
प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला–पुरुष बास्केटबल प्रतियोगितामा चार कलेज सेमिफाइनल प्रवेश गरेका छन्।
धरान बास्केटबल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रतियोगिताको पुरुषतर्फ धरान मेघा हिमालयन कलेज, धरान सिटी कलेज, राष्ट्रिय जनसेवक कलेज इटहरी र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोड सेमिफाइनल प्रवेश गरेका हुन्।
सोमबार भएको क्वार्टरफाइनल खेलमा राष्ट्रिय जनसेवकले युएन नवोदयलाई ५४–३० अंकले र आदर्श स्कुल बिर्तामोडले इन्जिनियर क्याम्पस धरानलाई ४२–२२ अंकले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन्। खेलमा राष्ट्रिय जनसेवक र युएन कलेजले प्रत्येक क्वार्टरमा १२–६, १३–८, १२–५ र १७–११ अंक जोडेका थिए।
यसैगरी, दोस्रो खेलमा अदर्श स्कुल बिर्तामोड र इन्जिनियर कलेजले ६–३, ६–३, ११–८ र १९–८ अंक जोडेका थिए। पहिलो क्वार्टरफाइनल खेलमा राष्ट्रिय जनसेवकका अस्मिल राईले २० र आदर्श बिर्तामोडका रोनाल शाक्यले १९ अंक व्यक्तिगत जोडे।
मंगलबारदेखि सुरु हुने पहिलो सेमिफाइनल खेलमा सिटी कलेज धरान र राष्ट्रिय जनसेवक इटहरी तथा दोस्रो सेमिफाइनल खेलमा धरान मेघा हिमालयन र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडबीच प्रतिस्पर्धा हुनेछ।