
अमेरिकी रक्षामन्त्री लोयड जे. अस्टिन तृतीय गत नोभेम्बरमा इन्डोनेसियाको भ्रमणमा गएका थिए । लोयडले उनका इन्डोनेसियाली समकक्षीलाई ३६ थान अमेरिकी लडाकु विमान खरिदसम्बन्धी सम्झौता कार्यान्वयन गर्न जोड दिए । कैयौँ कोसिसका बाबजुद लोयड सहमतिविना फर्किनुपर्यो । उनको भ्रमणको केही दिनअघि उनै इन्डोनेसियाली मन्त्री प्राबोवो सुब्यान्टोले चीनका रक्षामन्त्रीसँग भेट गर्दा भने दुई देशले संयुक्त सैन्य अभ्यास पुनः सुरुवात गर्ने सहमति भएको थियो ।
दक्षिण चीन–सागरको दक्षिणीछेउमा अवस्थित इन्डोनेसिया ठूलो प्राकृतिक स्रोत तथा जनशक्ति भएको द्रुतगतिमा विकास गरिरहेको १० खर्ब डलरको अर्थतन्त्र हो । पछिल्लो समय यो मुलुकलाई दुई शक्तिराष्ट्रले आफूतर्फ तान्ने प्रयास गरिरहेका छन् । ऊ वासिङ्टन र बेइजिङमध्ये जसको नजिक जानेछ, उसलाई भूराजनीतिक युद्धमा ठूलो पुरस्कार हासिल भएझैँ हुनेछ । इन्डोनेसिया महत्वपूर्ण समुद्रीमार्गमा अवस्थित छ भने विशेषतः ताइवानलाई लिएर अमेरिका र चीन दुवैले लड्ने पूर्वतयारी गरिरहेको समयमा यहाँका झन्डै १७ हजारभन्दा धेरै टापु उीनहरूका निम्ति रक्षात्मक पूर्वाधार बन्न सक्छन् ।
इन्डोनेसियालाई प्रभावित बनाउने खेलमा अहिलेका लागि बेइजिङले अमेरिकालाई उछिनेजस्तो देखिन्छ । चीनले इन्डोनेसियाको मन जित्न सो मुलुकभित्र ठूलो लगानी गरिरहेको छ । चीन इन्डोनेसियाको तीव्रगतिको रेललगायत पूर्वाधार निर्माणको प्रमुख साझेदार मुलुक हो । त्यस्तै, कोरोना महामारीको अन्त्यन्त नाजुक समयमा पनि उसले कोभिड– १९ खोपको ढुवानी गरेर इन्डोनेसियालाई सघाएको थियो । चीनले सन् २०२२ को पहिलो नौ महिनामा इन्डोनेसियामा पाँच अर्ब डलरभन्दा बढी लगानी गर्यो । यही अवधिमा अमेरिकाले भने करिब दुई अर्ब डलरभन्दा केही बढी मात्र लगानी गर्न सकेको थियो । ‘उनीहरू कहिल्यै दबाब दिँदैनन्,’ समुद्री र लगानी मामिलाका समन्वयमन्त्री लुहुत बिन्सार पन्डजैतानले चिनियाँ लगानीकर्ताबारे बताउने क्रममा भने ।
उनका अनुसार अमेरिकी अधिकारी भने लगानी स्वीकृत गर्नुअघि धेरै कठोर सर्तका सूची लिएर आउने गर्छन् । ‘मैले यसबारे वासिङ्टनसँगको कुराकानीमा भन्ने पनि गरेको छु, तपाईंले हामीसँग गर्नेजस्तो व्यवहारले अब चल्दैन,’ राष्ट्रपति जोको विडोडोको नजिकका नेता मानिने पन्डजैतानले भने ।
चिनियाँ लगानीको बदलामा इन्डोनेसियाले चीनलाई गुन फर्काएको छ । मुुस्लिम बहुल यस राष्ट्रले संयुक्त राष्ट्रसंघमा बेइजिङले उइगुर मुस्लिम समुदायमाथि गरेको भनिएको दमनको विरोधमा मतदान गरेन । प्रमुख क्षेत्रीय समूह दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन(आसियान)मा पनि संगठनका १० सदस्य राष्ट्रभित्र चीनको आर्थिक संलग्नताको सबैभन्दा ठूलो समर्थक इन्डोनेसिया रहने गरेको कूटनीतिज्ञहरू बताउँछन् ।
