
सर्लाहीको मानवनिर्मित भरत ताललाई बहुउद्देश्यीय परियोजनाका रूपमा विकास गरिने भएको छ । आन्तरिक र बाह्य पर्यटकको हब बनाउने गरी ताललाई बहुउद्देश्यीय परियोजनाका रूपमा विकास गर्न लागेको बागमती नगरपालिकाका मेयर भरत थापाले बताए ।
बहुउद्देश्यीय परियोजनाअन्तर्गत तालमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न अत्याधुनिक पिकनिक ‘स्पष्ट’, जंगल सफारी, शिव पार्वतीको मन्दिरसहितको सुमेरु पर्वत, फनपार्क, फिल्म सिटीका साथै मिनी क्यासिनोसहितको होटेलसमेत निर्माण कार्य अघि बढाउन लागिएको हो ।
‘भरत ताललाई बागमती नगरपालिकाकै मुख्य आम्दानीको स्रोतका रूपमा कसरी विकास गर्न सकिन्छ भनेर लागेका छौँ, ताललाई मधेस प्रदेशकै ‘हब’ बनाउने योजना छ,’ उनले भने, ‘आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरी पर्यटकीय हब बनाउने योजना छ ।’
नगरको बजेट, सरकारले दिएको अनुदान, संंघ र प्रदेशबाट बजेट थपेर भरत तालको काम पूरा गर्ने थापाले बताए । उनले भने, ‘भरत तालको काम अहिले २० देखि २५ प्रतिशतसम्म मात्र सम्पन्न भएको छ, अब ‘ब्युटिफिकेसन’ काम बाँकी छ, तीन वर्षभित्र बहुउद्देश्यीय परियोजनाको सम्पूर्ण काम सक्ने रणनीतिमा छौँ ।’
भरत ताल भारतबाट ४२ किलोमिटरको दूरीमा रहेको हुँदा भारतीय पर्यटक प्रशस्त आउने नगरपालिकाको अपेक्षा छ । भारतको सीतामाढी तालबाट ८५ किलोमिटर टाढा रहेको छ । हाल दैनिक दुई सयको हाराहारीमा भारतीय पर्यटक आउने गरेको थापाले बताए ।
तालमा माछापालनको काम पनि सुरु भएको छ, जसले आम्दानी बढाउन सहयोग पुग्नेछ । मेयर थापाले भने, ‘यस परियोजनालाई स्थानीयको रोजगारी र अर्थोपार्जनसँग जोड्ने गरी अघि बढेका छौँ ।’
हालसम्म ९८ करोड रुपैयाँ खर्च
ताल निर्माणमा हालसम्म ९८ करोड रुपैयाँ खर्च भएको मेयर थापाले बताए । ‘तालको बहुउद्देश्यीय परियोजना सम्पन्न गर्न अर्को एक अर्ब रुपैयाँ लगानी हुने अनुमान छ,’ उनले भने, ‘यस परियोजनामा कुल दुई अर्ब रुपैयाँ खर्च हुने देखिएको छ ।’
अहिले तालले बाटोसहित एक सय २१ बिघा क्षेत्रफल ओगटेको छ । त्यस क्षेत्रमा दुई सय ५० बिघा क्षेत्रफलमा आर्थिक गतिविधि सिर्जना गरिनेछ । मेयर थापाले भने, ‘विगतमा भएको बगरलाई प्रयोग गरेका हौँ, यो नगरपालिकाभित्र र नागरकै विकास तथा समृद्धिका लागि प्रयोग हुनेछ ।’
वार्षिक २० लाख पर्यटक
भरत तालमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय गरी वार्षिक २० लाख पर्यटक आउने गरेका छन् । विशेष गरी आन्तरिक र भारतीय पर्यटकको संख्या बढी हुने गरेको मेयर थापाले बताए । ‘निर्माणाधीन अवस्थामै रहेको हुँदा अहिले अपेक्षा गरेअनुसार पर्यटक तान्न सकेका छैनौँ,’ उनले भने, ‘हामीले भविष्यमा वार्षिक ५०–६० लाख पर्यटक आउने गरी पर्यटकीय संरचना तयार पार्छौँ ।’
तालबाट अहिले दैनिक पाँच सयजनाले रोजगारी पाएका छन् । योजनाले पूर्णता पाउँदा दैनिक २५ सयसम्म रोजगार सिर्जना हुने मेयर थापाले बताए । तालमा बोटिङ गरेको तीन सय रुपैयाँ शुल्क लाग्छ, त्यसमध्ये २० प्रतिशत नगरपालिकामा बुझाउनुपर्ने व्यवस्था छ ।