Skip This
शपथग्रहणको डेढ महिनापछि कार्यव्यवस्था समिति र नियमावली मस्यौदा समिति गठन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २३ सोमबार
  • Tuesday, 13 May, 2025
गणेश लम्साल विराटनगर
२o७९ माघ २३ सोमबार १७:o७:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

शपथग्रहणको डेढ महिनापछि कार्यव्यवस्था समिति र नियमावली मस्यौदा समिति गठन

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ माघ २३ सोमबार १७:o७:oo

प्रदेश १ सभाको दोस्रो कार्यकालका लागि निर्वाचित सांसदहरूले शपथग्रहण गरेको डेढ महिनापछि बल्ल कार्यव्यवस्था समिति गठन भएको छ। शपथग्रहणपछि ५ वटा बैठक सम्पन्न गरिसकेको प्रदेश १ सभाको सोमबार बसेको बैठकले दोस्रो कार्यकालका लागि कार्यव्यवस्था समिति गठन गरेको हो।

हालसम्म प्रदेश सभाको छैठौँ बैठक सर्वदलीय सहमतिका आधारमा सञ्चालन हुँदै आएको थियो। अब भने संसद् बैठक र गतिविधिहरू कार्यव्यवस्था समितिको निर्णयअनुसार सञ्चालन हुने प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए।

प्रदेश सभा नियमावली २०७४ को नियम १३ अनुसार सभामुखको अध्यक्षतामा कार्यव्यवस्था समितिमा ११ जना रहने व्यवस्था छ। नियमअनुसार समितिमा उपसभामुख र सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पदेन सदस्य रहन्छन्। अन्य सदस्यहरूमा राप्रपाका अम्बरबहादुर विष्ट, माओवादी केन्द्रका नारायणबहादुर मगर, एकीकृत समाजवादीकी विद्या चाम्लिङ राई, कांग्रेसका भीम पराजुली र भुपेन्द्र राई, एमालेका  रेवतीरमण भण्डारी र ज्ञानेन्द्र सुवेदी तथा जसपाकी सिर्जना राई रहेका छन्।

नियमावली बनाउन मस्यौदा समिति गठन
प्रदेश सभाले दोस्रो कार्यकालका लागि प्रदेश सभा नियमावली बनाउन ११ सदस्यीय मस्यौदा समिति पनि गठन गरेको छ। प्रदेश सभाले हरेक कार्यकालमा आफ्नो नियमावली आफैँ बनाउन सक्ने संवैधानिक व्यवस्थाअनुसार प्रचलित नियमावलीमा फेरबदल गर्नुपर्ने भए वा पूरै नयाँ बनाउनुपर्ने भए समितिले मस्यौदा निर्माण गरेर संसद् सचिवालयलाई दिनेछ। त्यसपछि उक्त मस्यौदा संसदमा छलफल भएर पारित भएपछि सोही नियमअनुसार प्रदेश १ सभाको संसद्को बैठक र गतिविधिहरू सञ्चालन हुने कानुन अधिकृत तथा सूचना अधिकारी प्रमोद विश्वकर्माले बताए। 

समितिमा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु, कांग्रेसका केदार कार्की, मोहन महर्जन र शोभा चेम्जोङ, माओवादी केन्द्रकी गीता तिम्सिना र  गोम्बु शेर्पा, एमालेका तिलचन पाठक, राप्रपाकी निमसरी राजवंशी, यशोदा कायस्थ, रामदेव यादव र लीलाबल्लभ अधिकारी सदस्य रहेका छन्। 

नयाँ नियमावली नबनेसम्म प्रदेश सभाको दोस्रो कार्यकालको बैठक पहिलो कार्यकालकै नियमावलीअनुसार सञ्चालन हुनेछ।