हुन त राष्ट्रपति जोको आफू कुनै पनि देशको प्रभावबाट मुक्त रहेको बताउँछन्, तर पनि उनको चिनियाँ राष्ट्रपति सी जिनपिङप्रति विशेष आत्मीयता देखाइन्छ । सन् २०१४ को अन्तिममा सत्तामा आएको एक महिनापछि नै जोकोहले उनको पहिलो विदेशयात्राका लागि बेइजिङलाई गन्तव्य बनाएका थिए । त्यसयता, उनले सीसँग आठ पटक भेटिसकेका छन् । जब कि उनले अमेरिकाका राष्ट्रपतिहरू डोनाल्ड जे ट्रम्प र राष्ट्रपति बाइडेनसँग गरेर जम्मा चारपटक मात्र भेटे ।
चीन र इन्डोनेसियाबीचको न्यानो सम्बन्ध नेताहरूको राजनीतिक स्वार्थसँग पनि जोडिएको छ । राष्ट्रपति जोकोले सुरुदेखि नै पूर्वाधारलाई आफ्नो कार्यकालको मुख्य प्राथमकिता रहेको बताउँदै आएका छन् भने पूर्वाधारमा लगानी सी जिनपिङको कूटनीतिक रणनीतिको मेरुदण्ड रहेको छ । बेइजिङको पहिलो भ्रमणको क्रममा नै चिनियाँ अधिकारीले जोकोलाई बेइजिङदेखि बन्दरगाह सहर टियानजिनसम्म उच्च गतिको रेलयात्रा गराएका थिए । सन् २०१५ अक्टोबरमा त जोकोले चीनसँग इन्डोनेसियामा एउटा रेल निर्माण गर्ने अर्बौँ डलरको सम्झौतामा हस्ताक्षरै गरे ।
सन् २०१४ को अन्तिममा सत्तामा आएको एक महिनापछि नै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडाले आफ्नो पहिलो विदेश यात्राको गन्तव्य बेइजिङ बनाएका थिए । त्यसयता, उनले सीसँग आठपटक भेटिसकेका छन् । जब कि डोनाल्ड जे ट्रम्प र जो बाइडेनसमेत गरी अमेरिकाका राष्ट्रपतिलाई जम्माजम्मी चारपटक मात्र भेटेका छन् ।
ऐतिहासिक रूपमा, इन्डोनेसिया चीन विरोधी भावना भएको मुलुक हो । सन् १९६५ मा अर्धसैनिक र धार्मिक समूहको गठबन्धनले इन्डोनेसियाको कम्युनिस्ट पार्टीविरुद्ध ठूलो अभियान चलाएको थियो । चीनबाहिरको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी मानिने इन्डोनेसियन कम्युनिस्ट पार्टीविरुद्धको अभियानमा सो मुलुकमा बसिरहेका चिनियाँ मूलका नागरिक पनि निशानामा परेका थिए ।
यस अभियानमा कम्तीमा पाँच लाख मानिस मारिए । त्यसपछि गठित सैन्य शासकले इन्डोनेसियाली कम्युनिस्ट पार्टीले आयोजना गर्न लागेको भनिएको कथित कू प्रयासमा बेइजिङको सहयोग रहेको आरोप लगाए । फलस्वरूप इन्डोनेसिया र चीनबीचको सम्बन्ध दशकौँसम्म चिसियो । सो नरसंहारले निम्त्याएको तिक्तताका अवशेष पूरै निमिट्यान्न भइसकेको छैन । त्यसैले गर्दा इन्डोनेसियाका लागि चीनका राजदूत लु कांग सामाजिक सञ्जालमा टिप्पणी गर्दा राष्ट्रवादी तप्कालाई नचिढ्याउने गरी लेख्छन् । आफ्नो ट्विटर एकाउन्टमा लुले बालीको भ्रमणमा खिचिएका सुन्दर तस्बिर र सन् १९५५ मा इन्डोनेसिया भ्रमणमा आएका तत्कालीन चीनका प्रधानमन्त्री झोउ एन लाईको मैत्रीपूर्ण फुटेज राखेका छन् ।
