मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण ५ शुक्रबार ०८:२७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नयाँ बसपार्क क्षेत्रको लुटपाटप्रति निजी क्षेत्रको चिन्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण ५ शुक्रबार ०८:२७:००

२ फागुनमा काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको प्रदर्शनका क्रममा व्यापारिक मल, सुपर मार्केट तथा अन्य व्यवसायमा तोडफोड एवं लुटपाट गरेको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । सो घटनाको निन्दा एवं भत्र्सना गर्दै महासंघले घटनामा संलग्न व्यक्तिलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ ।‘लोकतन्त्रमा विरोध प्रदर्शन गर्न पाउने जति अधिकार छ, त्यति नै जनताले आफ्नो जिउधन र सम्पत्तिको सुरक्षा गर्न पाउने अधिकार पनि छ ।

जनताको सम्पत्तिको खुलेआम तोडफोड, लुटपाट हुनु शोभनीय होइन र त्यो कानुनी राज्यमा दण्डनीय हुनुपर्छ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । कुनै पनि विरोधको आडमा जबर्जस्ती कानुन हातमा लिई हुने यस्ता घटनालाई समयमै नियन्त्रण गर्ने र त्यस्ता तत्वलाई कानुनको दायरामा ल्याएर कडाभन्दा कडा करबाही गर्नेतर्फ राज्यको ध्यान जान नसके जुनसुकै समयमा अन्यत्र पनि यस्ता घटना दोहोरिन सक्नेतर्फ महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । ‘उक्त घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी कारबाही हुनुुपर्नेतर्फ महासंघ सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ र व्यवसायीका लुटिएका सामान अविलम्ब फिर्ता गराउनसमेत माग गर्छ,’ विज्ञप्तिमा भनिएको छ ।   

व्यावसायिक सुरक्षाको ग्यारेन्टी हुनुपर्छ : चेम्बर 
नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक सुरक्षाको ग्यारेन्टी प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बालाजुस्थित ल्होत्से मलमा तोडफोड र पसलमा भएको लुटपाटप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै चेम्बरले व्यावसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराएको हो । ‘विभिन्न मजदुर यातायात संगठनले गरेको आन्दोलनको मौका छोपी ल्होत्से मलका पसल तोडफोड गरी लुटपाट भएको घटनामा नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको छ,’ चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै, सो घटनाका दोषीलाई अविलम्ब कानुनी कारबाही गर्न र पीडित व्यवसायीलाई लुटपाटमा संलग्नहरूबाटै  क्षतिपूर्तिको व्यवस्था गर्न पनि चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । शान्तिपूर्ण आन्दोलन एवं प्रदर्शन गर्ने अधिकार भए पनि आन्दोलनका नाममा उच्छृङ्खल गतिविधि, लुटपाट र तोडफोड गर्ने छुट कसैलाई पनि  नभएको चेम्बर अध्यक्ष राजेन्द्र मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

औद्योगिक एवं व्यावसायिक क्षेत्रको सुरक्षाका लागि सुरक्षा निकायलाई चुस्त र तैनाथी अवस्थामा राख्नुपर्ने अध्यक्ष मल्लले बताए । राज्यलाई कर तिरेर व्यवसाय सञ्चालन गर्दासमेत शान्तिसुरक्षा कायम हुन नसक्नु दुर्भाग्यपूर्ण भएको ठहर गर्दै चेम्बरले बालाजु घटनाका पीडित व्यवसायीलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन र आगामी दिनमा यस्ताखाले घटना दोहोरिन नदिन सरकारलाई सचेतसमेत गराएको छ ।