Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण ८ सोमबार ०८:३६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दोस्रो अवार्डनजिक क्रिकेटर आसिफ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण ८ सोमबार ०८:३६:००

नेपाली क्रिकेटर मोहमद आसिफले गत वर्ष भलाद्मी खेल देखाएका थिए । यही प्रदर्शनका आधारमा आसिफलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आइसिसी स्पिरिट अफ क्रिकेट अवार्डबाट सम्मानित गर्‍यो ।

आइसिसीले वार्षिक रूपमा प्रदान गर्ने अवार्ड पाउने आसिफ पहिलो नेपाली क्रिकेटर बने । आइसिसीले सन् २०२२ मा गरेको प्रदर्शनलाई आधार बनाएर विभिन्न १३ विधामा पुरस्कृत गर्दा आसिफलाई खेलभावनाको कदरबाट सम्मानित गरेको हो ।

गत वर्ष ओमानको मस्कटमा चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय टी–२० खेल भएको थियो । नेपालले आफ्नो अन्तिम खेल आयरल्यान्डविरुद्ध खेलेको थियो । इनिङ्सको १८औँ ओभरमा आयरल्यान्ड ११३–८ को कमजोर अवस्थामा थियो ।

इनिङ्सको १९.३ ओभरमा मार्क एडेयर एक रन लिन प्रयास गर्दै क्रिजमा कुदे । नेपालका तीव्र गतिका बलर कमलसिंह ऐरी बल नियन्त्रण गर्ने क्रममा नन स्ट्राइकबाट दौडिरहेका एन्डी म्याकब्रिनसँग ठोक्किए । एन्डी क्रिजमै लड्न पुगेका थिए । उनी उठेर स्ट्राइक लिन जाँदा ढिला भइसकेका थिए । कमलसिंहले बल नियन्त्रणमा लिँदै विकेटकिपर आसिफतर्फफ्याँके ।

आसिफले सहजै एन्डीलाई रनआउट गर्न सक्थे, तर गरेनन् । उनले म्याकब्रिन ठोक्किएर लड्न पुगेको भन्दै रनआउट नगरेका हुन् । घटनापछि आसिफ र एन्डीले हात मिलाउँदै खेल अगाडि बढाए । ‘यो उपाधि पाउँछु भनी आशा नै गरेको थिइनँ,’ आसिफले भने, ‘उपाधि पाउँदा खुसी लागेको छ ।’ 

अहिले खेलकुद क्षेत्रकै प्रतिष्ठित अवार्ड प्राप्त गर्न आसिफ अग्रसर छन् । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड, २०७८ मा उनी पिपुल्स च्वाइस विधामा मनोनयन भएका छन् । यस विधामा भलिबलकी उषा भण्डारी, फुटबलका अञ्जन विष्ट, पौडीकी डुवाना लामा र टेनिसकी अभिलाषा विष्ट छन् । भोटिङका आधारमा यो अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ । 

‘स्टम्पनजिकै फिल्डिङ गरेका केही खेलाडीले रनआउट नगर भनेको सुनेको थिएँ,’ आसिफले भने, ‘मलाई स्कुलमा गुरुहरूले यस्तै खेल भावना सिकाउनुभएको थियो ।’ सो खेलमा आयरल्यान्डले नेपाललाई १६ रनले हराएको थियो । खेलमा पराजित नेपालले खेलभावना जित्यो ।