
६० देखि ७० प्रतिशत एन्टिबायोटिक प्रभावहीन, ३५ वर्षयता नयाँ औषधि बन्न सकेन
एन्टिबायोटिकको गलत प्रयोगका कारण उपलब्ध एन्टिबायोटिकको प्रभावकारिता घट्दै गएको छ । ब्याक्टेरिया र फन्जाई संक्रमणको उपचारका लागि बनाइएका औषधिलाई पराजित गर्दे जीवाणुहरूले बलियो प्रतिरोधी क्षमता विकास गर्ने क्रम बढेसँगै एन्टिमाइक्रोबियल रेसिस्टेन्स अर्थात् एन्टिबायोटिक प्रभावहीन बन्दै गएको अध्ययनले देखाएका छन् ।
हालसम्म विश्वभर एक सय ३७ वटा एन्टिबायोटिक औषधि संक्रमणको उपचारमा प्रयोग भइरहेका छन् । झन्डै ६० देखि ७० प्रतिशत औषधिमा एएमआर अर्थात् एन्टिबायोटिक माइक्रोबियल रेसिस्टेन्स देखिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ । बढ्दो एन्टिबायोटिक माइक्रोबियल रेसिस्टेन्सका कारण उपलब्ध एन्टिबायोटिकले उपचारमा मल्टिड्रग थेरापी प्रयोग हुन थालेको छ । चिकित्सकहरूका अनुसार एउटै औषधिले रोगविरुद्ध काम गर्न छोडेपछि तीनदेखि चारवटासम्म औषधि मिश्रण गरेर प्रयोगमा ल्याउन थालिएको हो ।
विश्व स्वास्थ्य संगठनले साइलेन्ट प्यान्डेमिकको सूचीमा रहेको एन्टिबायोटिक माइक्रोबियल रेसिस्टेन्स ठूला १० वटा रोगमध्ये राखेको छ । डब्लुएचओको पछिल्लो तथ्यांकअनुसार विश्वभर एन्टिबायोटिक माइक्रोबियल रेसिस्टेन्सका कारण बर्सेनि १.२७ मिलियनको मृत्यु भइरहेको छ ।
एन्टिबायोटिकको गलत प्रयोगका कारण नेपालजस्ता विकासोन्मुख देशहरूमा बढी जोखिम निम्त्याइरहेको चिकित्सकहरू बताउँछन् । संक्रमणविद् डा. सन्तोष दुलालका अनुसार अनावश्यक औषधि प्रयोग हुँदा रेसिस्टेन्सको जोखिम बढेको हो । उनी भन्छन्, ‘विभिन्न अध्ययन हेर्दा नेपालमा झन्डै ५० प्रतिशत एन्टिबायोटिकको प्रयोग अनावश्यक अर्थात् स्वास्थ्य समस्या नभएकामा प्रयोग भइरहेको छ । जस्तै, सामान्य रुघाखोकी लाग्दा एन्टिबायोटिक आवश्यक हुँदैन, तर स्वास्थ्य परीक्षणविना अधिकतम औषधि प्रयोग गरिन्छ । साथै, औषधिको पूरा डोजसमेत नलिँदा यसले ब्याक्टेरियालाई थप बलियो बनाउन मजबुत गर्छ र एन्टिबायोटिक प्रभावहीन बन्न पुग्छ ।’
बढी संक्रमण गराउने १० वटा ब्याक्टेरियामा परीक्षण
नेपालमा एन्टिबायोटिकको प्रभावकारिता बढ्दै गएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सर्वेक्षणले देखाएको छ । ग्लोबल एन्टिमाइक्रोबियल रेसिस्टेन्स सर्भिलेन्स रणनीतिअनुसार हाल देशभरबाट संकलन गरेर १० वटा फरक अर्गानिज्म अर्थात् बढी संक्रमण गराउने ब्याक्टेरियाको स्थितिबारे गरिने परीक्षणले एन्टिबायोटिक रेसिस्टेन्स बढ्दै गएको देखाएको हो । राष्ट्रिय प्रयोगशालाका निर्दैशक डा. रुना झाका अनुसार हाल देशभर रहेका २३ वटा एन्टिमाइक्रोबियल सर्भिलेन्स साइटबाट संकलित डाटाका आधारमा विभिन्न १० वटा अर्गानिज्ममा परीक्षण भइरहेको हो ।
