
प्रथम हुने महिला र पुरुषलाई जनही एक लाख एक हजार, दोस्रो स्थान हासिल गर्नेलाई ५१ हजार र तेस्रो हुनेलाई २५ हजार नगद पुरस्कारको व्यवस्था
नेपाल खेलकुद महासंघले महाधिवेशनको पूर्वसन्ध्यामा ‘केपी ओली रोड रेस’ प्रतियोगिताको आयोजना गर्ने भएको छ । खेलकुद महासंघले महाधिवेशनको सन्दर्भ पारेर पहिलो संस्करणअन्तर्गत ‘केपी ओली रोड रेस’ प्रतियोगिता गर्न लागेको हो । फागुन ७ गते बिहान हुने ‘केपी ओली रोड रेस’ प्रतियोगितामा हजारौँको सहभागिता रहने खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेतले जानकारी दिए ।
विराटनगरको सहिद रंगशालाबाट सुरु हुने रोड रेस प्रतियोगितामा प्रथम हुने महिला र पुरुषलाई जनही एक लाख एक हजार नगद पुरस्कारको व्यवस्था गरिएको महासंघका प्रवक्ता तीर्थबहादुर खड्काले बताए । त्यस्तै, रोड रेसमा दोस्रो स्थान हासिल गर्नेलाई ५१ हजार र तेस्रो हुनेलाई २५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।
महाधिवेशनको पूर्वसन्ध्यामा महासंघले ‘पुष्पलाल स्मृति ब्याडमिन्टन’ प्रतियोगितालगायत अरू विभिन्न खेल खेलाउने तयारी गरेको खेलकुद महासंघका प्रवक्ता खड्काले जानकारी दिए । महासंघले यस वर्षबाट सुरु गर्ने केपी ओली रोड रेस प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने जनाएको छ ।
नेपाल खेलकुद महासंघको यही फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा दोस्रो राष्ट्रिय महाधिवेशन हुँदै छ । महाधिवेशनको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।