१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ फाल्गुण १० बुधबार ११:५७:००
Read Time : > 3 मिनेट
अर्थ

आगामी बर्खामै बंगलादेशमा विद्युत् निर्यात गर्ने तयारी

बंगलादेशमा लिखु–४ को बिजुली बिक्री गर्ने गरी भारतमा प्रस्ताव पेस, स्वीकृति आएपछि त्रिपक्षीय सम्झौता गरिने, त्यसपछि बंगलादेशमा विद्युत् निर्यात

Read Time : > 3 मिनेट
२०७९ फाल्गुण १० बुधबार ११:५७:००

नेपाल–बंगलादेश विद्युत् व्यापारमा भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै नेपाल विद्युत् प्राधिकरणले आगामी बर्खामै बंगलादेशमा बिजुली बिक्री गर्ने तयारीलाई तीव्रता दिएको छ । नेपाल–बंगलादेश विद्युत् व्यापारका लागि दुई देशबीच ऊर्जा व्यापार सम्झौता भने भइसकेको छैन । तर, प्राधिकरणले आगामी बर्खामा लिखु–४ जलविद्युत् आयोजनाको ५० मेगावाट बिजुली बंगलादेशमा बिक्री गर्ने तयारी अगाडि बढाएको हो । यसको स्वीकृतिका लागि प्राधिकरणले भारतमा प्रस्तावसमेत पेस गरिसकेको छ । 

गत साता भारतमा सम्पन्न नेपाल भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जिएससी)को बैठकमा भारतले नेपाल–बंगलादेशको विद्युत् व्यापारमा सहयोग गर्ने प्रतिबद्धता दिएको थियो । विशेष गरी नेपालबाट ५० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने सम्बन्धमा भारतले सहयोग गर्ने भनेको छ । निश्चित आयोजनासहित प्रस्ताव पेस भएमा आफ्नो विद्युत् आयात–निर्यात निर्देशिकाबमोजिम सर्त तोकेर स्वीकृति दिने भारतको प्रतिबद्धता छ । 

त्यसलगत्तै प्राधिकरणले लिखु–४ जलविद्युत् आयोजनाको विद्युत् बंगलादेशमा बिक्री गर्ने प्रक्रिया अघि बढाएको हो । अब भारतले स्वीकृति दिएपछि बंगलादेशमा विद्युत् बिक्री गर्ने थप प्रक्रिया अघि बढाउने प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेले बताए । तर, के–कति मूल्य (दर)मा विद्युत् बिक्री गर्ने भनेर पनि कुनै टुंगो लागेको छैन । यस्ता विषयमा नेपाल र बंगलादेशबीच सम्झौता हुन बाँकी नै छ । त्यसका बाबजुद पनि आगामी बर्खामै बंगलादेशमा विद्युत् निर्यात गर्ने लक्ष्यका साथ तयारीलाई तीव्रता दिएको थिकेको भनाइ छ । 

भारतबाट स्वीकृति पाएपछि विद्युत् व्यापार तथा पिपिए सम्झौताको प्रक्रिया अघि बढाइने पनि उनले बताए । ‘लिखु–४ को बिजुली बंगलादेश बिक्री गर्ने गरी स्वीकृतिका लागि भारतमा प्रस्ताव पठाइसकेका छौँ । भारतबाट स्वीकृति आएपछि सोही आधारमा पिपिएलगायतका सम्झौताको पक्रिया अघि बढाउनेछौँ,’ उनले भने, ‘समग्रमा आगामी बर्खामै बंगलादेशमा विद्युत् निर्यात गर्ने हाम्रो लक्ष्य छ ।’

