१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
क्रिस्टेन पावर्स
२o८१ बैशाख ३१ सोमबार o८:५२:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

‘उबर–पुँजीवाद’विरुद्ध बर्नी स्यान्डर्स

अमेरिकामा सबैभन्दा न्यून आयु सम्भाव्यता र उच्च आत्महत्याको दर मौजुद देखिनु अमेरिकी व्यवस्था अन्यायपूर्ण मात्र नभई घातक पनि हुनुको प्रमाण हो

Read Time : > 2 मिनेट
क्रिस्टेन पावर्स
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:५२:oo

बर्नी स्यान्डर्सले आफ्नो नयाँ पुस्तक ‘इट्स ओके टु बी एंग्री एबाउट क्यापिटलिज्म’मा हालको अर्थ व्यवस्थालाई जनाउन ‘उबर–पुँजीवादी’ शब्दको प्रयोग गरेका छन् । यसले हालको अर्थव्यवस्थाले मुठीभरका व्यक्तिलाई पोसेर बाँकी सबैको जीवनलाई पीडादायी बनाइरहेको बुझाउँछ । यस्तो अवस्थालाई जनाउन ‘उग्र–पुँजीवाद’ वा ‘नयाँ चरणको पुँजीवाद’ शब्द पनि प्रयोग हुने गर्छ । जेसुकै नाम दिए पनि स्यान्डर्सका भाषामा ‘ओलिगाक्र्स’ (कुलीन पुँजीपति) बाहेक यो व्यवस्था कसैका लागि उपयोगी छैन ।

 केही मानिसका अनुसार जुनसुकै रूपको भए पनि पुँजीवाद अनैतिक छ । स्यान्डर्स ठ्याक्कै यही तर्क भने गर्दैनन् । स्यान्डर्स पर्याप्त सामाजिक सुरक्षा भएका स्केन्डिनेभिया क्षेत्रका मुलुकको कल्पना गर्छन् । उनी अमेरिकी पुँजीवादलाई सुधार गर्न चाहन्छन् र अमेरिकामा दोस्रो विश्वयुद्धताकाका राष्ट्रपति फ्रेन्कलिन डेलानो रुजभेल्ट (एफडिआर) ले अघि सारेको न्यू डिल उदारवाद लागू गर्न चाहन्छन् न कि लोकतान्त्रिक समाजवादी व्यवस्था । उनी ‘वास्तविक स्वतन्त्रताको अस्तित्व आर्थिक सुरक्षा र आत्मनिर्भरताविना सम्भव नहुने’ एफडिआरको भनाइमा विश्वास गर्छन् ।

ऋणमाथि ऋण थपिएको अवस्थामा ऋण तिर्नका लागि दिनरात काम गर्ने जोसुकैले एफडिआरको भनाइ मन पराउँछन् । मान्छे ‘स्वतन्त्र’ कसरी हुन सक्छ, जब कि उसले काम मात्रै गरिरहेको हुन्छ । उपचार खर्च व्यहोर्न नसकेर दिनानुदिन अस्वस्थ भइरहेको व्यक्ति कति ‘स्वतन्त्र’ हुन्छ ? रोजगारीका लागि आवश्यक शैक्षिक योग्यता पूरा गर्नकै लागि ऋणको भारी बोकेको युवा कति ‘स्वतन्त्र’ हुन सक्छ ? 

अधिकांश अमेरिकी सम्पत्ति र शक्ति थुपारिरहेका श्रमिकमाझ आवश्यक ज्याला पनि वितरण नगर्ने मुठीभर कुलीनका कामदार छन् । इकोनोमिक पोलिसी इन्स्टिच्युटका अनुसार सन् १९७८ देखि २०१८ सम्ममा कर्पोरेसनका कार्यकारी निर्देशकको तलब नौ सय प्रतिशतले बढेको छ भने श्रमिकको तलब १२ प्रतिशत मात्र बढेको छ ।

अमेरिकामा सबैभन्दा न्यून आयु सम्भाव्यता र उच्च आत्महत्याको दर मौजुद देखिनु अमेरिकी व्यवस्था अन्यायपूर्ण मात्र नभई घातक पनि हुनुको प्रमाण हो
 

लामो समयदेखि न्यून ज्यालामा दलाइएका यी श्रमिकलाई रोजगारदाताले वस्तुका रूपमा व्यवहार गर्छन् । द न्युयोर्क टाइम्सको एक अनुसन्धानअनुसार १० ठूला निजी अमेरिकी कम्पनीमध्ये आठले अधिकांश समय कार्यस्थलमै हरेक कर्मचारीको तथाकथित उत्पादकत्वको नियमन गर्छन् । अध्ययनअनुसार कर्मचारीले आफ्नो पेसा अथक रहेको, यसको आफूसँग नियन्त्रण नरहेको र केही परिस्थितिमा शौचालय प्रयोग गर्नसमेत पर्याप्त समय नभएको गुनासो गरेका छन् । यो बिलकुल स्वतन्त्रता होइन ।

