2023-01-10-06-25-50.jpeg)
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा असाधारण समर्थन प्राप्त गरेका छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा दुई सांसद मात्र उनको विपक्षमा उभिए।
सभामा रहेका कुल १२ दल र तीन स्वतन्त्र सांसदमध्ये जनमोर्चा र नेमकिपाले मात्र विपक्षमा मतदान गरे।
२६८ सांसदको समर्थन पाएका प्रचण्डको काँधमा ऐतिहासिक जिम्मेवारी आएको छ। कांग्रेसका ८५, एमालेका ७९, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १३ (एक सभामुखको भूमिकामा रहेकाले मत दिन पाएनन्), जसपाका १२ सांसदले मत दिए ।
यस्तै, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४ तथा तीन स्वतन्त्र सांसदले पनि प्रचण्डलाई प्रधानमन्त्रीका रूपमा विश्वासको मत प्रदान गरे।
कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बन छन् भने कांग्रेसका तीनजना सांसद अम्बिका बस्नेत, मनोरमा शेरचन र किशोरसिंह राठोर अनुपस्थित रहे।
संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आज संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन्।
उनी गएको १० पुसमा सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सत्तागठबन्धन र सरकारमा सहभागी नभए पनि प्रचण्डलाई विश्वासको मत दिएको छ। कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप नै जारी गरेका थिए।