
हिमाली जिल्ला ताप्लेजुङमा बुधबार दिउँसोदेखि पानी परेको छ । असोजको पहिलो सातादेखि पानी नपर्दा दुःखी बनेका किसान पानी परेपछि हर्षित भएका छन् ।
‘बारीमा लगाएका हिउँदे तरकारी सुक्न थालेका थिए । पानी परेपछि अब तरकारी खेती बाँच्ने आस पलाएको छ,’ फुङलिङ नगरपालिका– ३ केनेमका किसान नेत्रप्रसाद भट्टराईले भने । उनले तोरी, गहुँका लागि पनि अहिलेको पानी अमृतसमान हुने उनले बताए । बारी जोत्नसमेत कठिन परेका वेला पानी परेपछि अब सहज हुनेसमेत किसानहरूले बताए ।
उता, ताप्लेजुङको मुख्य नगदेबाली अलैँचीलाई ठूलो राहत हुनेसमेत किसान बताउँछन् । मैवाखोला गाउँपालिका– ३ साँघुका किसान महलमान चोङबाङले पानी परेपछि अलैँचीलाई धेरै नै राहत भएको बताए । ‘बारीमा सबै सुकेर सखाप भएको अलैँची अब पलाउने आशा पलाएको छ,’ उनले भने ।
तरकारीको पकेट क्षेत्र मानिएको फुङलिङ नगरपालिका– ९ बुङकुलुङका किसान पनि हर्षित छन् । पानी नपरेपछि रोपिएको कोपी, लसुन, छ्यापी, काउली, बन्दा, आलुलगायत तरकारी पूरै सुक्न थालेका थिए । पानीले आशा जगाएको सो क्षेत्रका किसान पासाङरिता शेर्पाले बताए । हिमाली क्षेत्रका पशुपालक किसानसमेतलाई राहत भएको छ । हिमाली क्षेत्रमा हिउँ पर्ने समय सकिए पनि पानी परेपछि चरन क्षेत्रमा घाँस छिटो पलाउने भएकाले राहत हुने फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलाका चुङ्दा शेर्पाले बताए ।