मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ७ बिहीबार ०८:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रसंघको ‘पिस बिल्डिङ कमिसन’ सदस्यमा नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ७ बिहीबार ०८:०७:००

राष्ट्रसंघीय मिसनमा सबैभन्दा धेरै सैनिक र प्रहरी पठाउने देशको सूचीबाट नेपाल पिबिसीमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय पिस बिल्डिङ कमिसन (पिबिसी)को सदस्यमा निर्वाचित भएको छ । राष्ट्रसंघीय महासभाको ५६औँ प्लेनरी बैठकमा नेपाल आगामी १ जनवरीदेखि लागू हुने गरी दुई वर्षका लागि पिबिसीको सदस्य निर्वाचित भएको हो । 

नेपालले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा हाल ६ हजारभन्दा बढी सैनिक खटाएको छ । ‘पिबिसीमा नेपाल निर्वाचित हुनुले विश्वमा नेपाललाई शान्ति स्थापक र शान्ति योगदानकर्ता मुलुकका रूपमा देखिने अवसर प्रदान गर्नेछ,’ न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पिबिसीमा नेपालसहित भारत, बंगलादेश, इथियोपिया र रुवान्डा पनि सदस्य निर्वाचित भएका छन् । राष्ट्रसंघीय मिसनमा सबैभन्दा धेरै सैनिक र प्रहरी पठाउने देशको सूचीबाट नेपाल पिबिसीमा निर्वाचित भएको हो । शान्ति स्थापक मिसनमा सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने १० मुलुकमध्येबाट पिबिसीमा पाँच मुलुक सदस्य हुने प्रावधान रहेको नेपाली नियोगले जनाएको छ । 

शान्ति मिसनमा सबैभन्दा धेरै सेना र प्रहरी पठाउने दोस्रो सूचीमा नेपाल छ । नेपालसँग शान्ति स्थापक मिसनमा काम गरेको ६ दशकभन्दा लामो अनुभव छ । यसबाहेक नेपालको शान्ति प्रक्रियाको घरेलु अभ्यासले पनि पिबिसीमा नेपाललाई योगदान पुर्‍याउन सहज हुने नेपालको विश्वास छ । यसअघि नेपालले पिबिसीमा तीनपटक योगदान दिइसकेको छ । सुरुमा सन् २००९ र २०१०, त्यसपछि २०११ देखि २०१५ र सन् २०१९ देखि २० सम्म नेपालले सांगठनिक समितिको सदस्यको भूमिका निर्वाह गरेको छ । यसका अतिरिक्त नेपालले सन् २०१० मा पिबिसीको एउटा कार्यसमूहको अध्यक्षता पनि गरिसकेको छ ।

सन् २००५ मा पिबिसी स्थापना भएको थियो । आयोगमा ३१ सदस्यीय कार्यसमिति छ । द्वन्द्व प्रभावित देशहरूमा शान्ति प्रयासलाई समर्थन गर्ने जनादेशको साथ यसको स्थापना भएको थियो । पिबिसीले द्वन्द्व प्रभावित मुलुकको पुनर्निर्माण र संस्था निर्माणको उद्देश्य राखेको थियो । पिबिसीले शान्ति निर्माण र दिगो शान्तिका मामिलामा संयुक्त राष्ट्रसंघ महासभा र सुरक्षा परिषद्लाई सल्लाह पनि दिँदै आएको छ ।

युएन मिसनमा ६ हजार १६ सैनिक
राष्ट्रसंघको आह्वानमा नेपाली सेनाको शान्ति स्थापना कार्यको इतिहासमै पहिलोपटक ६ हजारभन्दा बढी नेपाली सेनाका फौज शान्ति मिसनमा तैनाथ भएका छन् । यो नेपाली सेनाको अहिलेसम्मकै ठूलो संख्या हो ।

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा २७ मंसिरमा लाइट इन्फेन्ट्री बटालियनको अन्तिम डफ्फामा रहेका दुई सय दुईजना शान्ति सैनिकको तैनाथीसँगै शान्ति मिसनहरूमा नेपाली सेनाको तैनाथी संख्या ६ हजार १६ पुगेको सेनाले जनाएको छ । सन् १९५५ मा नेपालले राष्ट्रसंघको सदस्यता प्राप्त गरेपछि संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९५८ मा पाँचजना सैन्य पर्यवेक्षक लेबनानमा तैनाथ गरेसँगै सुरु भएको नेपाली सेनाको शान्ति मिसनको यात्राले ६ दशकभन्दा बढीको समयावधि पूरा गरिसकेको छ ।

‘शान्ति मिसनहरूको यस गर्विलो यात्रामा सन् १९७४ मा इजिप्टमा पहिलो नेपाली सैनिक कन्टिजेन्टका रूपमा पुरानो गोरख गण सहभागी भएको थियो भने हालसम्म नेपाली सेनाले ४४ वटा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा सहभागिता जनाइसकेको छ,’ सेनाले विज्ञप्तिमा जनाएको छ । यसक्रममा नेपाली सेनाका एक लाख ४२ हजार पाँच सय ८५ जना सैनिक शान्ति मिसनमा सहभागी भइसकेका छन्, जसमा एक हजार नौ सय ८२ जना महिला सैनिकसमेत समावेश छन् ।