मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विद्युत् प्राधिकरणले बागमती करिडोरमा तार भूमिगत गर्न खनेर छाडेको खाल्डो । तस्बिर : नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२०७९ माघ २३ सोमबार ०८:५०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सरकारी निकायले नै टेरेनन् मन्त्री श्रेष्ठको निर्देशन

विद्युत् प्राधिकरण, सडक विभाग र पिआइडीले खाल्डो पुर्ने सुरसार नै गरेनन् 

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ माघ २३ सोमबार ०८:५०:००

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले २७ पुसमा सडकको अनुगमन गर्दै १५ दिनभित्र खाल्डा पुर्न निर्देशन दिएका थिए । उनले रिङरोडभित्र र बाहिरका मुख्य सडकको अनुगमन गर्दै भत्किएका र भत्काइएका सडक बनाउन १५ दिने अल्टिमेटमसहित निर्देशन दिएका थिए । तर, निर्देशन दिएको २५ दिन बितिसक्दा पनि विद्युत् प्राधिकरण, सडक विभाग र मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले खाल्डो पुर्ने सुरसार नै गरेका छैनन् ।

प्राधिकरण र पिआइडीले उपत्यकाका सडक खनेर अलपत्र पारेपछि मन्त्री श्रेष्ठले अनुगमन गर्दै त्यसलाई समाधान गर्ने बताएका थिए । तर, मन्त्री श्रेष्ठले अनुगमन गरेका उपत्यकाका मुख्य सडक अस्तव्यस्त नै छन् । सो दिन मन्त्री श्रेष्ठ सरकारी टिमसहित लाजिम्पाट, चाबहिल, बुढानीलकण्ठ, सोह्रखुट्टे, जावलाखेल र भैँसेपाटी क्षेत्रका सडकको अनुगमनमा पुगेका थिए । यी क्षेत्रमा विद्युत् प्राधिकरण र पिआइडीले आ–आफ्ना कार्यका लागि सडक खनेका छन् । मन्त्री श्रेष्ठले अनुगमन गर्दै १५ दिनभित्र जस्ताको तस्तै पार्न निर्देशन दिएपछि सम्बन्धित निकायले चासो दिएका छैनन् । 

अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, क्षेत्रीय सडक प्रमुख, काठमाडौं डिभिजन प्रमुख, मेलम्ची आयोजना निर्देशक राजेन्द्र सापकोटा र केयुकेएलका प्रबन्ध–निर्देशकसमेत सरिक थिए । समस्याको समाधान गर्ने निकायका पदाधिकारी र कर्मचारीसहित मन्त्री श्रेष्ठ सडकका समस्या अनुगमन गर्न पुगे पनि उक्त समस्या ज्युँका त्युँ छ । 

 मुख्य सडकमै खाल्डाखुल्डी
उपत्यकाका मुख्य सडकमै धरापजस्ता खाल्डाखुल्डी छन् । चाबहिल, मित्रपार्क, बुढानीलकण्ठ, नयाँ बानेश्वर, पुरानो बानेश्वर, तिनकुने हुँदै थापाथली निस्किने बागमती करिडोर, धोबी खोला करिडोर, कलंकी, थापागाउँ, लाजिम्पाट, महाराजगन्ज, लैनचौर, ललितपुरको जावलाखेल, भैँसेपाटीलगायत स्थानमा सडक अस्तव्यस्त छ । अधिकांश ठाउँमा नेपाल विद्युत् प्राधिकरणले खाल्डाखुल्डी पारेको छ । विद्युत् तार भूमिगतका लागि खनेका खाल्डा प्राधिकरणले अलपत्र छाडेको छ । आफ्नो काम सकिएपछि पनि सडकका खाल्डा व्यवस्थित नगर्दा सर्वसाधारणलाई ओहोरदोहोरमा सास्ती हुने गरेको छ ।

पिआइडीको लापरबाहीले महाराजगन्ज, लाजिम्पाट सडक हिलाम्य हुने गरेको छ । यहाँ दुई महिनादेखि खानेपानीको पाइप फुटे पनि मर्मत हुन सकेको छैन । पिआइडीले व्यवस्थित तरिकारले पाइपलाइन नबिछ्याउँदा ठाउँ–ठाउँमा खानेपानी खेरसमेत जाने गरेको छ ।

पिआइडीका निर्देशक राजेन्द्र सापकोटा भन्छन्– हामीले थालेको काम व्यवस्थित गरेका छौँ । कतिपय संरचना निर्माण गर्दा समय लाग्ने भएकाले तुरुन्तै खाल्डा पुर्न सकिएन । 

