१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हिप्पोलाइट फोफाक
२०७९ मङ्सिर २८ बुधबार १०:२५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अफ्रिका : खाद्य सुरक्षा नै राष्ट्रिय सुरक्षा

Read Time : > 2 मिनेट
हिप्पोलाइट फोफाक
२०७९ मङ्सिर २८ बुधबार १०:२५:००

विश्वको ६० प्रतिशत बन्जर जमिन भए पनि अफ्रिकाले आयातका तुलनामा विश्वमै सबैभन्दा बढी खाद्यान्न निर्यात गर्छ । तर, खाद्यान्नको अत्यधिक मूल्यवृद्धि हुँदा र डलरको भाउ बढिरहँदा अफ्रिकामा पनि खाद्यान्नको मूल्य बढ्दो छ, जसले अफ्रिकी मुलुकको आर्थिक वृद्धि, ऋण दिगोपना र राजनीतिक स्थायित्वमा गम्भीर असर पारिरहेको छ ।

ब्रुकिङ्स इन्स्टिच्युसनका अनुसार अफ्रिकाले सन् २०१९ मा करिब ४३ अर्ब डलरबराबरको खाद्यान्न आयात गरेको थियो । हालैको प्रक्षेपणले खाद्यान्न आयातको उल्लिखित आँकडामा धेरै बढोत्तरी हुन सक्ने देखाएको छ ।

अमेरिकाको फेडरल रिजर्भले ब्याजदर बढाउँदा डलरको मूल्य आकासिएको छ, जसले अफ्रिकी मुलुकको विदेशी–सञ्चिति मुद्रा रित्याउँदै लागेको छ, नतिजा ऋण सेवा लागत बढ्दो छ । यसले अन्ततः महादेश नै टाट उल्टिन सक्छ । यसबाहेक कोभिड–१९ महामारी र युक्रेन युद्धले आपूर्ति–शृंखलामा अवरोध उत्पन्न गराएको छ, जसले आयातीत खाद्यान्नमा अफ्रिकाको निर्भरताको सम्भावित प्रभावलाई उजागर गरेको छ । आखिर खाद्य सुरक्षा नै राष्ट्रिय सुरक्षा हो । 

हालैको अढाई वर्षमा आपूर्ति शृंखला अवरोध र संरक्षणवादी नीतिले अफ्रिकी महादेशका देशलाई अत्यावश्यक कृषि वस्तु हासिल गर्न गाह्रो बनाएको छ । नतिजा, आकाशै छुने मूल्यवृद्धि निम्तिएको छ । सिकागो बोर्ड अफ ट्रेडमा गहुँको बुसेल (२५ दशमलव चार केजी मात्रा) मूल्य यो वर्षको सुरुवातमा कीर्तिमानी अर्थात् १४ दशमलव २५ डलर पुगेको थियो । यो मूल्य डिसेम्बर २०२१को प्रतिबुसेल मूल्यभन्दा दुई गुणाले बढी हो । मलखादको मूल्य पनि तेजीसाथ बढिरहेको छ, अर्थात् मूल्य प्रत्येक वर्ष दुई गुणाले बढिरहेको छ । विश्व व्यापार संगठन (डब्लुटिओ) का अनुसार सन् २०२१ को पहिलो त्रैमासदेखि सन् २०२२ को त्रैमाससम्ममा मलखादको मूल्य सय प्रतिशतभन्दा बढीले बढेको छ ।  

उसो त रुस एवं युक्रेनले विश्व व्यापारमा तीन प्रतिशतभन्दा कम र अफ्रिकासँगको व्यापारमा एक दशमलव सात प्रतिशत मात्रै योगदान गरेका छन्, तर यी दुवै मुलुक विश्व एवं अफ्रिकाका लागि गहुँ र मलखादका मुख्य स्रोत हुन् । उदाहरण यी दुई मुलुकले सन् २०२० मा २४ प्रतिशत गहुँको व्यापार गरेका छन् । र, डब्लुटिओका अनुसार सन् २०२२ मा युद्ध सुरु हुनुअगाडि अफ्रिका महादेशको गहुँ आयातमा रुस र युक्रेनको ३० प्रतिशत योगदान थियो ।   

बढ्दो भूराजनीतिक तनावले आपूर्ति–शृंखला अवरोध थप जटिल एवं दीर्घकालीन जोखिम बन्ने चिन्ता बढेको छ । तर, यसले अफ्रिकी राष्ट्रहरूलाई औद्योगिक नीति अपनाउन र दिगो आत्मनिर्भर खाद्य प्रणालीतर्फ जान प्रेरित गरेको छ । अफ्रिकी सरकारका नीति–निर्माताले सन् २०१८ मा स्थापना भएको अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार क्षेत्रबाट घरेलु खाद्य उत्पादन बढ्ने र बाह्य झट्काको जोखिम घट्ने अपेक्षा गरेका छन् ।

