
दीपकराज ठकुरी चम्किएपछि सातदोबाटो युथ क्लब केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ । बिहीबार भएको उद्घाटन खेलमा सातदोबाटोले नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्यो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतियोगिताको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरेका थिए । सनोज श्रेष्ठको प्रशिक्षणमा रहेको सातदोबाटोले पुलिसलाई निकै दबाबमा राखेको थियो । पहिलो हाफको इन्जुरी समयमा दीपकले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाए ।
कर्नरबाट प्राप्त बलमा दीपकले सहज हेडिङ गोल गरे । पूर्वखेलाडी चेतन घिमिरेको प्रशिक्षणमा रहेको पुलिसले ४९औँ मिनेटमा १–१ को बराबरी गोल फर्काएको थियो । सातदोबाटोका गोलरक्षक अभिषेक रिजालको गल्तीमा प्रविन थापाले डिबक्सभित्रबाट उत्कृष्ट गोल गरे । प्रविन यसै सिजन पुलिससँग जोडिएका हुन् ।
पुलिसका पूर्वखेलाडी चेतनले पहिलोपटक सिनियर टोली हेर्ने अवसर पाएका हुन् । खेलको ७०औँ मिनेटमा दीपकले विजयी गोल गरेका थिए । नेकपा एमालेको भ्रातृ संगठन युवासंघले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता छ ।