
क्वार्टरफाइनलमा अप्रत्याशित नतिजा आउँदा शीर्ष पाँचपछिका खेलाडीहरूले उपाधिमाथि दाबेदारी दिए
दिनेश प्रजापति र रमेश अधिकारी सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्लेका उपाधिका लागि भिड्ने भएका छन् । रोयल नेपाल गल्फ क्लबमा बुधबार भएको सेमिफाइनलमा १३औँ वरीयताका रमेश अधिकारीले १०औँ वरीयताका भुवनकुमार रोक्कालाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका छन् । यसैगरी, अर्को सेमिफाइनलमा सातौँ वरीयताका दिनेश प्रजापतिले आठौँ वरीयताका धनबहादुर थापालाई २–१ ले नै निराश पार्दै रमेशसँगको उपाधि भिडन्त पक्का पारेका छन् । सूर्य नेपाल टुरमा करिअरकै पहिलो उपाधि जित्ने दाउमा रहेका दिनेश एक खेल टाढा रहेका छन् ।
दिनेश र रमेशले उपाधिका लागि बिहीबार ३६ होलको प्रतिस्पर्धा गर्नेछन् । धन र भुवनले तेस्रो स्थानका लागि १८ होलको खेल खेल्नेछन् । यसअघि क्वार्टरफाइनलमा अप्रत्याशित नतिजा आउँदा शीर्ष पाँचपछिका खेलाडीहरूले उपाधिमाथि दाबेदारी दिएका हुन् । नेपाल नम्बर एक खेलाडी शुक्रबहादुर राई, दोस्रो वरीयताका भुवन नगरकोटी, तेस्रो वरीयताका जयराम श्रेष्ठ र पाँचौँ वरीयताका रवि खड्का क्वार्टरफाइनलबाट बाहिरिएका थिए । शुक्रबहादुरमाथि १०औँ वरीयताका भुवनकुमार रोक्काले ३–१ ले स्तब्ध पारे ।
अर्को क्वार्टरफाइनलमा धनबहादुरले भुवनलाई ३–२ ले हराउँदै अन्तिम चारमा स्थान बनाएका थिए । यसैगरी, दिनेश प्रजापतिले तेस्रो वरीयताका जयराम श्रेष्ठलाई ३–२ ले हराए । पूर्व नम्बर एक खेलाडी रवि खड्कामाथि १३औँ वरीयताका रमेश अधिकारीले रोमाञ्चक जित निकाले । रमेशले पाँचौँ वरीयताका रविलाई ३–२ को नतिजामा पाखा लगाए । गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगितामा भाग लिने भए पनि चार खेलाडी देशबाहिर रहेकाले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन् ।
सूर्य नेपाल प्रालिको प्रायोजनमा पिजिए नेपालले आयोजना गरेको प्रतियोगिताको पुरस्कार धनराशि दुई लाख ५० हजार रुपैयाँ रहेको छ । विजेता खेलाडीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ४२ हजार पाउनेछन् । तेस्रो र चौथो हुने प्रोले क्रमशः ३२ हजार र २४ हजार प्राप्त गर्नेछन् । क्वार्टरफाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार प्राप्त गर्नेछन् । पहिलो चरणबाट बाहिरिने आठ खेलाडीले समान ६ हजार प्राप्त गर्नेछन् ।