मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ माघ ९ सोमबार ०७:५२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

त्रिभुवन विमानस्थलको ‘ट्राभलेटर’मा लडेर यात्रु हैरान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीले भने– अन्तर्राष्ट्रिय विमानस्थलको यात्रुु आगमन कक्ष व्यवस्थित गर्नुहोस्

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ माघ ९ सोमबार ०७:५२:००

अभिनेत्री उषा रजक गत साता बैंककबाट पाँच वर्षीया छोरीसँग राति पौने १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिइन् । ट्रलीमा तीनवटा ब्याग राखेर गुडाउँदै उनी आइएमएस समूहले सञ्चालन गरिरहेको आगमन कक्षतिर लागिन् । दुईवटा ठूला जहाजका यात्रुका कारण आगमन कक्षमा भिड थियो ।

नयाँ कक्षको एक तला झर्न तीनवटा लिफ्ट तथा एक–एक विद्युतीय भर्‍याङ ट्राभलेटर र एस्केलेटर राखिएका छन् । लिफ्टमा पालो कुर्न ढिला भए पनि उनी ट्राभलेटरबाट झरिन् । उनको एउटा हातमा छोरी र अर्को हातमा ट्रली थियो । विदेशतिर विमानस्थलको फ्लोरमा सीधा वहने ट्राभलेटर हुने भए पनि त्रिभुवन विमानस्थलमा ओरालो छ ।

सोही कारण ट्राभलेटरबाट झर्न खोज्दा ट्रली अड्किएर छोरीसँगै उनी लडिन् । भिरालो ट्राभलेटरबाट लडेपछि अगाडिका यात्रुहरू पनि लडे । ट्रलीले च्यापेपछि छोरी चिच्याइन् । छोरीलाई जोगाउन खोज्दा उनको खुट्टामा चोट लाग्यो । ‘अझै खुट्टामा निलडाम देखिन्छ, छोरीलाई धन्न जोगाउन सकेँ,’ उनले नयाँ पत्रिकासँग गुनासो पोख्दै भनिन्, ‘ठाउँ–ठाउँमा ट्रली अड्किने र दुर्घटना हुने भिरालो धराप बनाइएको रहेछ ।’

मध्यरातमा ट्राभलेटरबाट लडेर चोट लागेपछि आक्रोशित उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरिन् । भिडियोमा भनेकी छिन् । ‘वर्स डिजाइनिङ, यस्तो खतरनाक डिजाइन कसले गरेको हो ? धन्नै ज्यान लिएको थियो ...।’ साँघुरा लिफ्ट, ट्राभलेटरको डिजाइन र सेवाप्रदायकको सेवामाथि प्रश्न गर्दै उनले पोस्ट गरेको भिडियो भाइरल बन्यो ।

उनले पोस्ट गरेको भिडियो हेरेपछि अरूले पनि ट्राभलेटरबाट झर्दा घाइते भएको भिडियो ट्याग गरेका छन् । जहाँ यात्रुलाई ट्रलीले तानेर लड्न लागेको, कतिपय लडेको, कतिले साइडमा समातेर बल्लतल्ल ट्रली झरिरहेको, एउटा ट्रली दुई–तीनजनाले समाएर झारिरहेकोलगायत दृश्य देखिन्छन् । यस्तो दृश्य हरेक दिन नेपाल आउने स्वदेशी तथा विदेशी यात्रुले भोग्दै आइरहेका छन् । विदेशी पर्यटक भित्रिने ‘गेटवे’मै विद्युतीय भर्‍याङ धरापजस्तै बनाइएको भन्दै धेरै यात्रुले गुनासो गर्दै आइरहेका छन् । 

विमानस्थलको नयाँ आगमन कक्ष आइएमएस समूहले ३० वर्षसम्म सञ्चालन गर्ने गरी बनाएको हो । निर्माण कम्पनीले ट्राभलेटर राख्दा डिजाइनिङ नमिलेको त्रिभुवन विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले स्वीकार गरे । नयाँ आगमन कक्षलाई सीधै रिङरोडनजिक निस्कन मिल्ने गरी बनाइएको छ । भित्रभित्रै तल झर्नका लागि ओरालो बाटो र ओरालो नै ट्राभलेटर राखिएको छ । जहाँ यात्रुले ट्रली गुडाउँदै आउँदा समस्या भोग्दै आइरहेको उनले बताए । 

आगमन कक्षमा तीनवटा लिफ्ट, एउटा ट्राभलेटर, एउटा एस्केलेटर र एउटा आकस्मिक प्रयोगका लागि भर्‍याङ छ ।आइएमएसले ट्रली प्रयोगकर्ताका लागि तीनवटा लिफ्ट राखेको छ । तर, लिफ्टमा चार–चारजना मात्र अटाउँछन् । एकैपटक दुईवटा जहाजका यात्रु आउँदा लिफ्टले धान्दैन । लिफ्टमा यात्रु लाइन लागेपछि हतारमा रहेका यात्रुले ट्राभलेटर प्रयोग गर्न खोज्छन् । तर, त्यहाँबाट ट्रली झार्दा दुर्घटनामा पर्ने अवस्था रहेको रजकको गुनासो छ ।  

सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि विमानस्थल कार्यालयले बुधबार आगमन कक्षको अनुगमन गर्‍यो । बिहीबार नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पनि विमानस्थलको अवलोकन गरे । अनुगमनका क्रममा उनले आगमन कक्ष व्यवस्थित बनाउन निर्देशन दिएका छन् । यस्तै, उनले विमानस्थलको ट्वाइलेट सफा राख्न र यात्रु सेवा–सुविधा चुस्त बनाउन पनि निर्देशन दिए । 

‘हामीले पनि बुधबार आगमन कक्षमा पुगेर हेर्‍यौँ, ट्रलीमा दुई–तीन ब्यागेज राखेर ट्राभलेटर प्रयोग गर्दा समस्या आउने रहेछ,’ ठाकुरले भने, ‘हामीले ट्राभलेटरबाट ट्रली लैजान रोकेर लिफ्ट प्रयोग गर्न भनेका छौँ ।’ आइएमएसलाई पनि तत्कालै कम्तीमा आठजना यात्रु अटाउने ठूलो लिफ्ट थप्न भनेको उनले बताए । आइएमएसले आगमन कक्ष बनाउँदा सधैँ व्यस्त रहने विमानस्थलमा यात्रुको चापलाई ध्यान नदिएको देखिन्छ । 

विदेशबाट आउने यात्रुले दुई–तीनवटा लगेज ल्याउने गर्छन् । ट्रलीमा राखिएको माथिल्लो लगेज ट्राभलेटरमा लैजाँदा खस्ने गर्छ । यस्तै, र्‍यापिङ गरेर ल्याएको लगेज, ब्याग वा सामान पनि ट्रलीबाट खस्ने गरेको ठाकुरले बताए । उनले ठूला लगेजले भरिएको ट्रली लिफ्टबाट झार्न यात्रुलाई आग्रह गरे । 

‘जसको हातमा ट्रली छैन, एउटा लगेज मात्र छ, उसलाई ट्राभलेटरबाट जाँदा त्यति समस्या हुँदैन,’ ठाकुरले भने, ‘ट्रली प्रयोगकर्तालाई ट्राभलेटर प्रयोग गर्न नदिन भनेका छौँ ।’  अहिले भएका तीनवटा लिफ्टमा १२ जना अटाउँछन् । अर्को आठजना अटाउने लिफ्ट सञ्चालनमा ल्याए समस्या कम हुने ठाकुरको बुझाइ छ । ‘सबै यात्रुसँग ट्रली हुँदैन, ट्रली नहुनेहरूले ट्राभलेटर वा एस्केलेटर प्रयोग गर्न सक्छन्,’ उनले भने, ‘ट्रली हुने यात्रुहरू लिफ्टबाट झर्छन् ।’ 

विदेशका विमानस्थलमा एउटै तलामा सीधा ट्राभलेटर राखेको हुन्छ । दिल्लीको इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टमा पनि सीधा ट्राभलेटर राखिएको छ । तर, त्रिभुवन विमानस्थलमा माथिबाट तल झर्नुपर्ने भएकाले आइएमएस ग्रुपले ओरालो ट्राभलेटर बनाएको छ, जुन धरापजस्तै भएको यात्रुको आरोप छ । यसअघि आगमन कक्षभित्र यात्रुका आफन्त बस्दा चर्को शुल्क असुलेको र सवारीसाधन पार्किङ शुल्क पनि अत्यधिक धेरै लिएपछि आइएमएस विवादित बनेको थियो । 

‘आइएमएसले पनि यात्रुलाई राम्रै सेवा दिन ट्राभलेटर राख्यो होला, उसले सेवा दिन खोज्यो, तर ढंग पुर्‍याउन सकेन,’ आगमन कक्षका एक कर्मचारीले भने, ‘धेरै गुनासो आइरहेको छ, त्यो स्वाभाविक पनि हो, अब ठूलो लिफ्ट राखेर यात्रुलाई चुस्त सेवा दिनुपर्छ ।’ त्रिभुवन विमानस्थल कार्यालयले यात्रुको लाइन व्यवस्थापन, फरक क्षमता भएका, वृद्धवृद्धा तथा बिरामी यात्रुहरूको सहयोगका लागि सुरक्षाकर्मी राखेर सेवा दिइरहेको विज्ञप्तिमार्फत जनाएको छ । र, यात्रु सेवा र सुविधाको व्यवस्थापनमा कार्यालयले नियमित अनुगमनसमेत गरिरहेको जिकिर छ ।