मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २० शुक्रबार ०७:०१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साफ यू–२० महिला च्याम्पियनसिप : बंगलादेशविरुद्ध खेल्दै नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २० शुक्रबार ०७:०१:००

साफ यू–२० महिला च्याम्पियनसिपको उद्घाटन खेलमा शुक्रबार नेपाल र बंगलादेश भिड्दै छन् । दुईपटकको विजेता बंगलादेशसँग खेल्दा प्रीति राईको कप्तानीमा रहेको नेपालले कडा चुनौती दिने अपेक्षा छ । राउन्ड रोबिनअनुसार हुने प्रतियोगिताको पहिलो दिन भारत र भुटानबीच पनि खेल हुनेछ ।

नेपालले ढाकाको वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्नेछ । २६ माघसम्म चल्ने प्रतियोगितामा आयोजक बंगलादेश, भारत, नेपाल र भुटानको सहभागिता छ । प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले आफ्नो दोस्रो खेल आइतबार भुटानसँग खेल्नेछ । मंगलबार समूह चरणको अन्तिम खेलमा नेपालले भारतको सामना गर्नेछ ।

राम्रो प्रदर्शन गर्ने विश्वास
नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले सुखद सुरुवात गर्ने बताएका छन् । ‘प्रतियोगिताका लागि हामीले सबै तयारी पूरा गरी मैदानमा प्रतिस्पर्धा गर्छौं,’ प्रशिक्षक गुरुङले भने । प्रतियोगितामा सहभागी सबै टोलीको स्तर एकै रहेको नेपाली प्रशिक्षक गुरुङले बताए । ‘हामी सहभागी सबै एकै स्तरका हौँ, बंगलादेशलाई घरेलु मैदानको फाइदा हुनेछ,’ उनले भने, ‘मलाई आशा छ, नेपालले राम्रो प्रदर्शन गर्नेछ ।’ 

गुरुङले प्रीतिको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका छन् । ३० सदस्यीय नेपाली टोली बुधबार ढाका पुगेको थियो । टोलीमा प्रीतिसहित दीपा शाही र अमिषा कार्कीले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । अधिकांश खेलाडी नेपालको यू–१७ र यू–१९ बाट खेलिसकेका छन् । यसैले पनि नेपाली टोलीको मनोबल उच्च छ । 

नेपालकी कप्तान प्रीति उत्कृष्ट खेल खेल्दै राम्रो नतिजा निकाल्न प्रयास गर्ने बताउँछिन् । यद्यपि, उनले विषक्षी टोली बंगलादेश बलियो रहेको बताइन् । ‘हाम्रो टोलीको तयारी राम्रो छ । हामी शतप्रतिशत राम्रो खेल्दै नतिजा आफ्नो पक्षमा पार्न चाहन्छौँ,’ उनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘घरेलु टोली भएकाले बंगलादेशलाई केही फाइदा पुग्नेछ । भारतको पनि राम्रो छ । भर्खरै फिफा यू–१७ विश्वकप खेलेको हुँदा उनीहरू आत्मविश्वासी छन् । भुटानले विगतका वर्षमा निकै प्रगति गरिरहेको छ ।’

नतिजा निकाल्ने प्रयास गर्छाैँ
प्रीति राई, कप्तान, नेपाल

हाम्रो टोलीको तयारी राम्रो छ । हामी शतप्रतिशत राम्रो खेल्दै नतिजा आफ्नो पक्षमा पार्न चाहन्छौँ । घरेलु टोली भएकाले बंगलादेशलाई केही फाइदा पुग्नेछ । भारतको पनि राम्रो छ । भर्खरै फिफा यू–१७ विश्वकप खेलेको हुँदा उनीहरूसँग आत्मविश्वास छ । भुटानले निकै प्रगति गरेको छ । 

एउटै स्तरका सबै टोली 
यम गुरुङ, प्रशिक्षक नेपाल

प्रतियोगिताका लागि हामीले सम्पूर्ण तयारी पूरा गरेका छौँ । हामी मैदानमा उत्रन तयार छौँ । सुखद सुरुवातको लक्ष्यमा छौँ । सहभागी सबै राष्ट्र समान स्तरका छन् । पक्कै आयोजक बंगलादेशले घरेलु मैदानको फाइदा उठाउनेछ । तर, मलाई विश्वास छ, नेपालले राम्रो प्रदर्शन गर्नेछ ।