
काठमाडौं महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ । आगामी २४ र २५ चैतमा समितिको राष्ट्रिय सम्मेलन गर्ने भएको हो । स्थानीय तहमा न्यायसम्पादन अनुभव आदान–प्रदानका लागि सम्मेलन आयोजना गर्न लागेको महानगरले जनाएको छ । सम्मेलनको तयारीका लागि उपप्रमुख सुनीता डंगोलको अध्यक्षतामा ‘न्यायिक समिति मूल समारोह समिति’ गठन भएको छ ।
महानगरको न्यायिक समितिका सदस्यहरू कुश ढकाल र आशा श्रेष्ठ रौनियार समारोह समितिका सदस्य छन् । प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, प्रशासन विभाग प्रमुख दीपक अधिकारी, वित्त विभाग प्रमुख बुद्धरत्न मानन्धर सदस्य रहेका छन् भने सदस्यसचिवमा कानुन तथा मानव अधिकार विभाग प्रमुख वसन्त आचार्य छन् ।
बिहीबार बसेको समितिको बैठकमा उपप्रमुख एवं मूल समारोह समितिकी संयोजक डंगोलले सबै पालिकाका न्यायिक समितिबाट प्रतिनिधित्व गराउने र असल अभ्यास आदान–प्रदान गर्ने बताइन् ।