
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले विद्यार्थीको सिकाइ उपलब्धिविना माथिल्लो कक्षामा चढिरहेको बताएका छन्।
शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)को अधिवेशनमा शिक्षामन्त्री खनालले शैक्षिक गुणस्तर निकै खस्कँदै गएकोमा चिन्ता व्यक्त गरेका हुन्।
सार्वजनिक विद्यालयमा कक्षा ८ मा पढेका कतिपय विद्यार्थीले आफ्नो नामसमेत राम्रोसँग लेख्न नसकेकोसमेत पाइएको र यो दुःखद भएको बताए।
‘शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको अध्ययनमा शैक्षिक गुणस्तर कमजोर भएको पाइएको छ,’ मन्त्री खनालले भने, ‘कोभिड–१९ यताको अवस्था झनै नाजुक छ।’
शैक्षिक गुणस्तर बढाउन सबै पक्षको उत्तिकै भूमिका हुने भएकाले सहयोगका लागि आग्रह गरे। उनले शैक्षिक गुणस्तर बढाउने, विद्यार्थीको पाठ्यपुस्तक, परीक्षा, नतिजालगायत प्रत्यक्ष सरोकार रहेका विषयमा सरकारको प्राथमिकता रहेको बताए।
उनले यससँगै संघीय शिक्षा ऐन ल्याएर अन्योलता हटाउने विषयसमेत प्राथमिकतामा रहेको बताए।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षाका विषयमा समेत सुधार गर्नुपर्ने देखिएको बताए। उनले विद्यार्थीको सर्टिफिकेसन महत्वपूर्ण पक्ष रहेको र यसलाई व्यवस्थित बनाउन बोर्ड लागेको बताए।