मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ पौष १५ शुक्रबार ११:४४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विश्वकपमा कसले हासिल गर्‍यो ‘सफ्ट पावर’ ?

Read Time : > 2 मिनेट
२०७९ पौष १५ शुक्रबार ११:४४:००

कतारमा सम्पन्न फिफा पुरुष विश्वकपमा अर्जेन्टिनाले जितेको छ । लियोनेल मेस्सी र उनका सहकर्मी फ्रान्सविरुद्धको विजयमा हर्षित भइरहँदा ‘सफ्ट पावर’ (सौम्य शक्ति) को प्रतिस्पर्धा पनि समाप्त भएको छ । ‘सफ्ट पावर’ परराष्ट्र नीतिको एक संयन्त्र हो । यसले खेलकुद, फेसन र संगीतलगायत माध्यममार्फत विश्वव्यापी विचार र मनोवृत्तिलाई प्रभाव पार्छ । अर्बौं दर्शकमाझ ३२ राष्ट्रबीच प्रदर्शन भएको फिफा विश्वकप यथार्थमा ‘सफ्ट पावर’को सर्वोच्च मञ्च हो । 

प्रतियोगितामा तीन फरक प्रकारका सफ्ट पावर देखिएको थियो । पहिलो, ‘उत्कृष्ट’ सफ्ट पावर, जहाँ असाधारण प्रदर्शन हुन्छ र अत्यधिक प्रशंसा गरिन्छ । दोस्रो, ‘सुन्दर’ सफ्ट पावर, जसले आशा र सामुदायिक भावनालाई प्रोत्साहन गर्छ र अन्त्यमा ‘भद्र’ नरम शक्ति, जसले परोपकारी व्यवहार र सकारात्मक मनोवृत्तिलाई बढावा दिन्छ । यी तीन मानकलाई आधार मान्दै हामीले सफ्ट पावरको विश्वकप वरीयतामा निम्न मुलुकलाई सूचीकृत गरेका छौँ :

विजेता : फ्रान्स 
रुसमा सन् २०१८ को फिफा विश्वकप जितेर फ्रान्सले सफ्ट पावर वरीयतामा सुधार गरेको थियो । सन् २०२२ को उपलब्धिले देशको प्रतिष्ठा र छविमा थप सुधार भएको छ । फ्रान्सेली टोली ‘उत्कृष्ट’ सफ्ट पावरको अग्रणी उदाहरण हो । विविधतामा पनि एकजुट छवि प्रस्तुत गरेको टोलीसँग शैली एवं भव्यतासाथ भयंकर प्रतिद्वन्द्वीपन देखिएको थियो ।

सम्भवतः अहिलेको विश्वकै उत्कृष्ट खेलाडी किलियन एम्बाप्पे यो सफलताका सूत्रधार थिए । उनको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रान्सको सौम्य शक्तिको स्रोत हो, जसले फुटबल, फेसन र संगीतमिश्रित प्रभावशाली छवि बनाएको छ । गत वर्ष फ्रान्सेली राष्ट्रपति इम्यान्युएल म्याक्रोनले एम्बाप्पेलाई पिएसजी छोडेर रियल मेड्रिड नजान व्यक्तिगत तवरबाट आग्रह गरेका समाचार आएका थिए । म्याक्रोन विश्वव्यापी मामिलामा आकर्षण, शैली र आत्मविश्वासको आवश्यकतालाई बुझ्छन् । फ्रान्स सेमी–फाइनलमा प्रवेश गरेलगत्तै कतार पुगेका म्याक्रोनले त्यहाँका अमिरलाई भेटे । फाइनल खेल समाप्त हुँदा उनले बारम्बार एम्बाप्पेलाई सान्त्वना दिए ।

अर्बौं दर्शकमाझ ३२ राष्ट्रबीच प्रदर्शन भएको फिफा विश्वकप यथार्थमा ‘सफ्ट पावर’को सर्वोच्च मञ्च हो 

उपविजेता : दक्षिण कोरिया
‘सुन्दर’ सफ्ट पावर मा पारङ्गत दक्षिण कोरियाको छविमा दिनानुदिन सकारात्मक वृद्धि भइरहेको छ । यसमा सरकारी नीति र निजी क्षेत्रको उत्साहपूर्ण राष्ट्रप्रेम दुवैको उत्तिकै योगदान छ । प्रतियोगिताको उद्घाटन समारोहमा गायक जंग कुकको प्रस्तुतिपछिका दिनमा दक्षिण कोरियाले पहिलो खेल खेलेको थियो । कुक बिटिएस ब्यान्डका एक गायक हुन् र ब्यान्डको ‘के–वेभ वा कोरियन वेभ’ले सिनेमा, टेलिभिजन र संगीत क्षेत्रमा विश्वस्तरमा ध्यान खिच्दै आएको छ । बिटिएस ब्यान्डका जंग कुकको प्रस्तुतिमा फिफा विश्वकपको एक मुख्य प्रायोजक कोरियाली कार ब्रान्ड ह्युन्डाई–कियाको प्रोत्साहन पनि थियो ।

