१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o६:५२:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विद्युतीय बसको सञ्चालन खर्च आठ गुणा सस्तो, तर भाडादर एउटै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:५२:oo

इन्धनबाट चल्ने सार्वजनिक बसको तुलनामा विद्युतीय बसको सञ्चालन खर्च करिब आठ गुणा सस्तो भए पनि यात्रुलाई लाग्ने भाडा भने उस्तै रहेको छ । इन्धनबाट चल्ने सवारीसाधनमा पेट्रोलियमको मूल्यमा भएको घटबढअनुसार भाडा पनि स्वचालित निर्धारण हुँदै आएको छ । तर, पेट्रोलियममा भएको मूल्य घटबढअनुसार नै विद्युतीय सार्वजनिक सवारीसाधनले पनि यात्रु भाडा तोक्ने गरेको छ । अहिले काठमाडौं उपत्यकामा १० किलोमिटरसम्मको भाडादर २० रुपैयाँ तोकिएको छ । विद्युतीय बसले पनि सोही दरअनुसार भाडा उठाउँदै आएका छन् । 

विद्युतीय बसमा प्रतिकिलोमिटर गुड्न करिब एक युुनिट चार्ज खपत हुने साझा यातायातका सञ्चालक समिति सदस्य तथा वातावरणविद् भूषण तुलाधरले बताए । यस्तो बसमा राति चार्ज गर्दा एक युुनिटको आठ रुपैयाँ मात्रै शुल्क लाग्छ । तर, पेट्रोलियम बसको प्रतिकिलोमिटर खर्च अहिलेको मूल्यअनुसार करिब ६० रुपैयाँ लाग्ने व्यवसायीहरू बताउँछन् । त्यसमाथि विद्युुतीय साधनलाई इन्धनमा चल्ने सवारीसाधनको जस्तो बढी कर पनि लाग्दैन । विद्युतीय ठूलो बसलाई सडक मर्मत करबापत २.५ प्रतिशत र साना गाडीलाई ५ प्रतिशतबाहेक अन्यमा कर लाग्दैन । 

त्यस्तै, विद्युतीय बस ल्याउँदा भन्सार दर १ प्रतिशत मात्रै छ । तर, डिजेलबाट चल्ने ठूलो बस (२६ सिट) ल्याउन ५ प्रतिशत भन्सार तिर्नुपर्छ । त्यस्तै, हरेक वर्ष गरिने सवारीसाधनको नवीकरण खर्च पनि विद्युतीयमा इन्धनको तुलनामा २५ प्रतिशत छुट छ । तर, निजी विद्युुतीय बस व्यवसायीहरू सार्वजनिक भाडा घटाउन तयार छैनन् । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषराज थापाले इन्धनबाट चल्ने बसको तुलनामा विद्युतीय बसको मूल्य झन्डै तेब्बर महँगो पर्ने हुुँदा भाडा घटाउन नसकिने बताउँछन् । उनका अनुसार विद्युतीय बसको मूूल्य करिब डेढ करोड पर्छ । तर, इन्धनबाट चल्ने गाडीको करिब ३५–४० लाख पर्छ । 

सोही कारण विद्युतीय बस सञ्चालन खर्च केही सस्तो देखिए पनि खरिद मूूल्यका कारण लगानी उठाउन सकस हुने उनको भनाइ छ । उनले भने, ‘१ प्रतिशत भन्सार करले पनि एक करोड ५० लाख गाडीको मूल्यअनुसार कर तिर्दा इन्धनबाट चल्ने गाडीको भन्दा बढी भन्सार हुन आउँछ, सरकारले सबै स्तरबाट सहुलियत दिएको खण्डमा मात्र भाडा घटाउन सकिन्छ ।’ सुन्दर यातायातको काठमाडौं उपत्यकामा सातवटा र भैरहवामा चारवटा सार्वजनिक बस सञ्चालनमा छन् । त्यसैगरी, लामो दूरीमा चल्ने काठमाडौं–जनकपुर–बर्दिवासको ६५ वटा विद्युतीय माइक्रो सञ्चालनमा छन् । त्यस्तै, साझा यातायातका तीनवटा उपत्यकाभित्र सञ्चालनमा छन् । ३७ वटा विद्युतीय बस सञ्चालनको तयारीमा छन् । 

