
नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीले शाखा खोल्नका लागि चुक्ता पुँजी बढाएको छ । शुक्रबार बोर्डले ‘धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । निर्देशिकामा बोर्डले ब्रोकर कम्पनीले शाखा खोल्नका लागि एक करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने उल्लेख गरेको हो ।
यसअघि अनुमति पाएका ब्रोकर शाखाले ६ महिनाभित्र उक्त चुक्ता पुँजी पुर्याउन पनि निर्देशिकामा भनिएको छ । यसअघि ब्रोकर शाखा खोल्नका लागि एक करोड रुपैयाँ चुक्ता पुँजी भएपछि शाखा विस्तारका लागि अनुमति दिँदै आएको थियो ।
त्यस्तै, निर्देशिकामा कुनै एउटा कम्पनीले एकपटकमा एउटा मात्र ब्रोकर शाखा खोल्न पाउनुपर्ने बताएको छ । कम्पनीले चुक्ता पुँजीसँगै नेटवर्थ पनि बढाउनुपर्नेछ साथै नेटवर्थ चुक्ता पुँजीभन्दा बढी हुनुपर्ने र नेटवर्थ बढी भएको विषय चार्टर्ड एकाउन्टेन्टमार्फत प्रमाणित गराउनुपर्ने व्यवस्थासमेत निर्देशिकामा उलेख गरिएको छ ।
बोर्डले काठमाडौंमै ब्रोकर कम्पनीलाई शाखा विस्तार गर्न दिने नयाँ व्यवस्था गरेको छ । तर, कम्पनीले अन्य जिल्लामा तीनवटा शाखा विस्तार गरेपछि मात्रै काठमाडौंमा शाखा खोल्न अनुमति दिइनेछ ।
यसैगरी, बोर्डले यसअघि नै शाखा विस्तारका लागि निवेदन दिएका, तर बोर्डबाट अनुमति नपाएका सबैको निवेदन खारेज गरिदिएको छ । निर्देशिका लागू भएपछिको अवस्थामा नयाँ शाखा खोल्न चाहनेले यसै निर्देशिकाबमोजिम पुनः निवेदन दिनुपर्नेछ । ब्रोकर शाखा खोल्न चाहनेले एकपटकमा एउटा मात्रै शाखाका लागि निवेदन दिन सकिनेछ ।