वास्तवमा अमेरिकी धेरै नै काम गर्छन् । न्युयोर्क टाइम्सले नयाँ वर्षमा विचार शृंखलामा उल्लेख गरेको छ– साथी र प्रियजनसँग आठ मिनेटको फोन कलको समयतालिका बनाउँदा र तोकिएको समयभन्दा बढी कुराकानी नगर्ने सहमतिले खुसी बढाउँछ किनभने अमेरिकीसँग निकै कम फुर्सद हुने गर्छ । अनौठो कुरो के छ भने कुराकानी गर्न समय तोक्ने यस्तो प्रक्रियालाई कम्तीमा अमेरिकीले अनौठो मान्दैनन् । यो मुलुकमा ‘हस्टल एन्ड ग्राइन्ड’ अर्थात् दिनरात घोटिने वा जतिखेर पनि मालिकबाट जागिरबाट निकालिन सकिने कार्यस्थलको संस्कारलाई हामीले सामान्य मान्ने गरेका छौँ । जब कि हाम्रोजस्तै औद्योगिक मुलुकमा श्रमिकको मानसिक र शारीरिक स्वास्थ्यलाई महत्व दिइन्छ र उनीहरूले अधिक उत्पादकत्वको महत्वाकांक्षाको बोझ बोक्नुपर्दैन । 

ठूला अमेरिकी कर्पोरेसनले आफ्ना कर्मचारीप्रति अभद्र व्यवहार मात्र गर्दैनन्, यी कर्पोरेसन ग्राहक र समाजप्रतिको दायित्वको कुरा गर्दा न्यूनतम शिष्टतासमेत व्यक्त गर्दैनन् । औषधि कर्पोरेसनले कीर्तिमानी नाफा कमाउँछन् र आफ्ना कार्यकारी अधिकृतलाई अचाक्ली तलब दिन्छन् । तर, आमनागरिकलाई बाँच्न आवश्यक औषधिसमेतको मूल्य छुन नसकिने गरी बढाउँछन् । स्यान्डर्सले सरकार समर्थित कोभिड–१९ खोपको लागत चार गुणाले बढाउने मोडर्ना कम्पनीको मनसायको आलोचना गरेर ठिक गरेका छन् । हाल मोडर्नाले खोप निःशुल्क रहिरहनेछ भनेर घोषणा गरेको छ ।

समाजको एक तप्काले नयाँ–नयाँ घर खरिद गरिरहेका छन् भने अर्को तप्का एउटै घरका लागि पनि आवश्यक ऋण धितो जुटाउन सकिरहेका छैनन् । नगद हुने धनाढ्यले घर खरिद गरे पनि पहिलोपटक घर खरिद गर्नेको संख्या पछिल्लो ४१ वर्षकै सबैभन्दा कम छ । नेसनल एसोसिएसन अफ रियल्टर्सका प्रमुख अर्थशास्त्री लरेन्स युनका अनुसार केवल धनीले मात्रै घर खरिद गर्ने ल्याकत राख्ने अवस्था आएको छ । ‘यदि यो प्रवृत्ति जारी रह्यो भने यसले समग्र समाज स्वाभाविक रूपमा त्रुटिपूर्ण छ भनेर संकेत गर्छ,’ युन थप्छन् । हामीलाई पहिले नै थाहा छ, हाम्रो समाज समस्यामा छ, यसैकारण हामीलाई यो प्रवृत्ति जोगाउन आवश्यक छैन । परिणाम खुलस्त छन् ।

अमेरिकी व्यवस्था अन्यायपूर्ण मात्र नभई घातक पनि छ अर्थात् विश्वका धनी राष्ट्रमध्ये अमेरिकामा सबैभन्दा न्यून आयु सम्भाव्यता र उच्च आत्महत्याको दर मौजुद छ ।स्यान्डर्सले उबर–पुँजीवादविरुद्ध प्रतिरोध गर्न आफ्ना पुस्तकमा असंख्य समाधान प्रस्तुत गरेका छन् । यी सबै समाधानमा सहमत हुन नसकिए पनि उनले स्वतन्त्रताको मुद्दालाई उपयुक्त ढंगले उठाएका छन् । ‘भर्मन्ट’का सिनेटर स्यान्डर्सको उत्पादकत्वलाई प्राथमिकता दिने र धनाढ्यलाई अत्यधिक प्रेम र तिनको स्तूति गान गाउने संस्कृतिको विनाशकारी परिणामबारेको आकलन भविष्यवाणीभन्दा कम थिएन । स्यान्डर्सले आफ्नो अभियान र पुस्तक दुवैमा हालको अमेरिकी आर्थिक प्रणालीको पूर्ण नैतिक दिवालियापन र शिष्टताको कमीलाई प्रभावकारी रूपमा उठाएका छन् । यसको समाधानका लागि हामीले निर्णय लिन तयार हुनुपर्छ । 

(पावर्स सिएनएनका वरिष्ठ राजनीतिक विश्लेषक एवं लेखक हुन्) सिएनएनबाट

ad
ad