
कांग्रेस संस्थापन पक्षले सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताका रूपमा अगाडि सारे पनि संस्थापनइतर समूह अझै अलमलमै छ । इतर समूहको आधिकारिक उम्मेदवारबारे आकांक्षीबीच सहमति बनिसकेको छैन ।
नेता डा. डा. शेखर कोइराला र महामन्त्री गगन थापा आकांक्षी छन् । महामन्त्री थापाले तयारीलाई निरन्तरता दिँदै सांसदहरूसँग भेटघाट गर्दै आफूलाई समर्थन गर्न आग्रह गरिरहेका छन् । कोइराला पनि सांसदहरूसँग छलफलमा छन् ।
दुई नेतालाई मिलाउन डा. चन्द्र भण्डारी, डा. गोविन्द पोखरेल, डा. स्वर्णिम वाग्ले, पुरञ्जन आचार्य, गुरुराज घिमिरे र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलगायतका नेता सक्रिय छन् । तर, कोइराला र पदाधिकारी तहमा रहेका नेता नै मौन रहँदा एकजना मात्र अघि सार्ने प्रयासले पनि सार्थकता पाउन सकेको छैन ।
केन्द्रीय सदस्य डा. पोखरेल सहमतिमै उम्मेदवार बनाउनेबारे आफूहरू प्रयासरत रहेको बताउँछन् । ‘हामी दुवै नेतासँग छलफल गरिरहेका छौँ । इतरबाट एकजना मात्र अघि सार्ने प्रयास अन्तिमसम्म रहन्छ,’ उनले भने । नेता अर्जुननरसिंह केसी आफू पार्टीमा सर्वसम्मत नेता चयन हुनुपर्छ भन्नेमा लागेको बताउँछन् । ‘हामी त नेता सर्वसम्मत हुनुपर्छ भनेर लागिरहेका छौँ, अहिले नै कसलाई उठाउने भन्ने या समर्थन गर्ने भन्ने भइसकेको छैन,’ उनी भन्छन् ।
थापालाई महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गर्ने बताएपछिको अवस्थामा सभापति देउवासमेत ढुक्क छैनन् । सभापति देउवाले पनि इतर समूहका सांसदलाई आफैँ भेटेर वा आफ्ना विश्वासपात्रमार्फत छलफल गरिरहेका छन् ।