Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मकवानपुर गोल्डकपको उपाधिसहित मनाङ मर्स्याङ्दीका खेलाडी । तस्बिर : पाेष्टराज अधिकारी/नयाँ पत्रिका
२०७९ फाल्गुण १० बुधबार १९:३९:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मनाङ मर्स्याङ्दीले उचाल्यो मकवानपुर गोल्डकपको उपाधि

हिमालयन शेर्पा १–० ले निराश

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण १० बुधबार १९:३९:००

रोशन रानामगरको निर्णायक गोलको मद्दतमा ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दीले मकवानपुर गोल्डकपको उपाधि उचालेको छ । मनाङ नयाँ विजेत बन्न सफल भएको हो ।

बुधबार सम्पन्न फाइनल खेलमा अर्को ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पालाई १–० गोल अन्तरले हराउँदै मनाङ बिजेता बनेको हो । मनाङको जितका लागि रोशनले गरेको एक मात्र गोल निर्णायक बन्यो । 

विजेता बनेको मनाङले उपाधिसँगै नगद १५ लाख र उपविजेता शेर्पाले १० लाख रुपैयाँ प्राप्त गरेको छ । नेपालको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङदीले यो सिजनमा पहिलो उपाधि जितेको हो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रोशनले मनाङका लागि गोल गरेका हुन् । उनले खेलको ७८औँ मिनेटमा टिमले पाएको कर्नर किकलाई सदुपयोग गर्दै गोल गरेका थिए । 

कर्नर किकबाट पाएको बललाई रोशनले हिमालयनका डिफेन्सले जज गर्नुभन्दा अघि नै पोस्टको दिशा दिन सफल भए । उनको बल हिमालयनका गोलरक्षक विश्वास चौधरीले बचाउ गर्न सकेनन् । 

बुधबारको खेलको ‘म्यान अफ दी म्याच’ गोलकर्ता रोशन घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । 

खेल अवधिभर मनाङविरुद्ध निकै राम्रो प्रदर्शन गरेको हिमालन शेर्पा अन्ततः गोल गर्न नसक्दा उपविजेतामै सीमित हुन पुग्यो । उसका खेलाडीहरूले पाएका केही सुन्दर अवसरहरूलाई खेर फालेका थिए ।

हिमालयनका विदेशी खेलाडी योमीले खेलको चौथो मिनेटमा पाएको वान भर्सेस वानको अवसर सदुपयोग गर्न सकेनन् । उनको प्रहार बाहिरिएको थियो । यस्तै, खेलको ९०औँ मिनेटमा पुनः योमीले पाएको अवसर खेर गएको थियो । उनले डिबक्सभित्रैबाट गरेको प्रहार साइड पोलमा लागेर फर्किएको थियो । 

यस्तै, मनाङका खेलाडीहरूले पनि केही राम्रा गोल गर्ने अवसरहरू खेर फालेका थिए । खेलको ४३औँ मिनेटमा मनाङका भीषण गुरुङको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने पहिलो हाफको अतिरिक्त समयमा मनाङका रोशन रानामगरको फ्रिकिक प्रहार बारमा लाग्दै बाहिरिएको थियो । 

प्रतियोगिताको अन्त्यमा रातो कार्ड
प्रतियोगिता अवधिभर केही पहेँलो कार्डको प्रयोग भए पनि रातो कार्डको प्रयोग नभएको यस वर्षको प्रतियोगिताको अन्तिम खेलमा भने मनाङका खेलाडीले रातो कार्ड पाए । 

फाइनल खेलको निर्धारित समय सकिएपछि मनाङका प्रवेश कुँवरले रातोकार्ड पाएका हुन् । उनले खेल सकिएपछि जितको खुसी साट्ने क्रममा अपशब्द बोलेपछि मुख्य रेफ्री नवीन्द्र महर्जनले उनलाई सीधै रातोकार्ड दिएका थिए ।

मनाङका दीप कार्की बने सर्वोत्कृष्ट खेलाडी

मनाङ मर्स्याङ्दी क्लबका कप्तान तथा गोलरक्षक दीप कार्की प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेका छन् । उनले हेटौँडा स्कुल अफ म्यानेज्मेन्टले प्रायोजन गरेको रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल प्राप्त गरेका छन् । 

यस्तै, कार्की नै प्रतियोेगिताको उत्कृष्ट गोलरक्षक पनि हुन सफल भए । यसैगरी, मनाङका मिडफिल्डर कमल थापा र प्रशिक्षक किरण श्रेष्ठले विधागत उत्कृष्ट पुरस्कार प्राप्त गर्दा शेर्पाका डिफेन्डर अमृत श्रेष्ठ र फरवार्ड विदेशी खेलाडी योमी उत्कृष्ट घोषित भए । 

उत्कृष्ट भएका पाँचैजनाले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा जिल्लाका स्थानीय तहहरूको सहयोगमा भएको प्रतियोगितामा एउटा विदेशी टिमसहित १२ टोलीको सहभागिता रहेको थियो ।