 आफ्नो सबैभन्दा प्रतिभाशाली खेलाडी टोटेनह्याम हटस्परका सन् ह्युङ मिन चोटबाट निको भएर विश्वकप खेल्न योग्य भएका कारण पनि कोरिया यसपटक भाग्यशाली थियो । कोरियालीको साहसी खेल शैली, प्रफुल्लित समर्थकले राष्ट्रको उत्साहलाई उत्कृष्ट रूपमा प्रकट गरेका थिए । यसले कोरियालाई २१औँ शताब्दीको लोकप्रिय संस्कृतिको एक प्रमुख शक्ति बनाएको थियो । 

तेस्रो स्थान : मोरोक्को 
प्रतियोगिताअघि शीर्ष २० भन्दा मुनिको वरीयता, महत्वपूर्ण प्रतियोगितामा खराब नतिजा र ठूला खेलाडी नभएकाले मोरोक्कोसँग खासै अपेक्षा थिएन । तर, यो विश्वकपमा मोरक्कोले मैदान र बाहिर दुवैतिर जित हासिल गरेको छ । खेलाडी र टोलीको आनन्दपूर्ण एवं भद्र खेलशैलीले महत्वपूर्ण सफ्ट पावर उत्पादन गरेको थियो । टोलीले पोर्चुगललाई हराएपछि मिडफिल्डर सोफियान बाउफलले आफ्नी आमासँग मैदानमा नाच्दा भएको परिवार र एकताको हृदयस्पर्शी प्रदर्शनले संसारभरका मानिसलाई छोएको थियो । पोर्चुगलसँगको जितपछि मोरोक्कोलाई धेरैले दोस्रो मन पर्ने टोली मानेका थिए । वास्तवमा अरब विश्वमा (मध्यपूर्व र उत्तर अफ्रिका) फुटबलमा मोरोक्कोजत्तिको उन्नति कसैले गरेका थिएनन् । यसबाहेक मोरोक्कोका खेलाडीले सार्वजनिक रूपमा गरेको प्यालेस्टाइनको समर्थनले अरब क्षेत्रका फुटबलप्रेमीलाई एक ठाउँमा ल्याएको थियो ।   

चौथो स्थान : जापान
जापानले कतारमा धेरै फुटबल प्रशंसक कमायो । सन् २०१८ को विश्वकपमा झैँ कैयौँ जापानी प्रशंसकले खेल हेरेका थिए र खेल सकिएपछि स्टेडियममा सरसफाइको जिम्मेवारी लिएका थिए । चेन्जिङ रुममा समेत सरसफाइ गरेको जापानी राष्ट्रिय टोलीले जापानलाई ‘भद्र’ सौम्य शक्तिको च्याम्पियन बनाएको थियो । वास्तवमा सरसफाइ जापानको राष्ट्रिय संस्कृति हो । जापानका लागि प्रतियोगिता जनहितमा मात्रै सीमित थिएन । जापानले युरोपका दुई शक्तिशाली फुटबल टोली जर्मनी र स्पेनलाई पराजित गरेको थियो ।  

  पाँचौँ स्थान : साउदी अरेबिया
साउदीलाई कमजोर ठानिएको थियो र ऊ समूह चरणमै बाहिरियो पनि तथापि समूह चरणमा साउदीले विश्वविजेता अर्जेन्टिनालाई हराएसँगै कैयौँको दिल जित्यो । साउदीको राजनीतिक व्यवस्थाबारे जायज चासो व्यक्त गरिने भए पनि कतारमा भएको प्रतियोगिताले साउदीको छविलाई सकारात्मक बनायो ।

छुटाउन नहुने : कतार 
कतारले विश्वकप आयोजना गर्ने दाबी गरेदेखि नै सफ्ट पावरको अभ्यास गर्ने लक्ष्य राखेको थियो । मित्रता कायम रहनु, हिंसा–हुलदंगा नहुनु र प्रशंसकको जीवन्त एवं सामूहिक बसाइले कतारको पक्षमा काम गरेको देखिन्छ ।
आगामी दिनमा कतार र यो विश्वकपलाई कसरी सम्झिइनेछ भन्नेले उसको वास्तविक परीक्षा देखाउनेछ । 
(च्याडविक स्केमा बिजिनेस स्कुलका खेलकुद एवं भूराजनीतिक अर्थशास्त्रका प्राध्यापक हुन् र विडोप म्यानचेस्टर विश्वविद्यालयका खेलकुद व्यापारका शोधकर्ता हुन्)  द कन्भर्सेसनबाट