१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार ११:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

दिक्तेल–गाईघाट सडक कालोपत्रेको ठेक्का तोडियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:४७:oo

सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडकखण्डको दुईवटा प्याकेज (खण्ड) कालोपत्रेको ठेक्का तोडिएको छ। ठेकेदार कम्पनीको लापरबाहीका कारण वर्षौँदेखि काम अलपत्र परेपछि खोटाङको फोक्सिङटार–सिम्पानी र उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का तोडिएको हो।

करिब रु ५५ करोड ८७ लाख लागतमा ०७७ साउन १० गतेभित्र सक्ने गरी ०७३ साउन ११ गते सम्झौता गरेपनि कालोपत्रेको काम अपूरै राखेकाले ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए। उनका अनुसार खोटाङको फोक्सिङटार–सिम्पानी (२६ किलोमिटर) कालोपत्रेको काम ठेक्का लिएको निर्माण कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीसँगको ठेक्का सम्झौता तोडिएको हो।

त्यस्तै, उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का सम्झौता पनि तोडिएको छ। मैनाचुली–सिद्धिसाइ प्रकाश जेभीले करिब रु ११ करोड १७ लाखको लागतमा ०७८ चैत २८ गते कालोपत्रे सम्पन्न गर्नेगरी ०७५ भदौ १४ गते ठेक्का सम्झौता गरेको थियो। कालोपत्रेका लागि ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गरेपनि बेवास्ता गरेकाले ठेक्का तोडिएको योजना प्रमुख खकुरेलले बताए। गाईघाट–दिक्तेल सडकअन्तरगतकै सिम्पानी–माहुरे (२३ किलोमिटर) सडकखण्डको कालोपत्रे गर्ने काममा पनि ठेकेदार कम्पनीले ढिलासुस्ती गरेको स्थानीय बासिन्दाले बताएका छन्। 

करिब रु ४६ करोड ८७ लाख लागतमा ०७७ असार २९ गते कालोपत्रे सम्पन्न गर्नेगरी ०७३ असार २० गते सम्झौता भएको थियो। उक्त योजनाको फेरि आगामी असार मसान्तसम्ममा म्याद थपिएको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले बताए। सडक कालोपत्रको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तरहीन भएको र सडकमा कार्यरत कामदारले वर्षौँसम्म पारिश्रमिक नपाएको विरोधमा स्थानीय बासिन्दाले  ०७६ पुस २० गतेदेखि एक महिना सडकको काम ठप्प बनाएका थिए। उक्त सडक कालोपत्रको काममा सहभागी स्थानीय कामदारले अझै पनि पारिश्रमिक तथा होटल र पसलको भुक्तानी पाउन बाँकी रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले बताएका छन्।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो सडक कालोपत्रको ठेक्का तोडिएपछि निर्माणाधीन सडक अलपत्र परेको छ। तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले ०५१ सालमा शिलान्यास गरेका दिक्तेल–गाईघाट सडक निर्माण गरेको २८ वर्षसम्म पनि कालोपत्र नहुँदा हिउँदको समयमा करिब छ महिनामात्र सञ्चालन हुँदै आएको छ।

दिक्तेल–गाईघाट १४२ किलोमिटर सडकमध्ये १०१ किलोमिटर सडकखण्ड कालोपत्र गर्नका लागि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ०७३ सालमा रु दुई अर्ब ६८ करोड बजेट विनियोजन गरेका थिए। ठेकेदार कम्पनीले अलपत्र पारेको उक्त सडक कहिले, कसले कालोपत्र सम्पन्न गर्ने भन्ने अन्यौल सिर्जना भएको छ।

दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोसीमा निर्माणाधीन पक्की पुल भने बिहीबारबाट सञ्चालनमा ल्याइएको छ। फोक्सिङटारमा मोटरेबल पक्की पुल सञ्चालनमा आए पनि निर्माणाधीन सडकको काम पूरा हुने अवस्था छैन।

ad
ad