
नबिल बैंकका ग्राहकलाई साओमी ब्रान्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ । नबिल बैंक लिमिटेड र साओमी नेपालबीच शून्य इएमआईसम्बन्धी सम्झौता भएको हो ।
सम्झौतामा नबिल बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र साओमी नेपाल, नेपाल प्रमुख अमितकुमार पन्डा, रमेश कर्पोरेसनका कार्यकारी निर्देशक सञ्जय अग्रवालले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नबिल बैंक ग्राहकले साओमी ब्रान्डका मोबाइल फोन, ल्यापटप र टेलिभिजन खरिद गर्दा इएमआईमा ब्याज लाग्नेछैन । यस्तो सुविधा तीन महिना र ६ महिनाका लागि उपलब्ध गराइएको नबिल बैंकले जनाएको छ ।
साओमी ब्रान्डको मोबाइल खरिद गर्दा शून्य प्रतिशत, ३० प्रतिशत अथवा ५० प्रतिशत डाउन पेमेन्ट गरी मोबाइल, टेलिभिजन अथवा ल्यापटप खरिद गर्न सक्नेछन् ।
त्यस्तै, मोबाइल, टेलिभिजन र ल्यापटपमा ५० प्रतिशतभन्दा कम डाउनपेमेन्ट गरेमा ब्याज नलागे पनि न्यूनतम सेवा शुल्क भने लाग्ने उल्लेख गरिएको छ । सुविधा लिन भने नबिल बैंक क्रेडिट कार्ड होल्डर हुनुपर्नेछ ।