मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ माघ २२ आइतबार १२:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सवारी दुर्घटना न्यूनीकरण गर्न नेपालगन्जमा स्लो बाइक प्रतियोगिता

Read Time : < 1 मिनेट
२०७९ माघ २२ आइतबार १२:०४:००

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना जगाउन नेपालगन्जमा शनिबार स्लो बाइक प्रतियोगिता गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा भएको प्रतियोगिताको उपाधि नेपालगन्जका सुरेन्द्र बुढा क्षेत्रीले जितेका छन् ।

निर्धारित सय मिटरको दूरी पाँच मिनेट १३ सेकेन्डमा पूरा गरेका बुढा क्षेत्रीले उपाधिसँगै १० हजार रुपैयाँ हात पारेका छन् । ३७ जनाको सहभागिता रहेको प्रतियोगितामा अंकित जयसवालले पाँच मिनेट सात सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भए । चार मिनेट ५३ सेकेन्डमा दूरी पार गरेका प्रदीप यादव तेस्रो तथा चार मिनेट ४८ सेकेन्डमा निर्धारित दूरी पार गरेर शिव तमौली चौथो भए ।

दोस्रो, तेस्रो र चौथो भएकाहरूले क्रमशः सात हजार, चार हजार र दुई हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

नेपालगन्जको न्युरोडमा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सवारी दुर्घटना न्यूनीकरण गर्न हरेक व्यक्तिको भूमिका उत्तिकै रहेको बताए । उनले सवारी सुरक्षा र ट्राफिक नियमको पालना गरे मात्र दुर्घटना न्यूनीकरण गर्न सकिने बताए ।

ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक ओमप्रसाद पौडेलले ट्राफिक नियमले आफू र अरूलाई सुरक्षित राख्न सकिने बताए । उनले ट्राफिक नियम पालना नगरेकै कारण अकालमा ज्यान जाने गरेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले तीव्र गतिमा सवारी चलाउने कार्यलाई निरुत्साहित गरी सवारी दुर्घटना न्यूनीकरण गर्न मद्दत गर्ने बताए ।