‘ग्लोबल एन्टिमाइक्रोबियल रेसिस्टेन्स सर्भिलेन्स रणनीतिअनुसार नेपालका पनि नियमित सर्भिलेन्स भइरहेको हो । परीक्षणमा रहेका अधिंकाशमा एन्टिमाइक्रोबियल रेसिस्टेन्स देखिने गरेको छ । पछिल्लो सर्वेक्षणले निमोनिया, म्यानेन्जाइटिस, घाउ र सर्जरीका घाउहरूमा हुने संक्रमण, ब्लडस्ट्रम संक्रमणजस्ता संक्रमण निम्त्याउने ‘क्लेबसियाला’ ब्याक्टेरियाको एन्टिबायोटिक र रगत, पिसाब, फोक्सो र घाउहरूमा इन्फेक्सन गराउने एसिनिटोब्याक्टर नामक ब्याक्टेरियाको एन्टिबायोटिकमा रेसिस्टेन्स देखिएको छ,’ उनले भने ।
नेपालमा एन्टिबायोटिकमा रेसिस्टेन्स अत्यधिक देखिएकाले एउटै रोगको उपचारका लागि चारवटासम्म एन्टिबायोटिक प्रयोग हुन थालेको छ । डा. झाका अनुसार मापदण्डअनुसार क्षयरोगमा मात्रै चारवटा एन्टिबायोटिक प्रयोग गर्न मिल्ने भए पनि चिकित्सकहरूले रोगको प्रकृति हेरेर अन्य संक्रमणमा समेत एउटै समयमा दुईवटासम्म एन्टिबायोटिक प्रयोग गरीरहेका छन् ।
३५ वर्षयता बनेको छैन नयाँ औषधि
समयअनुसार स्वरूप परिवर्तन गरिरहेका कारण ब्याक्टेरियाविरुद्धका औषधिहरू उत्पादन चुनौतीपूर्ण बन्दै गएको छ । क्लिनिकल ट्रायलका लागि वर्षौँ समय लाग्ने एन्टिबायोटिक औषधि ३५ वर्षयता नयाँ उत्पादन हुन सकेको छैन । सन् १९८७ मा ‘ड्याप्टोमाइसिन’ एन्टिबायोटिक अन्तिमपटक बनेको थियो । संक्रमणविद् डा. दुलालका अनुसार लिपोसेप्टाइट ब्याक्टेरियाअन्तर्गत पर्ने यो औषधिपश्चात् कुनै नयाँ औषधिले प्रयोगका लागि अनुमति पाएका छैनन् । उनी भन्छन्, ‘एकातिर ब्याक्टेरियामा निरन्तर जेनेटिक परिवर्तन भइरहँदा उपलब्ध एन्टिबायोटिकको प्रभावकारिता घटिरहेको छ भने अर्कोतिर वर्षौँसम्म नयाँ एन्टिबायोटिक उत्पादन भइरहेका छैनन् । जसले गर्दा औषधि, खाद्यवस्तु, वातावरणमा एन्टिमाइक्रोबियल अत्यधिक मात्रामा रहेका नेपालजस्ता देशहरूमा एन्टिबायोटिक रेसिस्टेन्स चुनौतीपूर्ण बन्दै गएको छ ।’
बेलायत सरकारको सहकार्यमा गरिएको एक अध्ययनले एन्टिबायोटिक औषधि प्रयोगमा सीमितता नल्याउने हो भने सन् २०५० सम्ममा प्रत्येक वर्ष कम्तीमा १० मिलियन व्यक्तिको मृत्यु एन्टिमाइक्रोबियल रेसिस्टेन्सका कारण हुने अनुमान गरिएको छ । तर, सन् २०२० मै एन्टिमाइक्रोबियलबाट बर्सेनि झन्डै ४९ लाख ५० हजार व्यक्तिको मृत्यु भइरहेको अनुमान गरिएकाले सन् २०३० मै यो संख्या १० बिलियनमा पुग्ने बताइएको छ ।
एन्टिमाइक्रोबियल रेसिस्टेन्सले आधुनिक औषधिलाई कमजोर बनाउँदै लगेकाले लाखौँ जीवनलाई जोखिममा पारिरहेको डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले बताएका छन् । डा. गेब्रेयसले भनेका छन्, ‘विश्वव्यापी खतराको हदलाई समयमै बुझेर माइक्रोबायोलोजी परीक्षण मापनमा जोड दिन नसकेमा भविष्यमा एएमआर अर्थात् एन्टिमाइक्रोबियल रेसिस्टेन्स सबैभन्दा ठूलो स्वास्थ्य चुनौती बन्ने निश्चित छ ।’
रि–कल्डमा पहिलो एन्टिबायोटिक
औषधि व्यवस्था विभागले बजारमा औषधि परीक्षणपश्चात् प्रभावहीन देखिएका फिर्ता ल्याउने औषधिमध्ये एन्टिबायोटिक पहिलो नम्बरमा छ । अर्थात् बजारमा गुणस्तरहीन देखिने औषधिमध्ये एन्टिबायोटिक अत्यधिक हुने गरेको हो । नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययनका अनुसार बजारबाट रेसिस्टेन्स देखिएपछि अत्यधिक एन्टिबायोटिक बजारबाट फिर्ता पठाउने गरिएको हो ।
