Skip This
टरिगाउँ विमानस्थलमा अब हप्तामा पाँच दिन उडान 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ३ आइतबार
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
२o७९ पौष ३ आइतबार ११:३७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

टरिगाउँ विमानस्थलमा अब हप्तामा पाँच दिन उडान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ३ आइतबार ११:३७:oo

दाङको तुलसीपुर– १२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको पाँच दिन उडान हुने भएको छ। यसअघि यहाँ बिहीबार, शुक्रबार र शनिबार हप्ताको तीन दिन मात्रै उडान हुने गरेको थियो।

हवाई इन्धन डिपोबाट ‘रिफ्युल’ गर्न थालेपछि आइतबार र मंगलबार उडान थप गरिएको तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले बताइन्। ‘यसअघि इन्धन डिपोबाट इन्धन हाल्न पनि सुरु भएको थिएन। अब यहीँबाट इन्धन हाल्न थालिएको छ,’ उनले भनिन्, ‘त्यसैले अहिले हप्तामा पाँच दिन उडान सुरु गरिएको छ।’ यात्रुहरूको चाप बढेमा प्रत्येक दिन हवाई उडान भर्ने गरी तयारी गरेकोसमेत उनले बताइन्।

साथै निजी हवाई सेवासँग पनि समन्वय गर्ने तयारी रहेको उपप्रमुख चौधरीको भनाइ छ। ‘नियमित भएमा हामीले नीजि क्षेत्रका प्लेन ल्याउने तयारी गरिरहेका छौँ,’ उनले भनिन्, ‘यात्रुहरूको माग कस्तो आउँछ, त्यसमा भर पर्छ।’ केही दिनअघिदेखि विमानस्थलमा रहेको डिपोबाट इन्धन भर्न थालिएको छ। अहिले नेपाल वायुसेवा निगमको १९ सिटे टुईनेटर जहाजले सेवा दिइरहेको छ।

कुनै समय दैनिक दुईवटासम्म उडान भर्ने गरिएको भए पनि पछिल्लो समय हवाई सेवा घटेर तीन दिन मात्रै भएको थियो। जसले गर्दा यस क्षेत्रबाट हवाई सेवाका लागि भैरहवा र नेपालगन्ज जानुपर्ने बाध्यता थियो। अब यसलाई अन्त्य गर्न थप दुई दिन हवाई सेवा थप गरिएको छ।

धावनमार्ग विस्तारको पहल 
विमानस्थलको धावनमार्ग विस्तारका लागि प्रक्रिया अघि बढेको छ। अहिले धावनमार्ग ७५० मिटर लम्बाइको रहेको भन्दै यसलाई बढाउन इन्जिनियरको टोली आएकोसमेत उपप्रमुख चौधरीले बताइन्। ‘इन्जिनियर आएर डिपिआरका लागि सबै हेरेर गइसकेको छ,’ उनले भनिन्।

एयरपोर्ट विस्तारका लागि पहल गर्न तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख चौधरीको नेतृत्वमा समिति गठन गरेको छ। सोही समितिले अहिले आफ्ना गतिविधि अघि बढाएको छ।