसलाई पनि समावेश गराउन थालेको छ,’ खतिवडाले भने, ‘हामीले बैठक हुन पाँच दिनअगाडि महासचिव (किरण राई) र कोषाध्यक्ष (रविन्द्र जोशी)को राजीनामा माग गरेका थियौँ । तर, उहाँहरूले मान्नुभएन । एकलौटी ढंगले अगाडि बढ्नुभयो ।’ एन्फा अध्यक्ष नेम्वाङले बैठक विधानसम्मत रहेको बताए ।

‘हामीले बैठक विधानसम्मत गरेका छौँ,’ नेम्वाङले भने । नेम्वाङले बैठक विधानसम्मत भएको र बहुमत भएकोसमेत दाबी गरेका छन् । यसअघि राई र जोशीको बर्खास्तीको एजेन्डा थप नगरिएपछि बुधबार बोलाइएको बैठक निर्धारित दुई घन्टा ढिला सुरु भएको थियो । उपस्थिति हाजिरी हुन नसक्दा बिहान ८ बजे बोलाइएको बैठक ११ बजेसम्म पनि सुरु हुन सकेन । 

बैठक सुरु भएपछि भित्र नै पदाधिकारीबीच हात हाल्नेसम्मको अवस्था सिर्जना भयो । पदाधिकारीबीच चर्काचर्की भएको थियो । एन्फा उपाध्यक्ष दावा लामा र सदस्य पुरुषोत्तम थापाले असन्तुष्ट रहेका खतिवडा र केसीसहित अन्य पदाधिकारी बैठक कक्षामा हानथाप कोसिस गरेका थिए । थापाले टेबल फ्याल्दा सिसाका दुई गिलास फुटेको छ ।