‘चीन अहिले इन्डोनेसियाको पहिलो व्यापारिक साझेदार, सबैभन्दा ठूलो विदेशी लगानीकर्ता र महामारीअघि अन्तर्राष्ट्रिय पर्यटकको पहिलो स्रोत मुलुक हो,’ देशका पूर्व व्यापार तथा लगानीमन्त्री टम लेम्बोङले भने, ‘धेरै इन्डोनेसियाली व्यापारी तथा राजनीतिक सम्भ्रान्त के विश्वास गर्छन् भने चीन उदाउँदो महाशक्ति हो भने अमेरिकासापेक्ष गिरावटतर्फ गइरहेको शक्ति, जुन फेरि भौगोलिक रूपमा पनि धेरै टाढा छ ।’
एक दशकभन्दा कम अवधिमै चीनले इन्डोनेसियासँग अहिलेको जस्तो सघन सम्बन्ध निर्माण गरेको हो । यस क्रममा उसले विभिन्न मोर्चामा अमेरिकासँग प्रत्यक्ष प्रतिस्पर्धा गर्यो । उदाहरणका लागि, चिनियाँ कम्पनी सिङसानले इन्डोनेसियाको निकल उत्खननमा प्रभुत्व जमाएको छ । साथै, चीनले कोइलाबाट चल्ने ऊर्जा केन्द्र पनि बनाइरहेको छ ।
कच्चा निकललाई इलेक्ट्रिक वाहनका लागि उपयुक्त हुने गरी प्रशोधन पनि गरिरहेको छ । यसमार्फत चीनले इन्डोनेसियाभित्रै निकलका थप प्रशोधन केन्द्र खोल्ने जोकोको प्रतिबद्धतालाई साकार बनादिएको छ, भलै यसले वातावरणीय समस्या सिर्जना गरेको छ ।
महामारीमा नराम्ररी प्रभावित भएको समयमा चिनियाँ निर्मित खोपको प्रारम्भिक आपूर्ति इन्डोनेसियामा गरिएको थियो । उता राष्ट्रपति ट्रम्पले त्यसवेला अमेरिकामा निर्मित खोप निर्यात गर्नुअघि आफ्ना नागरिकलाई लगाउने स्पष्ट पारेका थिए । डिसेम्बर २०२० को सुरुमा सिनोभ्याक खोप बोकेको पहिलो विमान इन्डोनेसियामा अवतरण भएको थियो । खोपको आगमनको टेलिभिजन फुटेज देशभर प्रसारण भएको थियो । मुस्लिम बहुल यस मुलुकका धर्मगुरुहरूले खोपलाई हलाल प्रमाणितसमेत गरेका थिए ।
यी सम्पूर्ण सकारात्मक विकासका बाबजुद चीन र इन्डोनेसियाको सम्बन्ध चुनौतीरहित भने छैन । चीनले राजधानी जकार्तादेखि प्रान्तीय राजधानी बान्डुङसम्म ८८ माइलको हाई स्पिड ट्रेन बनाउने घोषणा गर्दा सो परियोजना सन् २०१९ सम्ममा सम्पन्न गर्ने वाचा गरिएको थियो । इन्डोनेसिया विश्वविद्यालयका प्रख्यात अर्थशास्त्री र परियोजनाका आलोचक फैसल बसरीका अनुसार परियोजनाको वित्तीय अवस्था सुरुदेखि नै अव्यस्थित थियो । उनका अनुसार टिकट बिक्रीले पर्याप्त आम्दानी प्रदान गर्ने स्थिति छैन । जग्गा अधिग्रहणमा धेरै पैसा परेको थियो र अन्तिम स्टेसन बान्डुङबाट माइलको दूरीमा रोकिने थियो जसले गर्दा यात्रुहरू गन्तव्यमा पुग्न पुनः अन्य माध्यमबाट आफ्नो यात्रा समाप्त गर्न बाध्य हुने थिए ।