नेपाल–बंगलादेश विद्युत् व्यापार गर्ने मामिलामा भारतलाई समेत समावेश गरेर त्रिपक्षीय सम्झौता गर्नुपर्ने हुन्छ । किनकि, नेपाल–बंगलादेशबीच विद्युत् व्यापार गर्न छुट्टै डेडिकेटेड प्रसारण लाइन छैन । अहिलेलाई नेपालले बंगलादेशलाई बिक्री गर्ने विद्युत् भारतको ग्रिडमा पठाउनेछ । त्यसपछि भारतले आफ्नो ग्रिडबाट बंगलादेशलाई सोहीबराबरको बिजुली दिनेछ । यसरी तत्काललाई भारतकै प्रसारण लाइनलगायतका संरचना प्रयोग गर्नुपर्ने बाध्यता छ । त्यो अवस्थामा नेपाल र बंगलादेशबीच मात्रै विद्युत् व्यापार तथा खरिद–बिक्री सम्झौता गरेर पुग्दैन । यसका लागि नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेडबीच त्रिपक्षीय सम्झौता गर्नुपर्ने हुन्छ । 

अब भारतले स्वीकृति दिएपछि मात्रै उक्त सम्झौता हुने प्राधिकरणका उपकार्यकारी निर्देशक थिकेले जानकारी दिए । सोही सम्झौतामार्फत खरिद–बिक्री दर, भारतलाई दिइने प्रसारण लाइनको भाडालगायतका विषयलाई टुंगोमा पु¥याइने उनले बताए । 

नेपाल र बंगलादेशबीच ऊर्जामा सहकार्य गर्ने भनेर २०१८ मा सहमति भएको थियो । सोहीअनुसार ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिसमेत गठन भएको थियो । सोही समितिमार्फत नेपाल–बंगलादेशबीच विद्युत् व्यापारको अवधारणा अघि बढाइएको हो । यद्यपि, हालसम्म विद्युत् व्यापार सम्झौतालगायतका थप प्रगति भने भएका छैनन् । 

 बंगलादेशले नेपालबाट ४० देखि ५० मेगावाट विद्युत् किन्ने 
गत भदौमा काठमाडौंमा सम्पन्न नेपाल–बंगलादेश ऊर्जा बैठकमै बंगलादेशले गत कात्तिकभित्र नै नेपालबाट ४० देखि ५० मेगावाट विद्युत् किन्ने भनेको थियो । भारतकै प्रसारण लाइन प्रयोग गरेर बंगलादेश विद्युत् पु¥याउने योजना थियो । त्यसका लागि नेपाल र बंगलादेशले त्रिपक्षीय सहमतिका लागि भारतसँग पहल गर्ने निर्णय पनि गरिएको थियो । तर, भारतसँग समयमै पहल नहुँदा त्यो सफल हुन सकेन ।

यसअघि गत पुस २१ मा नयाँदिल्लीमा सम्पन्न भारत–बंगलादेश ऊर्जा बैठकमा बंगलादेशले यो प्रस्ताव गरिसकेको थियो । त्यसमा भारतले नेपाल–बंगलादेशमा व्यापारमा सहयोग गर्ने जवाफ दिएको थियो । नेपालले भने यसै बैठकमार्फत यो प्रस्ताव पेस गरेको थियो । त्यसमा भारतले सहयोग गर्ने प्रतिबद्धता गरेसँगै बंगलादेशमा विद्युत् निर्यात गर्ने ढोका खुलेको छ, जुन सांकेतिक रूपमा निकै महत्वपूर्ण रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधु भेटुवालले बताए । 

‘एक हिसाबले ५० मेगावाट विद्युत् खास धेरै होइन । तर, यो सांकेतिक रूपमा निकै महत्वपूर्ण छ,’ उनले भने, ‘हालसम्म सीमा जोडिएका मुलुकसँग मात्रै विद्युत् व्यापार गर्दै आएका थियौँ । तर, अब सीमा नै नजोडिएको क्षेत्रीय मुलुकसँग विद्युत् व्यापार गर्दै छौँ, त्यो अर्थमा यो निकै महत्वपूर्ण छ ।’

यस्तै, नेपाल–बंगलादेश विद्युत् व्यापारलाई सफल बनाउन आफूहरू प्रयत्नशील रहेको पनि उनले बताए । ‘नेपाल–बंगलादेशबीच विद्युत् व्यापार गर्न भारतको सहयोग अपरिहार्य थियो, जुन सहयोग भारतले गर्ने भनिसकेको छ,’ उनले भने, ‘यद्यपि, विद्युत् व्यापार तथा खरिद–बिक्री दरको विषयमा द्विपक्षीय तथा त्रिपक्षीय सम्झौता गर्न बाँकी नै छ । त्यसलाई सफल बनाउन हामी प्रयत्नशील छौँ ।’ समग्रमा आगामी बर्खामा नै बंगलादेशमा विद्युत् निर्यात गरिने उनको भनाइ छ । 