औषधि व्यवस्था विभागले गुणस्तर मापनका आधारमा औषधि फिर्ता पठाउँदै आए पनि अधिकांश पर्याप्त सर्वेक्षण नहुँदा औषधिको अनावश्यक प्रयोग हुँदै आएको चिकित्सकहरू बताउँछन् । डा. दुलाल भन्छन्, ‘प्रेस्क्रिप्सनविना जथाभावी औषधि सेवन गर्दा वा औषधिको पूर्ण डोज प्रयोगमा नल्याउँदा एन्टिबायोटिकले ब्याक्टेरिया मार्नुको सट्टा ब्याक्टेरियाको प्रतिरोधी क्षमता बढाउँछ । जसले गर्दा प्रयोग हुँदै आएका एन्टिबायोटिकको प्रभाव घट्दै जान्छ ।’ एन्टिमाइक्रोबियल रेसिस्टेन्स कम गर्न परीक्षण बढाउनुपर्ने उनी बताउँछन् ।
तर, नेपालले सन् २०१५ विश्व स्वास्थ्य संगठनले ग्लोबल एक्सन प्लान अन एन्टिमाइक्रोबियल रेसिस्टेन्टसँगै ल्याएको नेसनल एक्सन प्लान अन एन्टिबाइक्रोबियल रेसिस्टेन्ट रणनीति हालसम्म लागू हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको गुणस्तर महाशाखा प्रमुख डा. मदन उपाध्याय एएमआर नेसनल एक्सन प्लान लागू हुने प्रक्रियामा रहेको बताउँछन् । उनी भन्छन्, ‘नेसनल एक्सन प्लान कस्टिङ वस्ट्रा–डिस्नरी प्लान भएकाले रायका लागि अर्थ मन्त्रालय पठाइएको छ । अर्थ मन्त्रालयको स्वीकृतिसँगै प्रक्रियामा रहेको पाँच वर्षीय रणनीति पास हुन्छ । रणनीति पास भएसँगै स्थानीय तहसम्म अस्पताल तथा ल्याबहरूमा एएमआर सर्वेक्षण गर्न सकिने मापदण्ड ल्याउने तयारी भइरहेको हो ।’ एएमआरको विषयमा जनचेतना बढाउने, तालिम सञ्चालनमा ल्याउने र केही अस्पतालमा सर्भिलेन्सका लागि विज्ञहरूको समितिले समेत काम गर्दै आएको र त्यही आधारमा देशभर सर्भिलेन्स सेवा विस्तार गरिने डा. उपाध्याय बताउँछन् ।
एन्टिबायोटिकमा ब्याक्टेरियाको रेसिस्टेन्स देखिएको छ : डा. रुना झा, निर्देशक, राष्ट्रिय प्रयोगशाला
ग्लोबल एन्टिमाइक्रोबियल रेसिस्टेन्स सर्भिलेन्स रणनीतिअनुसार नेपालमा पनि नियमित सर्भिलेन्स भइरहेको छ । परीक्षणमा रहेका अधिकाँशमा एन्टिमाइक्रोबियल रेसिस्टेन्स देखिने गरेको छ ।
पछिल्लो सर्वेक्षणले निमोनिया, म्यानेन्जाइटिस, घाउ र सर्जरीका घाउहरूमा हुने संक्रमण, ब्लडस्ट्रम संक्रमणजस्ता संक्रमण निम्त्याउने ‘क्लेबसियाला’ ब्याक्टेरियाको एन्टिबायोटिक र रगत, पिसाब, फोक्सो र घाउहरूमा इन्फेक्सन गराउने एसिनिटोब्याक्टर नामक ब्याक्टेरियाको एन्टिबायोटिकमा रेसिस्टेन्स देखिएको छ ।
रेसिस्टेन्सको जोखिम बढ्दो छ : डा. सन्तोष दुलाल, संक्रमणविद्
विभिन्न अध्ययन हेर्दा नेपालमा झन्डै ५० प्रतिशत एन्टिबायोटिकको प्रयोग अनावश्यक देखिन्छ । स्वास्थ्य समस्या नभएकामा पनि प्रयोग भइरहेको छ ।
जस्तै, सामान्य रुघाखोकी लाग्दा एन्टिबायोटिक आवश्यक हुँदैन, तर स्वास्थ्य परीक्षणविना अधिकतम औषधि प्रयोग गरिन्छ ।
साथै, औषधिको पूरा डोजसमेत नलिँदा यसले ब्याक्टेरियालाई थप बलियो बनाउन मजबुत गर्छ र एन्टिबायोटिक प्रभावहीन बन्न पुग्छ ।