विद्युतीय बस र इन्धनबाट चल्ने सवारीसाधनको भाडाको विषयमा स्पष्ट नतोकिएको बागमती प्रदेशअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव हरिहर पोखरेलले जानकारी दिए । ‘भाडाको विषयमा स्पष्ट तोकिएको छैन, त्यसका लागि मापदण्ड बनाउने छलफल भएको छ, तर ट्याक्सीको हकमा भने तोकिएको छ ।’ 

साझा यातायातका सञ्चालक सदस्य भूषण तुलाधरले सरकारले विद्युतीय सवारीसाधनमा सहुुलियत दिए मात्रै मूूल्य घटाउनेबारे सोच्न सकिने बताए । उनले भने, ‘भारतमा पनि सञ्चालन खर्च सस्तो भए पनि खरिद मूल्य महँगो छ, तर त्यहाँ बैंकले ५० प्रतिशत आफैँ लगानी गर्छ, करको दरदेखि अन्य सुविधा पनि छन् ।’ भारतमा जति सहुलियत पाए हामीले भाडाको विषयमा सोच्न सकिने उनको भनाइ छ ।

विद्युतीय गाडीमा लामो दूरीको हकमा चार्जिङ स्टेसन झन्झन्टको विषय रहेको उनले बताए । उनले भने, ‘हाइवेमा कतिपय ठाउँमा हाई इन्टेसन बत्ती छैन, त्यसका लागि आफ्नै लगानीमा एक किलोमिटरदेखि जोडेर ल्याउनुुपर्ने बाध्यता रहेको छ ।’ रातको समयमा चार्जिङ गरे आठदेखि ६ रुपैयाँ परे पनि दिउँसो ११ रुपैयाँ प्रतियुुनिट तिर्नुपर्ने अवस्था रहेको थापाले बताए । थापाले भने, ‘सरकारले दिनुुपर्ने सहुुलियत नदिने अनि भाडा घटाएन, नाफा मात्रै गर्‍यो भन्ने ? लागत, मर्मत खर्चलगायत पनि हेर्नुपर्ला नि !’

विद्युतीय सवारीसाधनले लिने अहिलेको भाडादर स्वाभाविक रहेको सार्वजनिक यातायातविज्ञ तथा ट्राफिक इन्जिनियर आशिष गजुुुरेल बताउँछन् । पेट्रोलियम बसको तुुलनामा सस्तो देखिए पनि सञ्चालन मूल्य महँगो पर्ने हुुँदा विद्युतीय बसले लिने भाडा स्वाभाविक भएको उनको भनाइ छ । सार्वजनिक बसले लिने भाडादरले अहिलेको अवस्थामै बस सञ्चालन गर्नै मुस्किल रहेको उनको जिकिर छ । उनले भने, ‘सार्वजनिक भाडाले मात्र नाफा हुुन्छ भन्ने संसारमा कतै पनि छैन, तर सञ्चालन मूूल्य सस्तो भए पनि खरिद मूूल्य महँगो हुुँदा अहिलेको भाडा लिनुु स्वाभाविक हो, बरु सरकारले भाडा घटाउने–बढाउनेभन्दा पनि विद्युुतीय सवारीसाधनलाई कसरी बढाउने भनेर सोच्नुुपर्छ ।’

नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार देशभर मिनीबस र ठूला बस गरेर करिब दुई लाख पेट्रोलियम बस सञ्चालनमा छन् । कोरोना भाइरसको समयपछि सार्वजनिक बस थप्ने अवस्था नरहेको उनले बताए । अहिले भएका व्यवसायीले पनि बैंकको कर्जा तिर्न नसकिरहेको अवस्था छ । पेट्रोलियम पदार्थको मूल्य पनि महँगो छ, अर्कोतर्फ टुटल–पठाओले सार्वजनिक बसका यात्रु त्यतातिर मोडिरहेको हुँदा भाडादरको कुरामा महँगो नभएको उनको दाबी छ ।

 

 

ad
ad