जकार्ताको एक अनुसन्धान फर्म काटाडाटाका अनुसार यो परियोजना तीन वर्ष ढिलो सम्पन्न हुनेछ । पहिले पाँच अर्ब ५० करोड लागत अनुमान गरिएकोमा अब यसमा १ं९ अर्ब डलर बढ्ने सो संस्थाले अनुमान गरेको छ । इन्डोनेसियाली सरकार र बेइजिङले पुनर्वित्त सम्झौतामा छलफल गरिरहेकाले चीनले यस रेल परियोजनामा आफ्नो स्वामित्वको हिस्सेदारी ४० प्रतिशतबाट ६० प्रतिशत बढाउने सम्भावना छ । नोभेम्बरमा इन्डोनेसियामा हुने जी–२० को बैठकमा आउँदा सी र जोकोसँगै बसेर यस रेलको परीक्षण यात्रा गर्ने कार्यक्रम पछि रद्द गरिएको थियो । त्यसका लागि चीनबाट पठाइएका चम्किला नयाँ रेलको पूर्ण सेट अहिलेलाई थन्किएर बसेका छन् ।
वासिङ्टनले चीनको प्रभावलाई रोक्न एसियामा सम्बन्ध सुदृढ पार्न सक्रिय भइरहेको समयमा इन्डोनेसिया सतर्क रहेको छ । ऊ बेइजिङलाई नचिढ्याउन होसियार देखिन्छ । इन्डोनेसियाले अमेरिकाको मित्रशक्ति अस्ट्रेलियाको आणविक ऊर्जाबाट चल्ने पनडुब्बीको विरोध गर्यो । इन्डोनेसियाका अधिकारीहरूले आफ्नो जलक्षेत्रवरपर परमाणुमुक्त क्षेत्र बनाउन चाहेको बताएका छन् । यस विरोधबाट बाइडेन रुष्ट भएका छन् । ताइवानको विषयमा अमेरिका र चीन भिडे भने ती अष्ट्रेलियन पनडुब्बी इन्डोनेसियाछेउको समुद्र हुँदै अघि बढ्नुपर्नेछ ।
ताइवानलाई लिएर अमेरिका–चीन द्वन्द्व भएमा आफूहरू तटस्थ रहने इन्डोनेसियाका विदेश मन्त्रालयअन्तर्गतको पूर्वी एसिया तथा प्रशान्त मामिलाका निर्देशक सान्तो डार्मोसुमार्तोले बताए । इन्डोनेसियाको तटस्थताले चीनविरुद्ध एसियाली शक्तिलाई गोलबन्ध गर्ने वासिङ्टनको प्रयासलाई जटिल बनाउने अस्ट्रेलियाका रक्षा रणनीतिकार ह्युग ह्वाइटले बताए । ‘सैन्य रूपमा, इन्डोनेसियाका आधारमा पहुँच ताइवानविरुद्धको युद्धमा अमेरिकी सेनाहरूलाई ठूलो टेको हुनेछ, तर त्यस्तो हुने अवस्था देखिएको छैन,’ ह्वाइटले भने ।
गत अगस्टमा, इन्डोनेसियाली सेना अमेरिकी सेनासँग बहुराष्ट्रिय हवाई, स्थल र समुद्री अभ्यासमा सहभागी भयो । तर, सेनाले प्रयोग गर्ने रुसबाट किनेका पुराना हतियार अमेरिकी हतियारबाट प्रतिस्थापन हुने सम्भावना तत्काल देखिन्न । यसबीच, गत फेब्रुअरीमा इन्डोनेसियाले फ्रान्सबाट ४२ राफेल लडाकु विमान किनेको थियो ।
अमेरिकी रक्षामन्त्री अस्टिनको नोभेम्बरको भ्रमणको केही हप्तापछि इन्डोनेसियाले आर्थिक समस्या देखाउँदै अमेरिकाबाट किन्ने भनेको एफ–१५ लडाकु विमान नकिन्ने निर्णय गर्यो । यसले गर्दा अस्टिनको भ्रमण निकै कम उपलब्धिमूलक साबित भयो । भ्रमणमा भएको सहमतिअनुसार इन्डोनेसियाली सैन्य विद्यार्थीहरूका लागि अमेरिकामा केही अतिरिक्त प्रशिक्षण आयोजना गरिनेछ । इन्डोनेसियाले पहिलेदेखि नै रुस र चीनमा पनि तालिम लिन सेना पठाउने गर्छ ।
(जेन परलेज, एरिक स्किमट, सुई ली वी) द न्युयोर्क टाइम्सबाट