
चालचलन सुध्रिएको भन्दै प्रजातन्त्र दिवसमा राष्ट्रपतिबाट आममाफी पाएर कारागारमुक्त भएका व्यक्ति नै चोरी डकैतीमा संलग्न भएको खुलेको छ ।
ज्यान मुद्दा कसुरमा सात वर्ष जेल बसेपछि ०७७ को प्रजातन्त्र दिवसमा आममाफी पाएर कारागारमुक्त भएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका– २ का ४२ वर्षीय रेशम रुम्बा र धादिङको नीलकण्ठ नगरपालिका– १४ का ४३ वर्षीय सागर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूले गत ७ पुसमा काठमाडौंको बौद्ध फूलबारीस्थित साङ्गे लामाको घर फोडेर ४२ लाख रुपैयाँबराबरको धनमाल र १ फागुनमा बौद्धस्तुपास्थित सुनचाँदी पसलबाट ३५ लाख ५० हजार रुपैयाँबराबरको गहना चोरी गरेका थिए ।
चोरी तथा डकैती गर्नुअघि उनीहरूले ट्याक्सी चढेर सम्बन्धित घरको रेकी गर्ने, चोरीका लागि प्रयोग गर्ने बाटाको सिसिक्यामेरा फुटाउने तथा बंग्याउने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चोरीपछि एडिडास, रिबोक, पुमाजस्ता कम्पनीका ब्रान्डेड पहिरन लगाएर उनीहरूले हुलिया बदल्थे ।
प्रहरीले रुम्बा र तामाङकै समूहका पाँचथर हिलिहाङ गाउँपालिका– ४ का ४३ वर्षीय राजकुमार योङ्या लिम्बू, धनकुटाका ३८ वर्षीय जीवन मगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका– ८ का ५२ वर्षीय पेम्बा लामा र मुस्ताङ लोमाथाङ गाउँपालिका– २ का ४१ वर्षीय डिमा वाङ्दी गुरुङलाई पनि पक्राउ गरेका छन् । सबै सोमबार पक्राउ परेका हुन् ।