मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
भोजराज भण्डारी काठमाडाैं
२०७९ फाल्गुण ५ शुक्रबार ०६:३८:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्वदेशी उत्पादनले धान्दैन भान्साको माग : तरकारीमा १७ र खाद्यान्नमा २१ प्रतिशतसम्म परनिर्भरता

Read Time : > 2 मिनेट
२०७९ फाल्गुण ५ शुक्रबार ०६:३८:००

नेपालीको भान्साको माग स्वदेशी उत्पादनले धान्न सकेको छैन । तरकारीदेखि खाद्यान्नसम्म नेपालीले विदेशबाट आयात गरेर नै उपभोग गर्नुपर्ने बाध्यता छ । हरेक सरकारले आफ्ना नीति, कार्यक्रम तथा बजेटमार्फत कृषि वस्तुमा आत्मनिर्भर हुने घोषणा गर्छन् । तर, कृषि वस्तुको उत्पादन कम हुँदा परनिर्भरता झन्–झन् बढ्दै गएको सरकारी तथ्यांकले नै देखाउँछ । मन्त्रालयका अनुसार मुख्य बाली धान–चामल, ताजा तरकारी, आलु, प्याज, स्याउ, केरा, सुन्तला, दलहनजन्य वस्तुको उत्पादन पर्याप्त नहुँदा आयात बढ्न पुगेको हो । 

सबैभन्दा बढी खपत हुने चामल मात्रै कुल उपभोगमध्ये २१ दशमलव ४२ प्रतिशत आयात गर्नुपर्ने अवस्था छ । नेपालमा चामलको माग ४० लाख ४८ हजार मेट्रिकटन छ, तर आन्तरिक उत्पादन ३१ लाख ८० हजार मेट्रिकटन मात्रै छ । त्यसैले माग आठ लाख ६७ हजार मेट्रिकटन चामल आयात गर्नुपर्ने बाध्यता रहेको मन्त्रालयले जनाएको छ । चालू आवको ६ महिनामा धान–चामल मात्रै १८ अर्ब ६३ करोडबराबरको आयात भइसकेको छ । 

त्यस्तै, ताजा तरकारीमा उत्पादन र मागको तुलनामा आयातको हिस्सा २ दशमलव २५ प्रतिशत छ । तरकारी उत्पादन ४१ लाख ५३ हजार मेट्रिकटन रहेको छ भने आवश्यक माग करिब ४२ लाख ४९ हजार छ । ताजा तरकारीको आयात भने ९५ हजार मेट्रिकटन हुने गरेको छ । स्याउ र प्याजको माग धेरै हुँदा आयात हिस्सा सर्वाधिक बढी छ । प्याजमा आन्तरिक उत्पादन दुई लाख ६२ हजार मेट्रिकटन छ भने वार्षिक माग चार लाख ३६ हजार मेट्रिकटन छ । कुल आवश्यकतामा आयातको हिस्सा प्याजमा ३९ दशमलव ८४ प्रतिशत रहेको छ । 

पछिल्लो ६ महिनामा दुई अर्ब ६९ करोड रुपैयाँको आयात भएको छ । त्यस्तै, स्याउमा आन्तरिक उत्पादन ५२ हजार मेट्रिकटन रहँदा ८७ हजार स्याउ मागलाई पूर्ति गर्नका लागि आयात गर्नुपर्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ । जुन आवश्यकतामा आयातको हिस्सा ६२ दशमलव ५३ प्रतिशत रहेको छ । 

त्यस्तै, तरकारीमध्ये सबैभन्दा बढी खपत हुने आलुमा पनि आयातको हिस्सा ८ दशमलव ८५ प्रतिशत छ । नेपालमा आन्तरिक उत्पादन ३४ लाख ८० हजार मेट्रिकटन रहँदा माग भने ३७ लाख ९४ हजार मेट्रिकटन आवश्यकता पर्छ । मागपूर्ति गर्नका लागि तीन लाख ४० हजार मेट्रिकटन आयात गर्नुपर्ने आवश्यकता रहेको मन्त्रालयले जनाएको छ । चालू आर्थिक वर्षको ६ महिना मात्र आलुको पाँच अर्ब ३९ करोडको आयात गरिएको छ ।

कृषिजन्य उत्पादनको लक्ष्य पूरा भएन 
सरकारको १५औँ योजना (०७६/७७– ०८०/०८१) ले लिएको कृषिजन्य उत्पादनको लक्ष्य भेट्टाउन नसक्ने देखिएको छ । यस अवधिमा धान, गहुँ, मकैलगायत वस्तुको उत्पादनले लक्ष्य भेट्टाउन नसकेको हो । आवधिक योजनाले धान, तरकारी, आलु, फलफूललगायत वस्तुहरूको लक्ष्य भेट्टाउन सकेको छैन । योजनाले चालू आवमा धान उत्पादनको लक्ष्य प्रतिहेक्टर ४ दशमलव ५ मेट्रिकटन पुर्‍याउने भनिएको छ । तर, हालको प्रगति ३ दशमलव ७९ मेट्रिकटन मात्रै छ ।

त्यस्तै, तरकारीमा पनि आवधिक योजना भेट्टाउन नसक्ने देखिएको छ । योजनामा राखिएको लक्ष्य प्रतिहेक्टर २० मेट्रिकटन रहेकामा चालू आर्थिक वर्षमा १४ दशमलव ७४ मेट्रिकटन मात्र हुन सकेको छ । आवधिक योजनाले चालू आर्थिक वर्षमा आलु उत्पादनमा प्रतिहेक्टर २१ दशमलव २ मेट्रिकटन लक्ष्य राखेकोमा हालको  प्रगति १७ दशममलव ६० मेट्रिकटन मात्र हुन सकेको छ । चालू आर्थिक वर्षमा सरकारले आलु उत्पादनको लक्ष्य प्रतिहेक्टर २१ दशमलव दुई मेट्रिकटन राखेको थियो ।

सरकारी नीति, राजनीतिक अस्थिरता र दीर्घकालीन योजना नहुँदा सरकारले राखेको लक्ष्य भेट्टाउन नसकेको कृषि मन्त्रालयले जनाएको छ । पूर्वकृषिसचिव कृष्ण आचार्य नेपालको कृषि प्रणाली मौसमी हुने हुँदा आयातमा भर पर्नुपर्ने बाध्यताले लक्ष्य भेट्टाउन सकस भएको बताए ।

उनले भने, ‘समयमै मलको अभाव, आर्थिक नीति र हाम्रो भौगोलिक कारणले पनि लक्ष्यमा पुग्न नसकिरहेको हो कि भन्ने लाग्छ ।’ लक्ष्यनजिक नपुग्नुमा राजनीतिक अस्थिरता र नीतिको कारण रहेको मन्त्रालयको भनाइ छ । अनुदानमा भइरहेको अपारदर्शिता, बिउबिजन किसान लक्षित योजनाको अभावका साथै सिँचाइ जग्गाको खण्डीकरणको प्रभावलाई सुधार गर्नुपर्ने आयोगको सुझावमा पनि भनिएको छ ।