मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
श्रवण थापा सर्लाही
२०७९ फाल्गुण ६ शनिबार ११:५१:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राजर्षि जनक कप : सुदूरपश्चिममाथि सहज जित निकाल्दै मच्छिन्द्र फाइनलमा

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ फाल्गुण ६ शनिबार ११:५१:००

सुदूरपश्चिम– ११ माथि सहज जित निकाल्दै मच्छिन्द्र फुटबल क्लब सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सर्लाहीको बागमती नगरपालिका–११ स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा मच्छिन्द्र ६–२ गोल अन्तरले विजयी भएको हो । जित निकाल्दै राजर्षि जनक कपको फाइनल यात्रा तय गरेको मच्छिन्द्रले कम्तिमा उपविजेताको उपाधि रक्षा गरेको छ भने सुदूरपश्चिम उपाधि होडबाट बाहिरिएको छ । 

खेलको छैठौँ मिनेटमा दयानन्द सिंहले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले विमल घर्तिमगरको पासमा सहज गोल गरेका थिए । मच्छिन्द्रले त्यसपछि पनि लगातार सुदूरपश्चिममाथि गोलको बर्षा गरेको थियो । सुदूरपश्चिमका सामु लयमा देखिएको मच्छिन्द्रले पहिलो हाफको खेल ४–० को अवस्थामा पु¥याएको थियो ।

खेलको १३औँ मिनेटमा दयानन्द सिंहको पासमा मच्छिन्द्रका विजय भुजेलले दोस्रो गोल गरे । खेलको ३६औँ मिनेटमा मच्छिन्द्रका विमल घर्तिमगरलाई सुदूरपश्चिमका खेलाडिले ‘डि’बक्स नजिकै फाउल गरेपछि मच्छिन्द्रले फ्रि–किक पाएको थियो । मच्छिन्द्रका देबेन्द्र तामाङले फ्रिकिकलाई सजिलै गोलमा परिणत गरिदिए । खेलको ३९औँ मिनेटमा गोल गर्दै मच्छिन्द्रका पुजन उपरकोटीले टिमलाई ४–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफपछि पनि सुदूरपश्चिम– ११ ले खेलमा सुधार गर्न सकेन । खेलको ५०औँ मिनेटमा सुदूरपश्चिमले पेनाल्टीमार्फत पहिलो गोल फर्काएको थियो । मच्छिन्द्रका दिवाकर चौधरीले डि बक्सभित्र फाउल गरेपछि पाएको पेनाल्टी सुदूरपश्चिमका फगुराम थारुले गोलमा परिणत गरिदिएका हुन् ।

यस्तै खेलको ६२औँ मिनेटमा मच्छिन्द्रका दिपेश घलेले गोल गर्दै खेललाई ५–१ को अवस्थामा पुर्याए । त्यसको १२ मिनेटको अन्तरमा सुदूरपश्चिमका भरत टमाटाले टिमका लागि दोस्रो गोल गरे । टमाटाको गोलमा खेल ५–२ को अवस्थामा पुगेको थियो । खेलको ८५औँ मिनेटमा उत्सव राईको पासमा विमल घर्तिमगरले गोल गर्दै ६–२ ले टिमको अग्रता कायम राखे । मच्छिन्द्रको सामु सुदूरपश्चिम निरिह देखियो ।

टिमको लागि ब्यक्तिगत एक गोलसहित दुई गोलमा ‘असिस्ट’ गरेका विमल घर्तिमगर खेलको म्यान अफ दि म्याच घोषित हुँदै ट्रफि र नगद १० हजार प्राप्त गर्न सफल भए । जितसँगै मच्छिन्द्रले फाइनलमा जावलाखेल यूथ क्लवसँगको भेट पक्का गरेको छ । जावलाखेल यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । उपाधि भिडन्त फागुन ७ गते आइतबार हुनेछ ।

मधेश प्रदेशकै सर्वाधिक पुरस्कार राशी रहेको राजर्षि जनक कप फुटवल प्रतियोगिताको विजेता टिमले १० लाख नगद र राजर्षि रनिङ सिल्ड तथा उपविजेता टोलीले नगद ५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।