१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
अरुणकुमार चौधरी
२o८१ बैशाख २५ मंगलबार o८:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

एउटै मुद्दामा सांसदलाई आममाफी, अर्का कारागारमै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o८:२o:oo

ट्र्याक्टरमा आगो लगाएको मुद्दामा कैद सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी कारागारमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएपछि सांसद चौधरीलाई जिल्ला कारागार कैलालीले आइतबार रिहा गरेको हो । त्यही मुद्दामा दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी भने कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् ।

आगो लगाएको मुद्दामा दोषी ठहर भई कैद सजाय पाएको खुलेपछि गत १९ माघमा बाँकेको बैजनाथ गाउँपालिका– १ चिसापानीबाट सांसद चौधरी पक्राउ परेका थिए । यो मुद्दामा जिल्ला अदालत कैलालीले करिब १० वर्षअघि चौधरीसहित तीनजनालाई दोषी ठहर गर्दै जनही ६ महिना कैद र कुल आठ लाख १९ हजार चार सय २३ रुपैयाँ बिगो असुल्ने फैसला गरेकोे खुलेको थियो । तीनैजना फरारको सूचीमा थिए । 

दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत १२ माघमा पक्राउ परेपछि सांसद चौधरीसमेत फरारको सूचीमा रहेको खुलेको थियो । फैसलाबारे उजुरीकर्तासमेत अनभिज्ञ थिए । चौधरी गत ४ मंसिरमा भएको निर्वाचनमा कैलाली २ बाट निर्वाचित भएका थिए । 

रिहा भएपछि चौधरीले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाए । फैसला हुँदा यसबारे जानकारी नदिएको र आफू विगतमा तीनपटक चुनाव लड्दासमेत यो विषय कसैले नठाएको, तर अहिले प्रतिशोधका लागि मुद्दा बाहिर ल्याइएको उनले बताए । ‘सानो दल भएकाले राजनीतिक प्रतिशोधका लागि मलाई जेल हालिएको हो,’ उनले भने, ‘म कांग्रेसमा हुँदा यो मुद्दा कसैले उठाएन । मलाई थाहा पनि थिएन ।’

चौधरी रिहा हुँदा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत उक्त पार्टीका नेता–कार्यकर्ताले कारागारको गेटमा खादा र माला लगाएर स्वागत गरेका थिए । ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका अन्य चारजनालाई पनि राष्ट्रपतिबाट कैद मिनाहा भएपछि प्रजातन्त्र दिवसका अवसरमा रिहा गरिएको निमित्त जेलर लालबहादुर बोगटीले जानकारी दिए । 

साबिकको बलिया गाविस– ५ कैलालीका महादेव बजगाईंको लु.२त २११ नम्बरको ट्र्याक्टर ढुंगा बोकेर चिसापानीबाट लम्की जाने क्रममा ३ भदौ ०६६ को बेलुका स्थानीय धोबेनी खोलामा आगजनी भएको थियो । बजगाईंको जाहेरीका आधारमा बलिया– ३ का अरुणकुमार चौधरी र परशुराम चौधरी तथा साबिक कोटालुल्सीपुर गाविस– १ का वीरबहादुर चौधरीविरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थियो । जिल्ला अदालतले ९ वैशाख ०७० मा तीनैजनालाई जनही ६ महिना कैद र कुल आठ लाख १९ हजार चार सय २३ रुपैयाँ बिगो असुल्ने फैसला गरेको थियो । 

सांसद चौधरी आममाफी पाएर रिहा भए पनि गत १२ माघमा पक्राउ परेका वीरबहादुर भने कारागारमै छन् । जेलर बोगटीले आममाफी र कैद मिनाहाका लागि सम्बन्धित व्यक्तिले नै राष्ट्रपतिकहाँ निवेदन दिनुपर्ने बताए । ‘सम्बन्धित व्यक्तिले नै निवेदन दिनुपर्छ । हामीले चालचलनबारे मात्र सिफारिस गरिदिने हो,’ उनले भने । सांसद चौधरीले फैसलाविरुद्ध उच्च अदालत दिपायलमा रिटसमेत दायर गरेका थिए । 

ad
ad