
संखुवासभामा लामो समयदेखि वर्षात् नहुँदा खडेरीका कारण बालीनाली सुक्न थालेपछि कृषक चिन्तित भएका छन्।
जिल्लाको अधिकांश ठाउँमा खडेरीका कारण हिउँदे बालीनाली सुक्न थालेको हो। करिब पाँच महिनायता पानी नपरेको खाँदबारी– ४ का स्थानीय कृषक भीमबहादुर गुरुङले बताए।
उनले पानी नपरेको कारण यो वर्ष हिउँदे बाली गहुँ, तोरी, आलु, सागसब्जी तरकारी खेती केही पनि नमौलाएको बताए। हिउँदे बालीहरू गहुँ र तोरीलाई खोलाबाट सामान्य सिँचाइ गरे पनि सबै ठाउँमा पानी पुर्याउन सकिएको उनको भनाइ छ।
खाँदबारी– ४ कै अर्का कृषक मानबहादुर गुरुङले गहुँ, तोरीलाई सिँचाइ गर्ने ठाउँ नहुँदा बिउ पनि मासिएको बताए। उनले पानी नपर्दा हिउँदे बालीनाली र बगानमा अलैँचीको बोटसमेत सुक्न थालेको बताए। पानी नपरेको कारण सडक र खेतबारी सबैतिर धुलैधुलो मात्र उड्न थालेको गुरुङको भनाइ छ।
लामो समय खडेरी पर्दा जताततै धुलैधुलो भएकोले मानवीय स्वास्थ्यमा समेत असर पार्न थालेको उनी बताउँछन्। ‘करेसाबारीमा लहलह बढ्नुपर्ने तरकारीका बिरुवा सुक्दै गएपछि घरखर्च चलाउन मुस्किल पर्न थालेको छ। तरकारी खेतीबाहेक अर्को आम्दानीको स्रोत नभएका हामीजस्ता कृषक लामो खडेरीले तरकारी बाली बोटमै सुक्न थालेपछि मनमा पीर पर्न थालेको छ,’ गुरुङले भने।
जिल्लाको कुल क्षेत्रफल तीन लाख ४७ हजार सात सय ७३ हेक्टर छ भने तीमध्ये कृषियोग्य जमिन ५९ हजार ६१ हेक्टर रहेको सिँचाइ कार्यालय संखुवासभाले जनाएको छ। कार्यालयको तथ्यांकअनुसार १५ हजार दुई सय ९९ हेक्टरमा मात्रै सिँचाइ सुविधा पुगेको छ।
यसपटक लामो हिउँदे खडेरीले सिञ्चित जग्गाकै पानीको स्रोतका मुहानसमेत सुक्दै गएकाले अहिलेको बाली मात्र नभएर अब लगाइने बालीका लागि खनजोत गर्नसमेत समस्या पर्ने कृषक बताउँछन्।
जिल्लाको हिमाली र उच्च पहाडी भेगहरू किमाथांका, भोटखोला, मकालु, सिलिचोङ, सभापोखरी, तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको गुफापोखरी, चौकीमंगलबारेलगायतका भूभागमा समेत पर्याप्त मात्रामा हिमपात नहुँदा कृषक चिन्तित भएका छन्।