पिआइडीका निर्देशन राजेन्द्र सापकोटाले आफूहरूले सुरु गरेको काम व्यवस्थित पारेको दाबी गरे । उनले जहाँ–जहाँ पाइप फुटेको छ, त्यहाँ–त्यहाँ पिआइडीको प्राविधिक टोली पुगेको बताए । तर, कतिपय संरचना निर्माण गर्दा समय लाग्ने भएकाले पनि केही ठाउँमा तुरुन्तै खाल्डा पुर्न नसकिएको उनको भनाइ छ । ‘अहिले प्राधिकरण र हाम्रो काम सँगसँगै भइरहेको छ, सबैतिर हामीले मात्रै बिगारेका पनि छैनौँ,’ उनले भने, ‘हामीले भत्काएर सडक बनाउँछौँ ।’ 

 दुई सय स्थानमा चुहिन्छ मेलम्चीको पानी 
उपत्यकामा दुई सयभन्दा बढी ठाउँमा मेलम्चीको पानी चुहिने गरेको छ । पिआइडीका अनुसार ओभरफ्लोका कारण कतिपय ठाउँमा पाइप चुहिने गरेको हो । हाल रिङरोडभित्रका भित्री सडकमा बढी पानी चुहिने समस्या छ । चाबहिल, महाँकाल, महाराजगन्ज, लाजिम्पाट, लैनचौर, ललितपुरको पाटनढोका, लगनखेललगायत स्थानमा पानी चुहिने गरेको छ । यसमध्ये सबैभन्दा बढी महाराजगन्ज–लाजिम्पाट सडकमा खानेपानी खेर जाने गरेको छ । कतिपय ठाउँमा केयुकेएलकै पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेकाले चुहिने समस्या देखिएको पिआइडीको दाबी छ । तर, उपत्यकामा अधिकांश क्षेत्रमा नयाँ पाइपलाइन अर्थात् मेलम्ची आयोजनाकै पाइपलाइनद्वारा पानी वितरण भइरहेको छ ।

यसअघि ट्यांकीमा पानीको मात्रा कम हुने गरेपछि मेलम्चीको पानी आएपछि पुग्दो मात्रामा छ । ट्यांकीभरिको पानी एकैसाथ पठाउँदा कतिपय ठाउँमा चुहिने समस्या देखिएको पिआइडीले जनाएको छ । उपत्यकाभित्र १० वटा रिजर्भ ट्यांकीबाट पानी वितरण हुन्छ । यी ट्यांकीमा मेलम्ची र उपत्यका आसपासका मूल मुहानमा ल्यायएको पानी जम्मा गरिन्छ । केयुकेएलले उपभोक्तालाई सातामा दुईपटकसम्म पानी वितरण गर्छ । तर, कतिपय ठाउँमा भने तीन–चारपटकसम्म पनि वितरण हुन्छ । 

ललितपुरमा दोहोर्‍याएर पाइप बिछ्याउँदा समस्यै–समस्या
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले ललितपुरको आवासीय क्षेत्रमा पाइप बिछ्याउँदा गल्ती गरेको पाइएको छ । रिङरोडभित्रका भित्री बस्ती तथा गल्लीहरूमा पाइप बिछ्याउँदा कनेक्सनमा गल्ती गरेकाले दोहोर्‍याएर पाइप बिछ्याइएको पिआइडीले जनाएको छ । यसो गर्दा सबैतिर भित्री सडक बिग्रिएको छ । ललितपुरमा हाल १९ ठाउँमा मेलम्चीको पाइप फुटेको छ । लगनखेल र पाटनढोकामा पाइप फुट्दा सडक नै अवरोध हुने गरेको छ ।

 तोकिएन समन्वय अधिकारी 
उपत्यकामा कुन निकायले के काम गर्दै छ र कहाँ–कहाँ काम भइरहेको छ भन्नेबारे समन्वय गर्न भौतिकमन्त्री श्रेष्ठले मातहत निकायलाई एक–एकजना समन्वय अधिकारी तोक्न निर्देशन दिए पनि अझै तोकिएको छैन । सडक विभाग, डिभिजन सडक कार्यालय, विद्युत् प्राधिकरण, काठमाडौं र ललितपुर महानगरपालिका, पिआइडीलगायत निकायलाई समन्वय अधिकारी तोक्न भनिए पनि ती निकायले बेवास्ता गरेका छन् ।

दुई साताअघिको बैठकमा मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका थिए । कहाँ–कहाँ काम भइरहेको छ रिपोर्टिङ गर्ने, आवश्यक सहयोगका लागि पहल गर्नेलगायतका काम प्रतिनिधि तथा समन्वय अधिकारी हो । ‘कुन निकायले कहाँ काम गर्दै छ, त्यसको जानकारी अन्य निकायलाई गराउनुपर्छ, त्यसका लागि एक–एकजना प्रतिनिधि राखौँ,’ छलफलमा मन्त्री श्रेष्ठले भनेका थिए, ‘यसो गर्दा सरकारी निकायबीचको ग्याप कम हुन्छ ।’