इजिप्टलाई उदाहरणका रूपमा लिन सकिन्छ । इजिप्टले सन् २०२१ मा रुस र युक्रेनबाट करिब ७७ प्रतिशत गहुँ आयात गरेको थियो । तर, युक्रेन युद्धपछि सरकारले स्थानीय गहुँ उत्पादनलाई कम्तीमा ७० प्रतिशत घरेलु माग धान्न सक्ने स्तरमा वृद्धि गर्न उच्च खरिद मूल्यजस्ता वित्तीय प्रोत्साहन प्रस्ताव गरेको छ । 

आपूर्ति–शृंखला अवरोधले अफ्रिकी राष्ट्रहरूलाई औद्योगिक नीति अपनाउन र दिगो आत्मनिर्भर खाद्य प्रणालीतर्फ जान प्रेरित गरेको छ 
 

मलखादमा पनि यस्तै नीति देख्न सकिन्छ । युक्रेन युद्धअघि घाना, आइभोरिकोस्ट र मौरिटेनियाले रुसबाट २० देखि ५० प्रतिशत मलखाद आयात गर्थे । यो पनि अपुग थियो । सन् २०१८ मा अफ्रिकामा औसत मलखाद खपत निराशाजनक २० किलो प्रतिहेक्टर थियो, जुन एक सय ३७ किलोको विश्वव्यापी औसतभन्दा निकै कम हो । युक्रेन युद्धका कारण अपुग आयात पनि नहुने अवस्थामा अफ्रिकी व्यवसायी र सरकार स्वदेशी उत्पादन बढाउन अघि सरेका छन् ।

डांगोटे औद्योगिक समूहले यस वर्षको सुरुमा लागोस र नाइजेरियामा विश्वकै दोस्रो ठूलो मलखाद उत्पादन गर्ने कारखाना स्थापना गरेको छ । यो नयाँ कारखानाबाट वार्षिक ३० लाख मेट्रिक टन सस्तो नाइट्रोजनमा आधारित युरिया उत्पादन हुने अनुमान गरिएको छ । यसबाहेक मोरक्कोको सरकारी स्वामित्वको ओसिपी समूहले अफ्रिकी सरकार र वित्तीय संस्थासँगको सहकार्यमा प्राकृतिक ग्यासलाई इन्धनका रूपमा प्रयोग गरेर दुई अर्ब ४० करोड डलरबराबरको मलखाद कारखाना स्थापना गर्ने योजना बनाएको छ । 

यी आयात प्रतिस्थापन रणनीतिको सफलताले अफ्रिकी क्षेत्रलाई ठूलो प्रभाव पार्नेछ । धेरै अफ्रिकी राष्ट्रसँग विस्तारित क्षेत्रीय (र विश्वव्यापी) माग पूरा गर्न आवश्यक मलखाद निर्माण गर्न कच्चा स्रोतको पर्याप्त आपूर्ति छ । उत्पादन क्षमता विस्तारले वस्तुमा आधारित औद्योगिकीकरण मोडेललाई प्रोत्साहन गर्नेछ, जसले अफ्रिकाको आर्थिक वृद्धिको स्रोतलाई विविधीकरण गर्न, वस्तु–मूल्य चक्रमा महादेशको अस्वस्थकर निर्भरता घटाउन र विश्वव्यापी  झट्काविरुद्धको सहनशील क्षमतालाई बलियो बनाउन मद्दत गर्नेछ ।

अफ्रिकाको अनुमानित जनसंख्या वृद्धिलाई हेर्दा कृषि र कृषिव्यापार विकास उद्योग बन्न सक्छ । यसले दशकौँदेखि उच्च बेरोजगारी रहेको अफ्रिकी क्षेत्रमा रोजगारी सिर्जना गर्न सक्छ । कृषि व्यवसायको वृद्धि र बढ्दो मलखाद उत्पादनले पनि उत्पादकत्व बढाउनेछ र उब्जनीपछिको क्षतिलाई कम गर्नेछ ।

खाद्य आत्मनिर्भरता हासिल गर्न अफ्रिकी किसानले आफ्नो उत्पादन वृद्धि र कृषि उत्पादकत्व वृद्धि गर्नुपर्छ । यी उपायले बृहत् आर्थिक स्थायित्वलाई प्रोत्साहन गर्नेछ । तर, अफ्रिकाले उच्च महत्वाकांक्षा बोक्नुपर्छ किनभने अफ्रिकी महादेश भूराजनीतिक रूपमा बलियो शक्ति मात्र नभई विश्वलाई नै खुवाउन मिल्ने गरी उब्जाउ क्षेत्र पनि हो । 

(फोफाक एक्सपोर्ट–इम्पोर्ट बैंकका प्रमुख अर्थशास्त्री हुन्) प्रोजेक्ट सिन्डिकेटबाट