
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेटमा राखिएको आर्थिक वृद्धिदरको आठ प्रतिशतको लक्ष्य पूरा नहुने बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री पौडेलले चालू आर्थिक बजेटको अर्धवार्षिक समीक्षा प्रतिनिधिसभामा पेस गर्दै यस्तो बताएका हुन्।
उनले पर्यटन क्षेत्रमा केही सुधार भए पनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न सक्ने नदेखिएकाले आर्थिक वृद्धि लक्ष्यअनुसार नहुने देखिएकाले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर आठ प्रतिशतको लक्ष्य पूरा हुने नदेखिएको बताए।
अर्थमन्त्री पौडेलले आयात नियमनको असर र आपूर्तिमा आएको सुस्तताका कारण राजस्व संकलनमा दबाब परी देशको अर्थतन्त्र चरम दबाबमा रहेको पनि बताए।
राजस्व प्रणालीले अनिवार्य दायित्वमा छुट्याएको रकमसमेत अपुग भएको बताउँदै उनले सरकारलाई तत्कालीन र दीर्घकालीन प्रकृतिका दायित्वले झनै दबाब थपिएको भन्दै सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्यसमेत हासिल हुने गाह्रो भएको उनले बताए।
विश्व अर्थतन्त्रमा देखिएका कसिला नीतिले नेपालको आर्थिक नीतिमा चुनौती थपिएको उनको तर्क थियो। अर्थमन्त्री पौडेलले बजेटमा मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकामा ७.२६ पुगेको बताए।