नेपालमा विद्युत्को स्रोत भनेको नै जलविद्युत् आयोजना हुन्, जुन नदी प्रवाह (आरओआर)मा आधारित छन् । हिउँदमा खोलामा पानी कम हुँदा विद्युत् उत्पादन पनि कम हुन्छ । त्योअनुसार नेपालमा विद्युत् उत्पादन कम छ, स्वदेशी माग धान्न भारतबाट नै विद्युत् आयात गरिँदै आइएको छ । तर, बर्खामा खोलामा पानी बढी हुँदा पूर्ण क्षमतामै विद्युत् उत्पादन गर्न सकिन्छ । त्यसवेला स्वदेशी मागभन्दा पनि बढी बिजुली उत्पादन हुन्छ । जुन वेला नेपालले भारतमै विद्युत् निर्यात गर्दै आएको छ । आगामी बर्खादेखि भने बंगलादेशमा पनि विद्युत् निर्यात गरिने मन्त्रालय तथा प्राधिकरणका अधिकारीहरू बताउँछन् । 

अहिले विद्युत्को जडित क्षमता दुई हजार चार सय २४ मेगावाट छ । आगामी बर्खासम्म त्यो तीन हजार मेगावाट हाराहारी पुग्ने अनुमान छ । तर, स्वदेशमा विद्युत्को अधिकतम माग भने एक हजार सात सय मेगावाट हाराहारी छ । त्यसमा वृद्धि आए पनि आगामी बर्खामा धेरै विद्युत् खेर जाने आशंका गरिएको छ । त्यो अवस्थामा बंगलादेशमा विद्युत् निर्यात गर्दा थप राहत हुने बताइएको छ । 

 बंगलादेशले किन किन्छ नेपालको बिजुली ?  
अहिले बंगलादेशले कोइला तथा डिजेल पावर प्लान्टबाट विद्युत् उत्पादन गर्दै आएको छ । तर, छिल्लो समय डिजेल र कोइलाको मूल्य अत्यधिक मात्रामा बढ्दा बंगलादेशको विद्युत् उत्पादन पनि स्वतः महँगो भएको छ । त्यसमाथि डिजेल तथा कोइला पावर प्लान्टका कारण बंगलादेशको वातावरण प्रदूषण पनि बढ्दो छ ।

त्यो अवस्थामा बंगलादेशलाई वातावरणीय प्रदूषण कम गर्नुपर्ने दबाब छ । तर, बंगलादेशसँग डिजेल तथा कोइला पावर प्लान्ट बन्द गर्न अन्य विकल्प छैन । न त्यहाँ सोलार राख्ने जमिन छ, न त नेपालको जस्तो स्वच्छ जलविद्युत् उत्पादन गर्ने सम्भावना छ । त्यसकारण बंगलादेशले बिजुली आयात गर्नुपर्ने बाध्यता छ ।   

अहिले बंगलादेशमा विद्युत्को माग २५ हजार मेगावाट हाराहारी छ । बंगलादेशले सन् २०४० सम्म छिमेकी मुलुकबाट १० हजार मेगावाट विद्युत् किन्ने भनिसकेको छ । त्यसमा अधिकांश विद्युत् नेपालबाट किन्ने हो । किनकि, बंगलादेशले खोजेको स्वच्छ ऊर्जा हो, जुन नेपालमा पर्याप्त छ । उता भारतमा पनि अधिकांश विद्युत् कोइलाबाट उत्पादन गरिन्छ ।

त्यसमाथि भारतले पनि नेपालबाटै विद्युत् आयात गर्दै आएको छ । त्यो अवस्थामा बंगलादेश नेपाली बिजुलीका लागि ठूलो बजार हो । त्यो अवस्थामा नेपाल–बंगलादेशबीचको विद्युत् व्यापारको ढोका खुल्नु ठूलो उपलब्धि भएको सरोकारवाला बताउँछन् ।