मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ माघ १८ बुधबार १४:३०:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

शिवशिखर सहकारी : बुटवलमा ठगी, महेन्द्रनगरमा बबन्डर 

लगानी डुब्ने चिन्ताले सेयरधनी बचत रकम फिर्ता माग्दै 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ माघ १८ बुधबार १४:३०:००

कञ्चनपुर महेन्द्रनगरको शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा बबन्डर मच्चिएको छ। भीमदत्त नगरपालिका– ६ ऐठपुर महेन्द्रनगरमा रहेको शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा बबन्डर मच्चिएको हो। 

पूर्व–पश्चिम महेन्द्र राजमार्गसँगै जोडिएको शिवशिखर सहकारीमा रकम जम्मा गर्दै आएका ग्राहकले रकम फिर्ता मागिरहेका छन्। 

मंगलबार र बुधबार दुई दिन सहकारीमा बचतकर्ताको भिड छ। भक्तपुर केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले केही महिनादेखि महेन्द्रनगरमा सहकारीमार्फत गार्डेन मार्टसमेत सञ्चालन गरेको थियो।
 

दैनिक बचत, फिक्स बचतकर्तादेखि ठूलो रकम सेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता मागिरहेको बताएका छन्।  शिवशिखरकै बुटवल शाखामा बचतकर्तामाथि ठगी भएकाले विषय बाहिर आएपछि त्यसको प्रभाव कञ्चनपुरमा समेत परेको हो।
 
सहकारीको कार्यालय र मार्ट भएकै भवन कार्यालय क्षेत्रमा दिनभरि निक्षेप फिर्ता माग्ने ग्राहकको घुइँचो छ। सहकारीले दैनिक चल्ती खातामार्फत रकम संकलन गर्दै आएको थियो। 

भीमदत्त नगरपालिका– १८ महेन्द्रनगरका स्थानीय मनोज उप्रेतीले सहकारीमा राखिएको पैसा जोखिममा परेकोले फिर्ता माग्न आएको बताए। 

‘मैले दैनिक बचत गर्दै आएको थिएँ,’ उनले भने, ‘सहकारीमा राखिएको पैसा जोखिमा पर्न थाल्यो, त्यही भएर भएको २८ हजार ६ सय रुपैयाँ फिर्ता माग्न आएको हुँ।’ 

भीमदत्त नगरपालिका– १ भाँसीकी लक्ष्मी धामीले मासिक एक हजार तीन सय रुपैयाँ बचत गर्दै आएको बताइन्। ‘मैले यो सहकारी राम्रो भएको हुँदा माहिनावारी बचत गर्दै आएकी थिएँ,’ उनले भनिन्, ‘अहिले आएर ठगिनेजस्तो लाग्यो, त्यही भएर फिर्ता माग्न लागेकी छु।’ 

भाँसीकी अर्की बचतकर्ता धर्मादेवी शर्माले सहकारीमा रकम सुरक्षाका लागि राखे पनि जोखिमा पर्न थालेपछि फिर्ता लिन आएको बताइन्। ‘अब हामीलाई ब्याज चाहिँदैन,’ उनले भनिन्, ‘हाम्रो बचत भएको रकम फिर्ता गरिदिनुपर्‍याे।’ 

ग्राहकसमेत रहेका बुद्धिजीवी रामदत्त भट्टले सहकारीप्रति जनताको विश्वास गुमिरहेका वेला सहकारीले रकम फिर्ता गर्नुको विकल्प नभएको बताए। 

वाइसिएल भीमदत्त नगरका इन्चार्जसमेत रहेका कञ्चनपुरका युवा नेता तुलबहादुर थापा (मगर)ले सहकारीले जनताबाट संकलन गरेको रकम जम्मा वा अन्य क्षेत्रमा लगानी गरेको भए पनि फिर्ता गर्नुपर्ने बताए। उनले फसाउने उद्देश्यले ग्राहकबाट संकलन गरिएको रकम तुरुन्तै फिर्ता नभए आन्दोलनको चेतावनी दिए। 

भीमदत्त नगरपालिका– ६ ऐठपुरका स्थानीय जनादर्शन जोशीले बजारको हल्लाका कारण बचत रकम फिर्ता माग्न आएको बताए। लगातार दुई दिन सहकारी कार्यालयमा तनाव भएपछि मार्टको कारोबारमा समेत प्रभाव परेको छ।

यसरी सहकारीमा ग्राहक नै आन्दोलित भएपछि सहकारीप्रति नागरिकको विश्वास गुम्दै गएको छ। 

शिवशिखर बहुदेश्यीय सहकारी महेन्द्रनगर शाखा प्रमुख पुष्पराज जोशीले बुटवल शाखामा देखिएको समस्यालाई इंगित गरेर कुनै एक शाखामा आएको समस्या यस शाखामा समेत प्रभाव परेको बताए। 

‘सबै बचतकर्ताको मागअनुरूप क्रमिक रूपमा हामी रकम फिर्ता गर्छौँ,’ उनले भने, ‘हामी कुनै पनि ग्राहकलाई मारमा पार्दैनौँ, उसको बचत भएको रकम पाउनुपर्ने रकम फिर्ता गर्छाैँ ।’