१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ फाल्गुण १५ सोमबार १०:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘अफ्रिकन स्वाइन फिभर’ले लमजुङमा ७८ बंगुर मरे

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण १५ सोमबार १०:४५:००

लमजुङमा पहिलोपटक अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको छ । बेँसीसहर नगरपालिकाका विभिन्न फार्ममा पालिएका बंगुरमा संक्रमण देखिएको हो । 

बेँसीसहर नगरपालिका ६ र ८ मा बंगुरहरू मर्न थालेपछि गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभरको संक्रमण भएको पत्ता लागेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रूपेश श्रेष्ठले बताए । दुवै वडाका चारवटा बंगुर फार्ममा मात्रै हालसम्म ७८ वटा व्यावसायिक रूपमा पालिएका बंगुर स्वाइन फिभर संक्रमणबाट मरेको पुष्टि भएको छ । 

बेँसीसहर– ८ स्थित फार्ममा पालिएका बंगुरहरू मर्न थालेपछि परीक्षणका लागि नमुना संकलन गरी केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर काठमाडौंमा पठाइएको थियो। परीक्षणका क्रममा स्वाइन फिभर पुष्टि भएसँगै अन्य स्थानमा पनि संक्रमण फैलन सक्ने भएकाले सुरक्षाका विधिहरू अपनाउन अनुरोध गरिएको छ । 

संक्रमण फैलन नदिन फार्ममा जैविक सुरक्षाका विधिहरू अपनाउने तथा बंगुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गर्न, निसंक्रमण गर्ने र बंगुरहरू मरेमा राम्रोसँग खाडलमा गाड्नसमेत पशु सेवा विज्ञ केन्द्रले अनुरोध गरेको छ । 

यो रोगको संक्रमण भएमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखानेजस्ता लक्षण देखापर्छ । बान्ता गर्ने, छेर्ने, छटपटाउने र बथानमा एकैपटक ठूलो संख्यामा मर्ने हुँदा यस्ता लक्षण देखिएमा सम्बन्धित स्थानीय तहको पशु सेवा शाखा तथा भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा तत्काल सम्पर्क गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुरोध गरेको छ । 

यो रोगविरुद्ध हालसम्म कुनै खोप वा औषधि उपलब्ध नभएको र बंगुरमा स्वाइन फिभरको भाइरस लामो समयसम्म बाँच्न सक्ने भएकाले संक्रमण अन्यमा फैलिने सम्भावना अत्यधिक रहने पशु कार्यालय प्रमुख डा. श्रेष्ठको भनाइ छ ।