
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा आइतबार निधन भएको छ । निमोनियाबाट पीडित उनको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पिता जर्नेल लक्ष्मणशमशेर जबरा र माता विजयालक्ष्मीको कोखबाट सन् १९२८ जनवरी १० मा जन्मिएका राणाले भारतको मुम्बईस्थित स्कुल अफ इकोनोमिक्स एन्ड सोसिओेलोजीबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए ।
००७ सालको परिवर्तनपछि बनेको पहिलो संयुक्त सरकारमा अर्थमन्त्री बनेका सुवर्णशमशेर अर्थशास्त्रमा स्नातकोत्तर गरेका हिमालयशमशेरलाई पहिलो अर्थसचिव बनाएका थिए । त्यसपछि ०१२ सालमा नेपाल राष्ट्र बैंक स्थापना भएपछि उनी पहिलो गभर्नर बने । पहिलो नेपाली नोटमा उनकै हस्ताक्षर छ । १ पुस ०१७ को राजा महेन्द्रको ‘कु’लगत्तै उनी पनि गभर्नरबाट फालिए । त्यसपछि संयुक्त राष्ट्रसंघको जागिरे बनेर अमेरिका पुगे । त्यहाँबाट अवकाश पाएर स्वदेश फर्केपछि पनि हिमालयन बैंक स्थापना र सञ्चालनमै उनको समय बित्यो ।
जुन वेला ०१३ सालमा राष्ट्र बैंक खडा भयो, त्यसवेलामा नेपाल बैंक मात्र सञ्चालनमा थियो । त्यतिवेला, नेपालमा दुईवटा मुद्रा चलनचल्तीमा थिए । पहाड र उपत्यकामा नेपाली रुपैयाँ चल्थ्यो भने कैलालीदेखि झापासम्मको तराई भेगमा भारु मात्रै चल्थ्यो । सरकारले नै भारुलाई कानुनी मान्यता दिएको थियो । मालपोत पनि भारुमै उठाउने, सरकारी दस्तुर पनि भारुमै असुल गर्ने र खर्च पनि भारुमै गर्ने प्रचलन थियो ।
पहिलो गभर्नर भएका हिमालयले एउटा सार्वभौम मुलुकमा दुई देशको मुद्रा व्यावहारिक नभएको ठहर गर्दै तराईमा भारतीय मुद्रा विस्थापन गर्ने नीति लिए । उक्त समयमा नेरु र भारुको सटही काठमाडौंमा इन्द्रचोक, मखन, असनका दुई–चारजना सर्राफीले गर्थे ।
पेन्सन थापेर आएका इन्डियन लाहुरेहरूसँग सस्तोमा भारु किन्ने र साउन–भदौतिर दसैँका लागि मालसामान झिकाउँदा व्यापारीलाई त्यही भारु महँगोमा बेचेर सर्राफीहरूले कमाइ गर्थे । सर्राफीहरूले भारुको भाउ बढाउनेबित्तिकै नेपालमा सबै मालवस्तुको भाउ बढिहाल्थ्यो । यसो हुँदा भारु र नेपाली रुपैयाँको विनिमय दर स्थिर तोक्ने काम पनि उनैले गरे । पाँच वर्षको गभर्नरको कार्यअवधि हुने भए पनि उनले चार वर्ष आठ महिना मात्रै काम गर्न पाए । गभर्नर हुँदै राजा महेन्द्रले बहुदलीय प्रजातन्त्रमा आस्था राख्ने व्यक्ति भन्दै उनलाई पदमुक्त गरे । देवशमशेरका नाति भएकाले उनले जन्मिँदै कर्णेल उपाधि पाएका थिए । श्री ३ को रोलक्रममा उनी पनि थिए ।
‘संस्थापक गभर्नरको निधनबाट अर्थतन्त्रमा ठूलो क्षति’
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका संस्थापक गभर्नर हिमालयशमशेर राणाको निधनले मुलुकको अर्थतन्त्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । राणानिवास थापाथलीमा पुगी पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै गभर्नर अधिकारीले राणाको निधनले नेपालको अर्थतन्त्रमा निकै ठूलो क्षति भएको बताए । उनले भने, ‘समग्र अर्थतन्त्र र बैंकिङ क्षेत्रमा उहाँको निधनले ठूलो क्षति पुगेको छ, यो क्षेत्रले अभिभावक गुमाएको छ ।’
केन्द्रीय बैंकको सोच, आवश्यकता, स्थापना, दृष्टिकोण ल्याउने व्यक्तित्व राणाले मुलुकको आर्थिक क्षेत्रमा गरेको योगदान चर्चा गरेर नसकिने भन्दै अधिकारीले राणाले अर्थसचिवका साथै नेपालको प्रतिनिधिका रूपमा संयुक्त राष्ट्रसंघमा काम गरेको स्मरण गरे ।
देशको सार्वभौमसम्बन्धी महत्वपूर्ण मुद्दा सम्बोधनका लागि बैंक स्थापना गरी नेपाली एकल मुद्राको सञ्चालन गर्ने अभियानकै रूपमा संस्थापक राणाले ठूलो योगदान गरे । ‘ उहाँको प्रयासमा भारतीय मुद्रासँग नेपाली मुद्राको निर्धारण भएको सटही दर अहिले पनि कायम छ,’ गभर्नर अधिकारीले भने, ‘त्यसवेला नेपालमा भारतीय मुद्रा व्यापक रूपमा चलनचल्तीमा थियो, भारतीय मुद्रासँग नेपाली मुद्राको सटही दर कायम गर्ने ठूलो चुनौती थियो, सबै जनताको भावनालाई बुझेर तय गरेको उही दर हाल कायम छ ।’