Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ माघ २० शुक्रबार १७:१३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्माण सकिएको ११ वर्षपछि भारतीय राजदूतद्वारा अस्पताल उद्घाटन 

Read Time : > 1 मिनेट
२०७९ माघ २० शुक्रबार १७:१३:००

सिराहाको धनगढीमाई नगरपालिका– ११ छपराढीमा निर्माण सम्पन्न भएको ११ वर्षपछि प्रसूति तथा बाल कल्याण अस्पतालको उद्घाटन गरिएको छ ।

भारतीय दूतावासको आर्थिक सहयोगमा निर्मित ५० शय्याको महेन्द्र गेनाई स्मृति प्रसूति तथा बालकल्याण अस्पतालको शुक्रबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बाेधन गर्दै राजदूत श्रीवास्तवले नेपाल भारतको नजिकको छिमेकी मुलुक भएकाले नेपालको सुखदुःखमा असल छिमेकीको नाताले साथ दिँदै आएकोे बताए ।

विशेषतः ग्रामीण क्षेत्रको शिक्षा तथा स्वास्थ्य सेवा सुधारका लागि दूतावास सहयोगका लागि सदैव तयार रहेको उल्लेख गर्दै उनले प्रसूति तथा बाल कल्याण अस्पताल त्यसैको उदाहरण भएको बताए । ‘महिला र बालबालिकाको स्वास्थ्यसँग सम्बन्धित सहयोगका लागि दूतावास जहिले पनि तयार छ,’ उनले भने ।

भवन र उपकरणमा दूतावासको पाँच करोड सहयोग
०६३ मा लहान नगरपालिका– २४ मलहन्माका महेन्द्र महतोको स्मृतिमा १० कट्ठा र धनगढीमाई– १ बाखरका गेनाई महतोको स्मृतिमा परिवारले एक बिघा जग्गा दान गरेपछि दूतावासको सहयोगमा ०६८ सालमा अस्पताल निर्माण भएको थियो ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र महतोका अनुसार त्यतिवेला दूतावासले दुईतले भवनका लागि साढे तीन करोड र भिडियो एक्स–रे, एक्स–रे, शल्यक्रियाका उपकरण र ५० थान बेडका लागि डेढ करोड रुपैयाँ उपलब्ध गराएको थियो ।

अस्पताल निर्माण सम्पन्न भएको तीन वर्षपछि ०७२ को भूकम्पको कारण देखाउँदै सहरी तथा भवन निर्माण विभागले मापदण्ड फेर्नुपर्ने भन्दै भवन स्वीकृत नगर्दा ढिलो भएको प्रशासकीय अधिकृत महतोले बताए । त्यसको चार वर्षपछि कोरोना महामारीमा अस्पताललाई आइसोलेसनको रूपमा प्रयोग गरिएपछि पनि ढिलो भएको उनले बताए । 

अस्पतालको विधिवत् उद्घाटनपछि न्यून सेवाशुल्क लिएर मुनाफारहित ढंगले सामुदायिक स्तरमा सञ्चालन गर्ने योजना रहेको बताइएको छ । गत १९ मंसिरदेखि क्लिनिकल सेवा सुचारु गरिएको अस्पतालमा धनगढीमाई नगर क्षेत्रका १४ वटा वडा, लहान १३ र २४ नम्बर वडासम्मका गर्भवती र विभिन्न स्वास्थ्य समस्या भएका बालबालिका उपचारका लागि दैनिक १५ देखि ५० जनासम्म आउने गरेको अस्पताल इन्चार्ज डा. दीपेन्द्र यादवले बताए । 

अस्पताल सञ्चालन गर्न दाताकै भर 
५० शय्या क्षमताको भए पनि आर्थिक अभाव हुँदा तत्काल स्थानीय सहृदयीहरूले गरेको आर्थिक सहयोगको भरमा चलिरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल सञ्चालक समितिका अनुसार क्लिनिकल सेवा थालनी भएपछि स्थानीय अशोक खड्काले दुई लाख, निको इन्स्योरेन्स, एनसिसी बैंक र अन्यले एक लाख गरी तीन लाख रुपैयाँ प्राप्त भएपछि एक चिकित्सक, एक स्वास्थ्य सहायक, दुई सिएमए र गार्डमार्फत सेवा सुचारु गरिएको हो । 

नगरपालिकाले तत्काल १५ शय्याको अस्पताल सञ्चालन स्वीकृतिको साथै एक थान कम्प्युटर र केही औषधि सहयोगस्वरूप उपलब्ध गराएको अस्पतालले जनाएको छ । तत्काल सञ्चालन खर्च मात्र धान्ने गरी न्यून शुल्कमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पताल प्रशासनले जनाएको छ ।