
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्तिराष्ट्रहरूले राष्ट्रपतिको चुनावमा अप्रत्यक्ष रूपले भूमिका खेले पनि यसपटक भने प्रत्यक्ष रूपमा नै भूमिका खेलेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बाेल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन्।
उनले शक्तिराष्ट्रहरूले यसपटक प्रत्यक्ष रूपमा आफ्नो देशको स्वार्थअनुकूल राष्ट्रपतिका लागि भूमिका खेलिरहेको बताए। सांसद केसीले यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दख्खल भइरहेको बताए।
सांसद केसीले नेपाली सरकार प्रमुखहरू विदेशी शक्तिराष्ट्रका मानिसहरू आउँदा लम्पसार परेर उनीहरूको आशीर्वादबाट आफ्नो दुनो सोझ्याउने काम गरिरहेको दाबी गरे।
भारतको सामान्य कर्मचारी आउँदा पूर्वप्रधानमन्त्रीहरूदेखि मन्त्रीहरू र राष्ट्रप्रमुख नै लम्पसार परेको भन्दै यसले देशको इज्जत र प्रतिष्ठामा आँच आएको उनले बताए।
भूगोलको हिसाबले राष्ट्र सानो, ठूलो भए पनि सार्वाभौम सत्ता, भौगोलिक अखण्डताको हिसाबले राष्ट्र सानो, ठूलो नहुने उनको तर्क थियो।
सांसद केसीले नेपालमा गणतन्त्रमाथिको खतरा गणतन्त्र पक्षधरहरूबाट नै रहेको आरोप लगाए।