
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारप्रति नकारात्मक नरहेको बताएका छन्।
आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिबद्ध रहेको भन्दै कहिल्यै पुँजीबजारप्रति नकारात्मक नभएको बताएका हुन्।
गभर्नर अधिकारीले सेयर बजार बढ्नु र कहिलेकाहीँ घट्नु स्वाभाविक भएको बताए। उनले पुँजीबजार हेर्ने छुट्टै केन्द्रीकृत नियमन निकाय भएको बताउँदै धितोपत्र बोर्डले पुँजीबजारलाई नियन्त्रण र अनुगमन गर्ने बताए।
उनले राष्ट्र बैंकले नियमन गर्ने भनेको वित्तीय क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरू मात्रै भएको स्पष्ट पारे। उनले नेपाली पुँजीबजारमा बाफियाभित्र ७० प्रतिशत संस्थाहरू समावेश भएकाले राष्ट्र बैंकले यी संस्थाहरूलाई गरेको नियमनको कारणले प्रभाव परेको हुन सक्ने बताए।
राष्ट्र बैंकको इच्छाअनुसार पुँजीबजारलाई असर पर्ने नीति नलिएको भन्दै राष्ट्र बैंक जहिले पुँजीबजारको प्रोस्पर चाहेको बताए।
राष्ट्र बैंक बैंकहरूसँग भएको पुँजी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने गरी नीति लिएकाले प्रत्यक्ष रूपमा सेयर बजारको विषयमा नबोलेको उनको भनाइ थियो।
उनले सेयर बजारको शब्दहरू मौद्रिक नीतिमा नभएकाले अन्यथा नलिन आग्रह गर्दै विदेशी मुद्रा सञ्चितिमा सन्तुलनमा राख्नको लागि आयात प्रतिबन्धको नीति लिएको भन्दै सहज भएसँगै खुल्दै गरेको स्पष्ट पारे।