मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २१ बिहीबार १८:१७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सीमामा तस्करी नियन्त्रणलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीद्वारा व्यवसायीसँग छलफल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २१ बिहीबार १८:१७:००

सीमा क्षेत्रमा तस्करीलगायत अवैध गतिविधि रोक्नका लागि सशस्त्र प्रहरी बल नेपालले सरोकारवाला निकायसँग छलफल थालेको छ। बिहीबार मुख्यालय हलचोकमा जुत्ताचप्पल उत्पादक, बोटलर्स नेपाल, नेपाल चिनी उद्योग संघ, नेपाल पोल्ट्री महासंघ, नेपाल दाना उद्योग संघ, नेपाल ह्याचरी उत्पादक संघलगायतका प्रतिनिधिसँग सशस्त्र प्रहरी नेतृत्वले छलफल गरेको हो।

सीमा इलाकाबाट त्यस प्रकारका सामान तथा वस्तुको चोरीतस्करी नियन्त्रणको विषयमा छलफलकेन्द्रित रहेको सशस्त्र प्रहरी बलले जनाएको छ। कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सबै सरोकारवाला निकायसँग मिलेर काम गर्न आफूहरू तयार रहेको बताउँदै चोरीपैठारी नियन्त्रणमा संगठन प्रतिबद्ध भएको बताए।

छलफलका लागि मात्र छलफल नगरी समस्या पहिचानका साथ समाधानको निष्कर्षमा पुग्ने प्रयास रहेको उल्लेख गर्दै महानिरीक्षक अर्यालले एकल प्रयासले मात्र नियन्त्रण प्रभावकारी नहुने भएकोले सबैको सहकार्य र सहयोगमा मात्र परिणाम प्राप्त हुने बताए।

सीमामा अवैध कार्य रोक्न सीमा इलाकामा सबै पक्ष समेटेर कमिटी नै बनाई अघि बढ्ने उल्लेख गर्दै सशस्त्र प्रहरी बलले आफ्नो कार्यक्षेत्रमा कुनै पनि किसिमका अवैध गतिविधि गर्न नदिने नीति लिएको र त्यसलाई कडाइका साथ पालना गराउन सीमा क्षेत्रका युनिटहरूलाई निर्देशनसमेत दिइएको उनको भनाइ छ।

कार्यक्रममा उल्लेखित संघसंस्थाका प्रतिनिधिहरूले तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले उल्लेख्य कार्य गरिरहेको भए पनि देशका केही मुख्य नाकाबाट अवैध वस्तु भित्रन सक्ने भएकोले त्यस प्रकारका कार्यले राजस्वमा प्रत्यक्ष असर पर्ने र उद्योगधन्दा धराशयी हुने वा बन्द गर्ने अवस्था आउन सक्ने बताएका छन्।

कुखुराको मासु र अन्डामा मुलुक आत्मनिर्भर रहे पनि अवैध रूपले ती वस्तु मुलुक भित्रिएको खण्डमा उद्योग धराशयी हुने व्यवसायीको चिन्ता थियो। व्यवसायीहरूले अत्याधुनिक स्रोतसाधनसहित सीमा इलाकामा सशस्त्र प्रहरी बलको जनशक्तिलाई बढाउँदै लैजानुपर्ने धारणा व्यवसायीले राखेका छन्।

छलफल कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले सीमा हट लाइन नम्बर ९८५१२६०७३० को व्यवस्था गरिएको बताउँदै यस प्रकारका रिपोर्टिङ सीधै मुख्यालयलाई गर्न सक्ने व्यवस्था गरिएको हुँदा अवैध कार्य भएको थाहा भएमा तत्काल खबर गर्नसमेत व्यवसायीहरूलाई आग्रह गरे।

कार्यक्रममा मधेस प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडामगरले सीमानजिक पोल्ट्री फर्म र माछा पोखरी भएकोले अवैध रूपमा आएका त्यस प्रकारका वस्तुको नियन्त्रण प्रभावकारी हुन नसकेको बताए।

यसैगरी, प्रदेश नम्बर १ स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी र लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक विदुर खड्काले अवैध आयात हुन सक्ने नाकामा विशेष निगरानी भइरहेको र त्यसका लागि व्यवसायीसँग पनि सहकार्य गर्दै अघि बढ्ने बताएका छन्।

विगत केही दिनदेखि सीमा क्षेत्रका बाहिनीपतिहरूसँग त्यस क्षेत्रका समस्या र समाधानको उपायकाबारे मुख्यालयमा छलफल चलिरहेका वेला सरोकारवाला अन्य निकायहरूसँगसमेत समाधानको उपाय निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए। पुस १८ सम्मको अवधिमा सीमा इलाकामा सशस्त्र प्रहरी बलको सक्रियताको कारण अघिल्लो आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा यो आर्थिक वर्षमा ४० प्रतिशत बढी बरामदी दाखिला भएको छ।